site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
मृत्युलाई ह्याकुलाले मिच्ने ओली

अक्षर काका


काठमाडौंमा साउथ एसियन गेम (साग)को महोत्सव चलिरहेको छ । खेलाडीहरूले बुताले भ्याएसम्मको प्रदर्शन गरिरहेका छन् ।

७ देशका प्रतिस्पर्धी समेटिएको सागमा २६ खेलमा र ३ सय ८ स्पर्धा हुँदैछन् । खेलाडीहरूको काँधमा स्वर्ण, रजत र कास्य पदक मुस्कुराइरहेका छन् । विजयी र पराजित दुवै आँखामा आँसु टिल्पिलाएका छन् । 

KFC Island Ad
NIC Asia

२०७२ को विस्मयकारी भूकम्पबाट खण्डहर बनेको रङ्गशाला सागकै लागि रातारात पुननिर्माण सकियो । गुहाटी मेलाको तीन वर्षपछि हुन लागेको सागको भव्य उद्घाटको तयारी गरिरहँदा प्रधानमन्त्री केपी शर्मा ओली आफैं चाहिँ ओछ्यान परे । आफ्नै हातले सागको उद्घाटन गर्ने इच्छा पनि शय्या पर्‍यो ।

९ गते मध्यरातिबाटअचानक उनको पेट दुख्न थाल्यो । सुरुमा दुखाइ सामान्य थियो । पछि पारो ह्वात्तै बढ्यो । बिहान आठ बजेसम्म दबाएरै बसे । निजी चिकित्सक दिव्यासिंह शाह साढे आठ बजेतिर आइपुगिन् । मनमोहन कार्डियोथोरासिक तथा भास्कुल प्रत्यारोपण सेन्टर लैजाने चाँजोपाँजो मिलाइन् ।९ बजे अस्पताल पुर्‍याइयो । 

Royal Enfield Island Ad

अस्पताल पुर्‍याउँदा प्रधानमन्त्रीको अवस्था निकै टिठलाग्दो थियो । अनुहार सोहोरिएको थियो । आँखामुनि थैला झुण्डिएका थिए । रातभरिको दुखाइले कण्ठ बसिसकेको थियो ।ओठमुखसुकेका थिए ।

प्रधानमन्त्रीको कारुणिक हविगत देखेर सुरुमा त चिकित्सक नै अत्ताल्लिए । १२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलाको कार्यक्षमतामा ह्रास आएकाले नियमित डायलाइसिस विकल्प बनेको छ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा चार पटक डायलाइसिस गरिसकिएको थियो ।

एपेन्डिसाइटिसको तुरुन्तै शल्यक्रिया नगरिए पेटमा सङ्क्रमण फैलन सक्छ । अङ्ग प्रत्यारोपण गरिएका बिरामीमा त सङ्क्रमण फैलने जोखिम झन् दुई गुणा हुन्छ ।

तर बिरामीको अवस्था ‘पर्ख र हेर’को छ ।

चिकित्सकले तुरुन्तै सुझबुझपूर्ण निर्णय लिए । १० गते बिहान १० बजे शल्यक्रिया गरियो । मिर्गौला प्रत्यारोपण गरिएकाले चिकित्सकले ‘पेरिटोनाइटिस’को जोखिमको अनुमान गरेका थिए । चिकित्सकको अनुमान सत्य सावित भयो । त्यसको संक्रमण पेटमा फैलिइसकेको थियो । सङ्क्रमणले जोखिमको तह पनि पार गरिसकेको थियो ।

सामान्य एपेन्डिसाइटिस प्रताडित बिरामीको तुलनामा पेट निकै चिर्नुपर्‍यो । त्यसले प्रधानमन्त्रीलाई थप गलायो ।

शरीरमा एकपछि अर्को रोग थपिँदै गएकाले प्रधानमन्त्री चाँडै निको होलान्, स्वास्थ्य लाभ गरी यति छिट्टै बालुवाटार फर्किएलान् भनेर कसैले कल्पना गरेका थिएनन् । विशेषज्ञ चिकित्सकको समूहले पनि गरेको थिएन । चिकित्सकको आँखामा पनि प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार कल्पनातीत थियो ।

तर, प्रधानमन्त्री आफैं भने विश्वस्त थिए । दृढ आत्मजिगीषा र जिगमिषाका कारण उनले जुनसुकै रोगमा सहजै विजय हासिल गर्दै आएका छन् । अरूलाई लाग्दो हो– प्रधानमन्त्री पसरका पसर औषधिमा टिकेका छन् । चिकित्सा विज्ञान नै उनको प्राण रक्षाको माध्यम बनेको छ ।झण्डै १४ थरि औषधि प्रधानमन्त्रीको जीवनका रक्षाकवच बनेका छन् ।

अहिले त झन् सत्ता र शासकले पाउने सेवा–सुविधाले टिकाएको छ ।

तर, प्रधानमन्त्री ओलीले पटकपटक चिकित्सा विज्ञानलाई माथ खुवाएकाले चिकित्सक आफैं चित खाएका छन् ।

प्रधानमन्त्रीको जिजीविषाले औषधिलाई उछिनेको छ । साग स्पर्धाका अब्बल खेलाडी काँधमा स्वर्ण जडित तक्मा भिरेर मैदानबाट बाहिरिरहँदा मृत्यु जितेका यी दृष्ढ आत्मविश्वासी अनुहारमा स्वर्ण आभा बोकेर नियमित काममा फर्किएका छन् । उनको थाप्लामाथि मडारिएको मृत्युको बादल फाटेको छ ।

उनको शिरमाथि मृत्युको बादल मडारिएको पहिलोपटक कहाँ हो र !

२०७० माघ २१ गते एमाले स्थायी कमिटी सदस्य रहेका केपी शर्मा ओली पार्टी संसदीय दलमा निर्वाचित भए लगत्तै बिरामी परे ।

२०७० चैतको आधाआधीदेखि नै उनको स्वास्थ्यमा समस्या देखिन थाल्यो । मिर्गौलाको कार्यक्षमता घट्दो छँदै थियो । शरीरमा उच्च ज्वरो देखियो । ढाड–काँध दुख्न थाल्यो ।

भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको ७ वर्ष पूरा भइसकेको थियो । संसदीय दलमा पकड जमाइसकेकाले पार्टी अध्यक्षमा उनको सम्भावना बलियो हुँदै थियो । रोगले पो थला बसाल्ने भयो ।

महाधिवेशनको संघारमा पार्टी पुगेकाले उनको स्वास्थ्यका बारेमा अनेकन लख काट्न थालिए । त्यसले शनैःशनैः अफवाहको रूप लियो । तल पुग्दा भ्रमको तुँवालो बन्यो । वास्तविकता ओझेल पर्‍यो ।

केपी ओलीको स्वास्थ्य दिनानुदिन बिग्रँदै भन्ने सूचना पाएपछि उनको विचार समूहमा सन्नाटा छायो । वैकल्पिक नेतृत्वको खोजी पनि भयो । कतिले आफूलाई केपी ओलीको विकल्पका रूपमा पनि अघि सारे ।

२०७१ वैशाख १७ गते उपचारका लागि बैंककको बुमरुङगार्ड अस्पतालमा उपचार गराउन पुगेका ओली जेठ २० गते स्वदेश फर्किए । फङ्गल मेनेन्जाइटिसबाट त्राण त पाए तर पनि स्वास्थ्य सोचेअनुरूप अनुकूल थिएन । विमानस्थलमा उनको विचारसँग जोडिन खोज्नेहरू झण्डासहित लिन पुगेका थिए । तर, केपी ओलीक्षीण थिए । विमानस्थलमा स्वागत गर्न पुगेकालाई हात हल्लाउन पनि सकेनन् ।

जेठको अन्त्यतिर आइपुग्दा महाधिवेशनको चटारोले छपक्कै छोपिसकेको थियो । प्रतिस्पर्धी माधवकुमार नेपाल भेला, बैठकमा व्यस्त थिए । देशभरिबाट महाधिवेशन प्रतिनिधि छानिनेक्रम तीव्र थियो ।

क्षेत्रीय कमिटी, जनसङ्गठन, पेसागत र सम्पर्क–समन्वय कमिटीमा महाधिवेशन प्रतिनिधिका लागि चुनावै भएकाले कुन पक्षका कति निर्वाचित भए भन्ने प्रष्ट तथ्याङ्क सामुन्नेमा थियो । जित–हारको तस्बिर आँखा अगाडि नै देखेपछि त्यसले बेचैनी बढाउने नै भयो ।

आठौं महाधिवेशन आफ्ना लागि प्रतिकुल रहेकाले जित्नै पर्ने दबाबमा थिए ओली । एक मिनेट आराम पाएनन् । सेतो ब्यान्डेज बेरेको हात बोकेर उनी चुनाव प्रचार–प्रसारमा खटिए । प्रतिस्पर्धीलाई त्यही मसला बन्यो । चुनावी नारा बन्यो ।

बिस्तारै मेनेन्जाइटिसबाट तङ्ग्रँदै थिए । महाधिवेशनले उनलाई थला बसाल्यो । उठेर भाषण गर्ने तागत रहेन । चिकित्सकले भीडभाडमा नजान सुझाइ रहेका थिए । हात मिलाउँदा सङ्क्रमण हुने खतरा औंल्याइरहेका थिए । महाधिवेशन प्रतिनिधिका बीचमा नगए कसरी चुनाव जित्नू ! कार्यकर्तासँग आत्मीयता प्रकट नगरे कसरी मन जित्नू ! मन नजिते कसरी मत जित्नू !

चिकित्सकले महाधिवेशनको दौडधूप र प्रचार–प्रसारको संसर्गबाट टाढा राख्न लाख कोसिस नगरेका होइनन् । सब व्यर्थ भयो ।

दौडधूपको परिणाम राम्रै आयो । ओली पार्टी अध्यक्षमा निर्वाचित भए । स्वास्थ्य अवस्था खस्किएपछि उनको क्षमता मुखरित भयो । राजनीतिक उचाइ शिखरित भयो ।

पार्टी अध्यक्षमा निर्वाचित भइसक्दा पनि कार्यकर्तामा अन्योल कायमै थियो । महाधिवेशनको मैदानमा फिँजाइएको भ्रमले ओलीले पूर्णकाल अध्यक्ष चलाउन सक्छन् भन्ने आशंकाले छोपेकै थियो । ‘ओली अध्यक्ष कतिञ्जेल हो ? आज हो कि भोलि हो,’ भन्ने तुँवालो व्याप्त थियो ।

समय अघि बढ्दै जाँदा भ्रमहरू ओलीको निर्भीक आत्मविश्वास अगाडि टिक्न सकेनन् । पानीमा पैदा भएका फोकाजस्तै क्षणभङ्गुर बन्न थाले ।

ओलीको स्वास्थ्यका बारेमा बेलाबखत बुज्रुग समुदायबाट प्रकट हुने विद्वता, विज्ञता क्रमशः खण्डित–विखण्डित हुँदै अन्ततः खारेज भए । अनेकन अनुमान र अड्कलबाजीहरू पार्टी अध्यक्ष र दुई पटक प्रधानमन्त्री निर्वाचित भएपछि आफैँ धुलिसात भए ।

प्रधानमन्त्रीको स्वास्थ्यका बारेमा मिथक खडा छ । प्रधानमन्त्रीले देशमा शासन गरिरहेका छन् । तर यस्तो लाग्छ– होइन, भ्रम र मिथकहरूलेचाहिँ उनीमाथि शासन गरिरहेका छन् ।

देशको प्रधानमन्त्रीको स्वास्थ्यका बारेमा चिन्ता र चासो प्रकट हुनु स्वाभाविकै हो । तर,विषयको संवेदनशीलता र गाम्भीर्यको साँध–सीमा मिचेर ‘ब्रेकिङ’को होडबाजी भइरह्यो ।चाँडो पस्कने लिगलिगे दौडमा कतिले शेषपछिका लागि ‘अविच्युरी’ पनि तयारी हालतमा राखे ।

अस्पतालको शय्यामा रोगसँग मुकाबिला गरिरहँदा कयौंपल्ट आफ्नो मृत्युको स्रोता आफैं बन्नुपरेको छ । ती अफवाहको खण्डन गर्दै कयौंपटक आफू जिउँदो रहेको प्रमाण पेस गर्नुपरेको छ । जीवितै रहेको तथ्य पेस गर्नुपरेको छ ।

तर, पनि उनको आत्मविश्वास र जिजीविषामा रत्तिभर कमी आएको छैन । यही तत्त्वले उनलाई पुनः मृत्युको कब्जाबाट छुटाएर निवास फर्काएको छ ।
प्रधानमन्त्रीको जिजीविषाका बारेमा उनका सहयोद्धा राधाकृष्ण मैनालीको एउटा अनुभूति यहाँ उद्धृत गर्नु सान्दर्भिक हुन्छ ।

प्रधानमन्त्री ओली निःसन्देश ‘रोगी’ हुन् । तर उनलाई आज रोग लागेको होइन । २०३० असोज २३ गते पक्राउ परी ४ वर्ष जेलभित्रको जेल, गोलघर सहित १४ वर्ष ताडना सहेका ओलीलाई हतकडी खोल्नासाथ रोगले घेरा हालेको पनि होइन ।

उनलाई राज्य विप्लव तथा विध्वंसात्मक कार्यमा संलग्न मुद्दामा जेलमै बस्दा क्षयरोग र अल्सरले गाँज्यो । अहिलेजस्तो उपचार सहज थिएन । नाक, मुख मलद्वारबाट फाल्साका फाल्सा रगत बग्थ्यो । दुब्लाएर सिन्कीजस्तो भएका थिए । २००८ साल फागुन ११ मा जन्मिएका ओलीलाई ३२ वर्षको उमेरमा अल्सरले जीर्ण तुल्याएको थियो । तौल ३० किलोग्राम पनि थिएन । जेलमा गएर उपचार गर्ने भनेपछि चिकित्सक दिगमिगाउँथे । आँखै अगाडि आफूजस्ता बिरामीको प्राणपखेरु उडेको देखेका र कतिको मृत्युको साक्षी आफैं बस्दा पनि ओलीमा ‘मरिएला कि !’ भन्ने भाव जागृत भएन । आफ्नो दिसा–पिसाब अरूले सह्यार्नुपथ्र्यो । तर, उनी हमेसा देश बनाउने सपनाको मलजल गर्थे । सहकर्मी मोहनचन्द्र अधिकारी जेलको ताडना सहन नसकेर ‘अर्धविक्षिप्त’ भइसकेका थिए । तर, उनी क्षयरोग र अल्सरको जोरमुक्कासँग जुध्दै सपनाको दियोमा तेल थपिरहन्थे ।

‘वर्गशत्रु खतम’ अभियानका सर्जक मैनालीले एउटा भिडियो अन्तर्वार्तामा ती दिन सम्झँदै भन्छन्, “दिसा बस्न सक्दैनथे । मैले सुरुवाल लगाइदिनुपथ्र्यो । तर उनी (ओली) भन्थे– मलाई केही पनि हुँदैन । मरिँदैन । बाँचेर देश चलाउनुपर्छ बुझिस् !”

त्यही जिजीविषाले ओलीलाई अहिले देशको कार्यकारी प्रमुख बनाएको छ ।

मृत्युलाई ह्याकुलाले मिच्ने प्रधानमन्त्रीलाई स्वास्थ्य लाभको शुभकामना !
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २१, २०७६  ०७:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro