Skip Advt.

कतै बम, कतै बम्जन

तुलसी आचार्य

भर्खरै बम्जनले काठमाडौँमा दुई साता प्रवचनमा बिताए ।  त्यहाँ उनले शान्ति र अहिंसाको बाटोतिर लाग्न आह्वान गरे । देश रोगी हुँदैगएको अवस्थामा राजनीतिमा भएको खिचातानीको सन्दर्भमा उनको प्रवचनले केही महत्व राख्यो होला भन्ने अनुमान गर्न सकिन्छ । उनले आफ्ना अनुयायीलाई जीवनमा सही बाटोतिर लाग्न सत्य बोल्नुपर्ने भन्दै त्यसैले व्यक्तिलाई सफल मान्छे बनाउनेमा जोड दिए । हुनत, उनले त्यस्तो नयाँ कुरा केही गरेनन् ।

यी सबै त २ हजार ५०० वर्षअघि गौतम बुद्धले हामीलाई बताइसकेका थिए । त्यही नै बम्जनले दोहोर्‍याए । बम्जन आफैँले भन्ने गरेको उनी गौतम बुद्धभन्दा माथि रहेको भनाइको सत्यता बारेमा अहिले चर्चा नगरौँ । भोकभोकै जंगलमा धेरै दिन बिताएका बम्जनले  वास्तवमै धेरै अनुयायी बनाइसकेका रहेछन् भन्ने उनको  दर्शनमा आएका जनसमूहलाई हेरेर भन्न सकिन्थ्यो  ।

त्यहाँको भिड कुनै राजनीतिक सभाको जस्तै ठूलो देखिन्थ्यो । फरक यत्ति हो, उनले शान्तिको प्रवचन गरे, झुट नबोल्नु सत्यको बाटोमा जानु हो भने । कुनै पार्टीको नेता भए आफूले बोलेकै सही, आफ्ना एजेन्डा नै सही, आफ्नो दर्शन नै सही भनेर फलाकेर जान्थे होलान् ।
 
जे होस्,  देशमा जब लडाइँ पर्छ, आन्दोलन  हुन्छ, शान्तिका दूत भएर कोही न कोही प्रकट हुने गर्छन् ।  यसले दुई प्रकारले देशलाई सहयोग पुर्‍याउँछ - एउटा सबैलाई शान्तिको बाटोमा लाग्न र झुट नबोल्न अभिप्रेरित गर्छ भने अर्को निराश  व्यक्तिका मनमा आशा जगाउने काम गर्छ ।   यस दृष्टिमा बमजनको उपस्थितिमा केही न केही सार्थकता छ भन्न सकिएला ।

बम्जनका बारेमा बुझ्दै जाने क्रममा उनका अनुयायीबाट के पनि थाहा भयो भने उनले भनेको नमान्नेहरूलाई आन्तरिक कारबाही पनि गर्छन् रे बम्जनले । उनले आफ्नै दिदीलाई गरेको कारबाहीले उनकी दिदी छटपटिएर मरिन् रे !  तर यसले उब्जाउने प्रश्न  पनि दुईवटा नै छन् -  के बम्जनमा साँच्चिकै ईश्वरीय शक्ति छ त ? उनी गौतम बुद्धभन्दा पनि माथि छन् त ?  के उनलाई रिस उठ्यो भने कानुनभन्दा पनि बाहिर गएर मान्छेलाई आन्तरिक कारबाही गर्न सक्छन् ?

गौतम बुद्धका अनुयायी संसारभर छन् । उनी गौतम बुद्धभन्दा पनि माथि छन् भने उनले देशका सबै पार्टीलाई एकै ठाउँमा ल्याएर अनेकतामा एकता बनाइदिउन् र देशको विकास तीव्र गतिमा हुने बनाइदिउन् । सबैले उनलाई मान्छौँ । आफ्नो ईश्वरीय शक्ति बम्जनले त्यसरी प्रयोग गर्न सक्छन् त ? तर, उनले रिस उठ्दा आन्तरिक कारबाहीमात्र गर्न थाले भने त्यसले ल्याउने दूरगामी सामाजिक र राजनीतिक असर के हुनसक्छ ?

राज्यको कानुनभन्दा विपरीत गए भने त्यसको असर के हुन्छ? बम्जनले गर्ने आन्तरिक कारबाही माओवादीले कथित 'जनयुद्ध' ताका गरेको भाटे कारबाही वा 'जनअदालत'को काबाही जस्तै भएनन? त्यस्तै हो भने बम्जन माओवादीभन्दा के फरक भए? गौतम बुद्धले त उनलाई धम्क्याउने, उनीसँग रिसाउने मान्छेलाई समेत  शरण दिन्थे ।  कसैले बम्जनलाई धम्क्यायो भने उनले के गर्लान् ?

माओवादीले उनीहरूलाई धम्क्याउने कसैलाई पनि शरण दिएनन् । 'जनयुद्ध' कालमा असंख्य बम पड्काएर हजारौँ नेपालीको ज्यान लिए । नेपाली मारिए, गोली हानिए, रुखमा झुन्ड्याइए । कतिपय बन्दुक बोक्न बाध्य बनाइए । हुनत,  उनीहरूका शब्दमा त्यो राष्ट्रको सम्मुनत विकासका लागि थियो । गरिब, पिछडिएका, महिला र जनजातिको स्वतन्त्रता र मुक्तिको लागि थियो  ।

बन्दुकको नालबाट देशमा परिवर्तन, शान्ति र अमनचैन ल्याउनका लागि थियो । यो एकआपसमा नमिल्ने व्यवहार देखिन्छ तर उनीहरूलाई देशको सामाजिक, आर्थिक र राजनीतिक परिवर्तन त्यसरी नै गर्न सकिन्छ भन्ने लाग्यो होला । त्यतिबेला गल्ती दुवै पक्षबाट  भएका थिए । त्यसमा सुरक्षाकर्मीको बर्बरता पनि त्यत्ति नै दोषी छ । अन्ततः बाह्र बुँदे  सम्झौतापछl 'जनयुद्ध'  रोकियो, राजतन्त्रको अन्त्य भयो र नेपालमा गणतन्त्र स्थापना भयो । 
माओवादी हिंसात्मक विद्रोह कालमा भएको जनधनको अपूरणीय क्षतिलाई कुनै पनि उपलब्धिले पूरा गर्न सक्दैन । 
देशमा गणतन्त्र आयो । संविधान लेखियो । तर, हामी सबै जुटेर अगाडी बढ्न सकेको भए यसको महत्व बढी हुन्थ्यो ।  त्यस उपलब्धिले प्रायः धेरैको समस्यालाई समाधान गरेर लान सकेको भए त्यो सार्थक हुन्थ्यो ।  

देशमा माओवादी हिंसापछि गणतन्त्र आइसकेपछि झन् ठूलो वितण्डा मच्चियो - कैलालीको घटनामा जिउँदै जलाइएका प्रहरी जवानको कथादेखि, मधेसमा मरेका वा मारिएका पचासौँ आन्दोलनकारी देखि भर्खरै नेकपा (एमाले)को मेची महाकाली अभियानका क्रममा भएको सप्तरीको दुःखद घटना ।  यस्ता घटना  भइरहँदा पनि सत्ता पक्ष र विपक्षबीच समझदारी हुन सकिरहेको छैन ।  

कहिले एउटा त कहिले अर्को विषय निकालेर फरकफरक पार्टी फरकफरक विचार निकालेर फरकफरक दिशातिर फर्किरहेका छन् ।  मिलन बिन्दु असम्भबजस्तो देखिन्छ । सर्वसाधारणले आशा गर्ने ठाउँ कतै देखिँदैन । यस्तो निराशामा रुमल्लिएको देशलाई निकास कसले दिने ? यो गम्भीर प्रश्न हाम्रा सामु उभिएको छ । 

यस्तो देशले निकास  न  विगत कोट्याएर माओवादीलाई हत्यारा भन्दै हिँड्दा पाउँछ न नराम्रा मान्छेलाई देशको कानुनविपरीत कथित जनअदालत खडा गरेर आन्तरिक कारबाही गर्दै हिँडेर पाउँछ ।  न मधेसी मोर्चाले आफ्नैमात्रै अधिकार भन्दै जनताको नाममा राजनीति गरेर हुन्छ न केपी ओलीले भाषणैपिच्छे धज्जी उडाएर नै हुन्छ ।  न कांग्रेसले छलेर हुन्छ न सबले आफ्नाआफ्ना अधिकार खोजेर हुन्छ । न पार्टी  टुक्य्राएर हुन्छ, न अर्को नयाँ पार्टी खोलेर हुन्छ, न बम्जनको प्रवचन सुनेरै हुन्छ । 

सबै जना एउटै टेबलमा आएर आआफ्नो राजनीतिक अहंकारलाई त्यागेर अघि बढ्न सकेमात्र देशले निकास पाउँछ । राजतन्त्र हटाउन सबै  जुट्यौँ । विचार र सिद्धान्तले हामीलाई एउटै सूत्रमा बाँध्यो जसले गर्दा ठूलो सफलता हासिल भयो ।  हामी सबैले त्यतातिर फर्केर सोच्नु पर्नेहुन्छ । आफूले मात्र जस लिन खोजेर देशमा कहिल्यै शान्ति आउँदैन ।

जनताबाट जस खोज्ने हो भने निर्णयहरू बृहत्तर स्वार्थ हेरेर गरिनुपर्छ । कुनै एउटा पेसा जाति, धर्म, वर्ण , लिंगको हितमा राजनीति गर्न थालियो भने देश कहिल्यै उँभो लाग्दैन ।  यस्तै व्यवहारले सीके राउत जन्मिन्छ । नयाँ पार्टीहरू जन्मिन्छन् । धेरै पार्टी खोलिँदा  प्रजातान्त्रिक देखिए पनि  त्यसले एउटा भिडतन्त्र खडा गर्नेमात्रै हो ।

सबैका आआफ्ना दायरा छन् र भुल्नु हुँदैन । ती दायराभन्दा बाहिर जानेबित्तिकै विपत्ति आइलाग्छ । 
हामी  कति धेरै नकारात्मक भइसकेको छौँ भने आफूलाई मन नपरेको चिज, पार्टी या वस्तुलाई आँखा चिम्लेर गाली गर्न हिचकिचाउँदैनौ  । नेतामा त एकले अर्कालाई  सम्मान गर्ने संस्कारको विकास  हुनुपर्थ्यो । त्यस्तै संस्कार जनतामा पनि हुनुपर्थ्यो । विषयवस्तुलाई तोडमोड गरेर उटपट्यांङ ठट्टा गर्दैमा देशले फड्को त मार्दैन । 

प्रकृतिको नियमे समयले जन्माउछ, जन्माइरहन्छ कतै बम त कतै बम्जनहरू । तर, हामी सबैले आआफ्नु दायारामा रहेर अघि बढ्नु नै  व्यक्ति, समाज र राष्ट्रको बृहत्तर  हितमा हुन्छ । यो यथार्थ, जनता, नेता र बम्जनहरूले बुझ्नुपर्‍यो । नभए देश कतै बम त कतै बम्जनहरूमा अल्झिरहनेछ ।
बोस्टन, अमेरिका
 

प्रतिकृया दिनुहोस
ad