site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
५७११ नम्बरको गाडीमा रोशनीको कोठामा पुगेका थिए महरा, १२ गते काठमाडौंमै थिए रोशनीका श्रीमान् !
Sarbottam CementSarbottam Cement

काठमाडौं । यौन दुर्व्यवहारको आरोप लागेपछि सभामुखको पदबाट राजीनामा दिएका कृष्णबहादुर महरा अघिल्लो साता बालुवाटार निवासबाटै पक्राउ परे । महरालाई असोज २८ गते काठमाडौं जिल्ला अदालतमा म्याद थपका लागि उपस्थित गराउने प्रहरी तयारी छ ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई नर्भिक अस्पताल थापाथलीमा भर्ना गरिएको छ । 

संसद् सचिवालयमै कार्यरत रोशनी शाहीलाई उनकै कोठामा गएर महराले दुर्व्यवहार गरेको घटना झनपछि झन् रहस्यमय बन्दै गएको छ । पीडित रोशनीले सञ्चारमाध्यम, सामाजिक सञ्जालदेखि प्रहरीलाई नै दिएको बयान पटक पटक फेरेकी छन् । महरा असोज १२ गते आइतबार रोशनीको कोठामा पुगेका थिए । यद्यपी महराले आफू रोशनीको कोठामै नगएको दाबी गर्दै आएका थिए । 

महराले संसद् सचिवालयमै कार्यरत महिलालाई यौन दुर्व्यवहार गरेको अनलाइन पोर्टल हाम्राकुरा डटकमले सार्वजनिक गरेको थियो । बाह्रखरीले असोज १२ गतेको दिन र त्यसयता भएका घटनाक्रमको केही तथ्य फेला पारेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

छोराको गाडीमा पुगेका थिए महरा 

असोज १२ गते अपरान्ह चार बजेको समयमा महराले रोशनीलाई फोन गरेको प्रारम्भिक अनुसन्धानबाट फेला परेको प्रहरी स्रोतले जानकारी दिएको छ । प्रहरी उच्च स्रोतका अनुसार महरा आफ्ना छोराले प्रयोग गर्ने बा २० च ५७११ नम्बरको सिल्भर कलरको स्कारपियो गाडी चढेर निस्किएका थिए । 

Global Ime bank

महरासँगै गाडीमा उनका अंगरक्षक एकजना नेपाली सेना, नेपाली सेनाकै एकजना चालक र एकजना प्रहरी थिए । महरा सवार गाडी तीनकुनेमा रहेको महिलाको कोठामा साँझ ६ बजेर ७ मिनेटमा पुग्यो । उच्च स्रोतले बाह्रखरीसँगको कुराकानीमा भन्यो,‘‘कोठाको बाहिरपट्टि गाडी रोकिएपछि महराले आफ्ना सुरक्षागार्डलाई म आधाघण्टामा आउँछु तिमीहरु यहिँ बस भनेको पाइएको छ । त्यसपछि महरा ७ बजेर ४० मिनेटमा रोशनीको कोठाबाट निस्किएको देखिन्छ ।’’ 

त्यसपछि महराको गाडी सभामुख निवास वालुवाटारतर्फ लागेको सीसीटीभी फुटेजमा देखिन्छ । 

प्रहरी ‘कन्ट्रोल’मा रोशनीको फोन

महरा कोठाबाट निस्किएपछि पीडित महिला रोशनीले प्रहरीको कन्ट्रोल १०० नम्बरमा राति ९ बजे फोन गर्दै आफू बलात्कृत भएको खबर गरिन् । ती महिलाले गरेको ‘कल रेकर्ड’ प्रहरीले सुरक्षित राखेको छ । प्रहरी कन्ट्रोलमा आएका सबै कलहरु अटो रेकर्ड हुने व्यवस्था छ । बलात्कारको खबर आएपछि परिसर काठमाडौंले तीनकुने क्षेत्र भएकाले वृत नयाँ वानेश्वरमा खबर गर्‍यो । 

खबरलगत्तै नयाँ वानेश्वर प्रहरी वृतका डीएसपी दुर्गा रेग्मी आफैँ घटनास्थल पुगे । त्यसक्रममा प्रहरीले पीडित महिलाको सबै कोठाको भिडियो रेकर्ड, त्यहाँ भएका सामाग्री बरामद गरेको थियो ।

उच्च प्रहरी स्रोत भन्छ,‘‘उनी एक्लै कोठामा थिइन् । उनले आफू बलात्कारमा परेको भएको बताएपछि हामीले मेडिकल जान आग्रह गर्‍यौँ । तर घरमा श्रीमान् नभएको भन्दै उनी जान मानिनन् । त्यसपछि भोलि प्रहरीमा आउनुहोला भन्दै टोली फर्कियो ।’’ 

ती महिलाले पीडक सभामुख कृष्णबहादुर महरा हो भनेपछि प्रहरी वृतमा खैलाबैला नै मच्चियो ।  प्रहरी नेतृत्वसम्म यो कुरा पुगेपछि घटनाको निश्पक्ष छानबिन गर्न निर्देशन दिइएको थियो । सोमबारसम्म यो कुरा प्रधानमन्त्रीलगायत नेकपाका अध्यक्षद्वयलाई जानकारी भइसकेको थियो । रोशनीका श्रीमान् आइतबार तनहुँ भएको बताइएको थियो । 

तर सोमबार प्रहरी कार्यालयमा आइनन् रोशनी 

प्रहरीले सोमबार पीडित महिलाले प्रहरी कार्यालयमा आएर जाहेरी दिने अनुमान गरेको थियो । तर सोमबार कार्यालयमा पुगिनन् । बरु साँझ सञ्चारमाध्यममा उनी समाचार बनेर एकाएक छाइन् । सुरुमा उनको नाम सञ्चारमाध्यममा आएन ।  सोमबार साँझनै उनको भिडियो बयान पनि सार्वजनिक भयो । जहाँ उनी बोल्दाबोल्दै कृष्णबहादुर महराले कल गरिरहेका थिए । सोमबार साँझ समाचारमा महरा प्रकरण एकाएक चर्चामा आयो । तर उनले प्रहरीमा उजुरी दिइनन् । 

तर अर्कोदिन प्रहरी महिलाको कोठामा पुग्दा उनी त्यहाँ थिइनन् । प्रहरीको टोलीले उनको खोजी सुरु गर्‍यो । अनुसन्धानका क्रममा मंगलबार ती महिलाको मोबाइल लोकेसन काठमाडौंको सामाखुसी क्षेत्रमा देखाएको प्रहरी स्रोतले जानकारी दियो ।

बलात्कारको आरोप महिलाबाटै खण्डन
असोज १२ गतेबाट १५ गतेसम्म आउँदा घटनाले नयाँ मोड लियो । १५ गते महराले आफूलाई बलात्कार गरेको आरोप लगाउँदै आएकी रोशनीले श्रीमान् र आफ्नो संयुक्त हस्ताक्षरित निवदेन वृत नयाँ वानेश्वरमा दिँदै महरा आफ्नो कोठामै नआएको दाबी गरिन् । उनले आफू मानसिक समस्याबाट ग्रुजिरहेको प्रहरीमा दिएको निवेदनमा उल्लेख गरेकी छन् । 
तर पीडित महिलालाई कतैबाट दबाब दिएर उजुरी दिनबाट रोक्न खोजिएको आशंका जनस्तर र सामाजिक सञ्जालमा व्याप्त थियो । मंगलबार साँझ नै पीडित महिलाले एक अनलाइनमा भिडियो अन्तर्वार्ता दिँदै महरामाथि लागेको आरोपको खण्डन समेत गरेकी थिइन् । 

फेरि जबरजस्ती करणीमा महराविरुद्ध उजुरी

रोशनीले प्रहरीमा महरा निर्दोष भएको दाबी गरेपछि यो प्रकरण सेलाउने अनुमान गरिएको थियो । तर प्रहरीले आफ्नो पाटोबाट गर्ने अनुसन्धान जारी राखेको थियो । असोज १७ गते फेरि महिलाले महराले आफूमाथि जबरजस्ती करणीको प्रयास गरेको भन्दै वृत नयाँ बानेश्वरमा उजुरी दिइन् । उनकै उजुरीका आधारमा महरा आइतबार सभामुखको सरकारी निवास बालुवाटारबाटै पक्राउ परे ।

उजुरी दिनका लागि महिला आफ्ना श्रीमानसँगै प्रहरी कार्यालयमा पुगेकी थिइन् । त्यसबीचमा उनीहरु दुवैले छुट्टिएर बस्ने निर्णय गरेको भन्दै सम्बन्ध विच्छेदको प्रक्रिया सुरु गरेको बताएका थिए ।

महिलाको अर्को दाबी–महरा सर निर्दोष

२४ असोज शुक्रबार ती महिलाको नामबाट अर्को विज्ञप्ति जारी भयो । जहाँ महरा निर्दोष भएको दाबी गरिएको छ । यहाँसम्मकी उनले प्रहरीले बन्धक बनाएर मानसिक दबाब दिएपछि मुद्दा दर्ता गरेको दाबी गरेकी छन् । पत्रमा उनको हस्ताक्षर भने छैन । त्यसैले यो उनको आफ्नै पत्र हो वा होइन त्यसै भन्न सकिने अवस्था नभएको प्रहरी स्रोत बताउँछ ।

१२ असोजमा काठमाडौंमै थिए रोशनीका श्रीमान् !

१२ असोजमा पीडित महिलाका श्रीमान् चित्रजंग शाही काठमाडौं बाहिर भएको बताइएको थियो । त्यसक्रममा प्रहरीले टेलिफोन गर्दासमेत उनले आफू पाल्पा भएको बताएको उच्च स्रोतले बाह्रखरीसँग बतायो ।  तर ‘कल लोकसेन’ मा उनी काठमाडौंमै भएको देखिएको छ । उच्च स्रोतले भन्यो,‘‘उनको मोबाइल घटनापछि काठमाडौंमै एक्टिभ देखिएको छ । यसबाट उनले ढाँटेकोजस्तो देखिन्छ । त्यो तथ्य पनि हामी केलाउँदैछौं ।’’

सुरक्षागार्डको बयान–महरा सर महिलाको कोठामा गएकै हुन्

प्रहरीले अनुसन्धानका क्रममा महरासँगै गएका तीनजना सुरक्षाकर्मीसँग पनि बयान लिएको छ । १२ असोजमा उनीहरुको ‘लोकेसन’ रोशनीकै कोठाबाहिर रहेको पाइएको छ । तीनजनालाई नै बोलाएर प्रहरीले उनीहरुको साविती बयान गरेको छ ।  बयानका क्रममा उनीहरुले भनेका छन्,‘‘निजी नम्बरको स्कारर्पियोमा हामी महरासरसँग गएका हौं । तीनकुने पुगेपछि गाडी रोकेर म आधा घण्टामा आउछु भनेर उहाँ जानुभएको हो । त्यसबीचमा के–के भयो त्यो त जानकारी भएन तर हामी महरासरसँग ती महिलाको कोठासम्म गएको सत्य हो ।’’ 

यस्तोमा महरा घटनास्थलमा भएको पुष्टि हुने आधार प्रहरीले सुरक्षागार्डलाई नै मानेको छ । उनीहरु सुरक्षा निकायकै व्यक्ति भएकाले बयान फेरिने सम्भावना निकै न्युन रहेको प्रहरी स्रोत बताउँछ । १२ असोजमा महरा ती महिलाको कोठामा गएको रुट सबैजसो सीसीटीभी फुटेजमा देख्न भने सकिन्छ । सुरक्षागार्डको कल डिटेल लोकेसन पनि घटनास्थल वरपर देखिन्छ । 

एक उच्च अधिकारी भन्छन्, ‘‘महराले मोबाइल स्वीच अफ वा फ्लाइट मोडमा राखेको हुनुपर्छ । यस्तो अवस्थामा लोकेसन भेटिँदैन । तर उहाँको चश्मा, जुत्ताको सोल घटनास्थलमा भेटिएको छ । जसबाट महरा त्यहाँ भएको पुष्टि हुन्छ ।’’

डीएनए परीक्षणको तयारी 

महराविरुद्धको उजुरी प्रहरीमा आइसकेको छ ।  प्रहरी अधिकारी भन्छन्, ‘‘बाहिर सञ्चारमाध्यममा के आए हाम्रो चासोको विषय होइन । प्रहरीमा आधिकारीक उजुरी छ । बाहिर बोली फेरिँदै आउनुको पछाडि दबाब र प्रभावले काम गरेको हुन सक्छ ।’’ प्रहरीका अनुसार महराको २८ असोजमा म्याद थप हुनेछ । 
त्यसपछि बयान हुनेछ । त्यसक्रममा प्रहरीले घटनास्थलमा बरामद भएका महराको भनिएको चश्मा, जुत्ताको सोललगायतको परीक्षण गर्नेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २७, २०७६  ०९:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement