काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यसम्पादन सम्झौतामा उल्लेख गरिएका जिम्मेवारी जतिसक्दो छिटो कार्यान्वयनमा लैजान सबै मन्त्रालयलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले चालू आर्थिक वर्षको प्रारम्भिक दुई महिनामा मन्त्रालयहरुले गरेको कामको समीक्षात्मक बैठकमा आफूसँग गरिएको कार्यसम्पादन सम्झौता जतिसक्दो छिटो कार्यान्वयनमा लैजान सबै मन्त्री र सचिवहरुलाई निर्देशन दिएका हुन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बिहीबार बसेको सो बैठकमा प्रधानमन्त्री ओलीले बजेट कार्यान्वयनको काममा तीव्रता दिन पनि आफूहरुलाई सचेत गराएको कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले जानकारी दिए । एक महिनाअघि प्रधानमन्त्री ओलीले सबै मन्त्रीहरुसँग र मन्त्रीहरुले आ–आफनो मन्त्रालयका सचिवसँग एक वर्षे कार्यसम्पादन सम्झौता गरेका थिए । त्यसैमा केन्द्रित भएर सबै मन्त्रालयको चालू आर्थिक वर्षको दुई महिनाको कार्य प्रगति समीक्षा गरिएको हो ।
बैठकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको तर्फबाट सबै मन्त्रालयको कार्य प्रगति विवरण पेश गरिएको थियो भने त्यसमा सबै मन्त्रालयका मन्त्री र सचिवहरुले आ–आफ्ना मन्त्रालयको कामको प्रगति र काम गर्न देखिएको नीतिगत समस्याका बारेमा प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए । यता, प्रधानमन्त्री ओलीले बजेट कार्यान्वयनमा तीव्रता दिन मन्त्रीहरुलाई सचेत गराएका थिए ।