site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बाल दिवसको शुभकाना दिँदै प्रधानमन्त्रीले भने–बालबालिकामाथिको हिंसा क्षम्य हुँदैन
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकामाथि हुने हिंसा क्षम्य नहुने जनाएका छन । आज बाल दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले दिएको सन्देशको पूर्ण पाठ यस्तो छः
प्यारा बालबालिका एवं अभिभावकहरू

आज भदौ २९ गते राष्ट्रिय बाल दिवस, यस अवसरमा म देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपाली बालबालिका एवं अभिभावकहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । 
नेपालले संयुक्त राष्ट्रसंघको बाल अधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेको थियो । त्यस यता हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रुपमा मनाइँदै आएको छ । 
यस बर्षको राष्ट्रिय बाल दिवस “सुनिश्चित बाल अधिकारः समृद्ध नेपालको आधार” भन्ने मूल नाराका साथ मनाइंदै छ ।
बालबालिकाको हक, हित र बाल अधिकारको संरक्षण तथा सम्वद्र्धनका लागि संयुक्त राष्ट्र संघीय बाल अधिकारसम्बन्धी महासन्धिका प्रावधान, हाम्रा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतिवद्धता  र नेपालको संविधान र कानुनले प्रत्याभूत गरेका बालबालिकाको हक हितको कार्यान्वयन नेपाल सरकारको सर्वोच्च प्राथमिकताका विषय हुन् । 
हाम्रो संविधानले बालबालिकाको हकलाई मौलिक हकको रुपमा आत्मसात गरेको छ । संविधानको धारा ३९ ले प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन पोषण, उचित स्याहारसहित सर्वाङ्गीण विकासको हक सुनिश्चित गरेको छ । 
तर बालबालिकाहरू आफैँ आफ्ना अधिकारहरूको प्रयोग गर्न सक्दैनन् । त्यसका निम्ति परिवार, समाज र राज्यबाट पोषण, स्वास्थ र शिक्षाको उपयुक्त अवसर पाउनु उनीहरूको अधिकार हो । 
हामीले सन् २०३० भित्र दीगो विकास लक्ष्य हासिल गर्ने प्रतिवद्धता व्यक्त गरेका छौँ । यस अन्तर्गत बाल अधिकार र शिक्षाको विषयलाई महत्वपूर्ण अंगका रूपमा आत्मसात गरेका छौं । दीगो विकास लक्ष्यले निर्धारण गरेका बालअधिकार, शिक्षा, स्वास्थ्य, पोषण जस्ता विषयसँग सम्बन्धित मानकहरूमा नेपालले उल्लेखनीय प्रगति हासिल गर्नु सुखद पक्ष हो । 
निरक्षरता विरुद्ध अभियान चलाउने क्रममा सरकारले बालअधिकारको पहिलो पाइलाको रुपमा आधारभूत तहको शिक्षा निःशुल्क गरेको छ । पढ्ने अवसरबाट कुनै पनि बालबालिका बञ्चित हुन नपरोस् भन्ने कुरामा हामी सचेत छौँ । यो सरकार गठन भएपछि विद्यालयमा विद्यार्थी भर्ना कार्यक्रमलाई अभियानको रुपमा अघि बढाइएको छ ।
सरकारले विपन्न परिवारका केही बालबालिकाको शैक्षिक अभिभावकत्व समेत ग्रहण गरी आगामी दुई वर्षभित्र विद्यालय जाने उमेर समूहका सबै बालबालिकालाई विद्यालय भर्ना गर्ने लक्ष्य निश्चित गरेको छ । प्राथमिक तहमा भर्ना भएका जुनसुकै विद्यार्थीले पनि माध्यमिक तहको शिक्षा पूरा गर्ने सुनिश्चितताको लागि लक्षित वर्ग केन्द्रित छात्रवृत्ति, दिवा खाजा र विद्यार्थीमैत्री पाठ्यक्रमको व्यवस्था गर्ने नीति लागू गरिएको छ । 
यसै आर्थिक बर्षबाट “प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तार, समृद्ध नेपाल निर्माणको आधार” कार्यक्रम सञ्चालन गरिएको छ । असल‚ सिर्जनशील र विश्लेषणात्मक सीपयुक्त जनशक्ति विकास गर्न विज्ञान, प्रविधि र अनुसन्धानमा लगानी वृद्धि गर्ने र प्राविधिक शिक्षामा नेपालको मौलिक कला, संस्कृति र ज्ञानको संरक्षण तथा प्रवद्र्धन गर्ने विषयहरू समावेश गरी सीपयुक्त जनशक्ति विकास गर्ने नीति लिइएको छ । 
संविधानतः प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक छ । यो सरकार बालबालिकाको स्वास्थ्य र शारीरिक विकासप्रति संवेदनशील भएकोले नै “सुनौलो एक हजार दिन” कार्यक्रम सञ्चालन गरेको छ । समग्र परिवारलाई समेट्ने गरी राष्ट्रिय रुपमा स्वास्थ्य विमा कार्यक्रम शुरु गरिएको छ । संयुक्त राष्ट्रसंघीय पोषण सम्बन्धी विश्व भेला यसै बर्षको नोभेम्बर महिनामा काठमाडौंमा आयोजना गरिंदै छ । 
बालिका तथा किशोरीहरुको स्वास्थ्यलाई ध्यानमा राखी यसै बर्षबाट सरकारले देशभरका सबै सामुदायिक विद्यालयहरूमा अध्ययनरत छात्राहरूलाई सेनेटरी प्याड निःशुल्क उपलब्ध गराउँदैछ । 
हाम्रो नीति नै छ– स्वस्थ नागरिक, स्वस्थ समाज, स्वस्थ जीवन र त्यसका लागि स्वस्थ उत्पादन र स्वस्थ उपभोग । 
कुरीति, कुसंस्कार र हिंसाको मारमा मूलतः बालिकाहरु छन् । बालविवाह, छुवाछूत र छाउपडीजस्ता कुरीति र कुप्रथा अन्त्य गरी बालिकाहरुलाई त्यसबाट जोगाउन सचेतनामूलक सामाजिक जागरण कार्यक्रम सञ्चालन गरिएको छ ।
दिदीबहिनी तथा दाजुभाइहरु,
समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने हाम्रो लक्ष्य वार्षिक कार्यक्रम, अल्पअवधिको विषय वा कार्ययोजना मात्र होइन । यो दीर्घकालीन राष्ट्रिय अभिष्ट हो र यसलाई हासिल गर्न योग्य, सक्षम, सुशिक्षित, गुणवान नागरिक चाहिन्छ । यसका लागि आजैदेखि हाम्रा बालबालिकालाई पोषणयुक्त खाना, उचित व्यायाम, स्वस्थ मनोरञ्जन, आवश्यक आरामको अवसर, जीवनपयोगी शिक्षा र सामाजिक सुसंस्कार प्रदान गर्नु हामी सबैको दायित्व हो । 
बाल अधिकारसम्बन्धी नवीन, प्रगतिशील र विश्वव्यापी अवधारणा अनि हाम्रै सभ्यता र परम्पराअनुरुप नेपाली बालबालिकाको समग्र विकास हाम्रो देशको समृद्धिको समेत आधार हो । उनीहरूको सर्वोत्तम हित स्थापना गर्न सरकारलाई प्रत्येक अभिभावक, शिक्षक र देशभक्त नागरिकको साथ चाहिन्छ ।
हामीले गएको वर्ष बालबालिकासम्बन्धी ऐन, २०७५ जारी ग¥यौं ।  यसलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न तत्काल नियमावली तर्जुमा गरिंदै छ । 
शारीरिक वा मानसिक रूपमा अशक्तता वा अपाङ्गता भएका बालबालिकाहरूले अपहेलित हुन र सुरक्षा तथा क्षमता विकासको अवसरबाट वञ्चित हुन नपरोस् भनेर परिवार, समाज र राज्य सचेत हुनु पर्दछ ।
कुनै पनि बालबालिकाले सडकमा जीवन गुजार्नु नपरोस् भन्ने उद्देश्यले सडक बालबालिकाको व्यवस्थापन, बालश्रम निमूर्लन र जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकाको जीवनमा परिवर्तन गर्न सरकारले विशेष पहल गर्ने छ । 
अनाथ बालबालिकाको अभिभावकत्व राज्यले नै लिन्छ । बालबालिकाका विरुद्धमा भइरहेका वा हुन सक्ने सबै प्रकारका हिंसा, शोषण एवम् दुव्र्यवहार कुनै पनि हालतमा सह्य तथा क्षम्य हुने छैन । 
बालबालिकामैत्री समाज निर्माण गर्ने कार्य हामी सबैको सामुहिक प्रयासबाट मात्रै सम्भव हुन्छ । 
संघ, प्रदेश र स्थानीय तहका साथै बालअधिकारका लागि क्रियाशील संघसंस्थाहरु बीचको समन्वयात्मक प्रयासबाट बाल अधिकार र बालसंरक्षणको अभियानले सार्थकता प्राप्त गर्दछ । 
बाल संरक्षण र अधिकारको विषयमा योगदान पु¥याउने संघ, प्रदेश र स्थानीय तह लगायत यस क्षेत्रमा क्रियाशील विकास साझेदार, नागरिक समाज, निजी क्षेत्र र अन्य सबै सरोकारवालाहरुप्रति राष्ट्रिय बाल दिवसको अवसरमा म धन्यवाद प्रकट गर्दछु । आउँदा दिनहरुमा बालअधिकारको क्षेत्रमा अझ बढी सफलता हासिल गर्न आ–आफ्नो क्षेत्रबाट क्रियाशील हुन सबै पक्षहरुलाई हार्दिक आह्वान गर्दछु । धन्यवाद ।  

 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २९, २०७६  ०७:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro