काठमाडौं । सिंगापुरमा स्वास्थ्य उपचार गराएर प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किएका छन् । ओली दुई सातापछि स्वदेश फर्किएका हुन् ।
आज मध्यान्ह त्रिभुवन विमानस्थलमा पत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालसहित ओर्लिएका ओली रातो कार्पेटमा हात हल्लाउँदै बाहिर निस्किए । सञ्चारकर्मी तथा शुभचिन्तकहरुलाई हात हल्लाएर अभिवादन गरेका प्रधानमन्त्रीले कुनै प्रतिक्रिया भने दिएनन् ।
प्रधानमन्त्रीलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोख्रेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङले विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गरेका थिए ।
सिंगापुर बसाइका क्रममा ओलीले दुईपटक टेलिप्रिजेन्स प्रविधिमार्फत् मन्त्रीहरुसँग छलफल गरेका थिए । प्रधानमन्त्री ओली भदौ ५ गते उपचारका लागि सिंगापुर गएका थिए ।
तस्बिरहरूः सरिता खड्का