site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
किताब लेख्न १५ जिल्ला घुमें
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
पत्रकारिता, साहित्य र अनुसन्धानमा सक्रिय जनकराज सापकोटाको दोस्रो पुस्तक ‘कहर’ आज (साउन १५) सार्वजनिक हुँदैछ । ‘कहरः वैदेशिक रोजगारीले विथोलिँदो समाज’ नामक पुस्तक वी रिडले बजारमा ल्याउन लागेको हो । पुस्तकमा वैदेशिक रोजगारीको कहर खेप्ने पात्रहरूका दुःख र भोगाइका अतिरिक्त त्यसले पारेको सामाजिक र सांस्कृतिक प्रभावलाई सूक्ष्म रूपमा हेर्ने प्रयास गरिएको छ । यही विषयमा केन्द्रित रहेर लेखक सापकोटासँग लेनिन बञ्जाडेले गरेको छोटो कुराकानी:
– जनकराज सापकोटा
चित्रकारिताको रहर गर्दै पत्रकारिताको समुद्रमाथि जहाज दगुराउँदै हुनुहुन्छ । पत्रकारितासँगै किताब लेखनमा पनि उत्तिकै दौडिरहनुभएको छ । थकाइ लाग्दैन ?
चित्र त हिजोआज मनले मात्रै बनाउँछु । कल्पनामा मात्रै बनाउँछु । अनि लेख्दा थकाइ लाग्यो भने गाउँ घुम्न जान्छु । घुम्दा थकाइ लाग्यो भने लेख्न बस्छु । समाचार लेख्न थकाइ लागे साहित्य लेख्छु । साहित्य लेख्दा थकाइ लागे समाचार लेख्छु । दुवै लेख्दा थकाइ लागेपछि भने रिसर्चका सामग्री जम्मा पार्न लाग्छु । काम भएन भने छटपटी हुन्छ ।
 
किताबमा तपाईंको अजंगको मेहनत देखिन्छ । पुस्तकले आकार ग्रहण ग।ेर त्यसको आवरण सुम्सुम्याउँदा कस्तो भयो ?
एउटा अनौठो बानी छ मेरो । किताब लेखेर छाप्न पठाउने बेला एकदमै डर लाग्छ । किताब हातमा नपरुन्जेल त्यस्तो डर मनभित्र गुम्सिरहन्छ । छटपटी हुन्छ । यता र उता गर्छु । पुस्तकले आकार ग्रहण गरेपछि भन्दा त्यसले अनुहार अर्थात् आवरण पाएपछि झनै धेरै खुसी लाग्यो । यसपालाको किताबमा मैले आवरणका निम्ति खुबै दुःख पनि गरें । मेरा प्रिय कलाकार हितमान गुरुङले झनै दुःख गरे । मौलिक कभर बनेकोमा एकदमै खुसी लागेको छ । 
 
रेमिट्यान्सको कथालाई फूलबुट्टा भरेर पुराण लगाइन्छ । तर, तपाईंको किताबले रेमिट्यान्सले समाजमा पारेको असरमाथि धावा बोलेको छ । अरु खास के छ किताबमा ?
यो किताब मान्छेको दुःखको असंख्य कथाले मात्रै भरिएको छैन । त्यसको सामाजिक र सांस्कृतिक पक्षमाथि पनि केलाउने प्रयास गरिएको छ । मान्छेको कथामात्रै होइन, त्यससँग जोडिने सामाजिक र आर्थिक आयामहरूको व्याख्या पनि यसमा छ । वैदेशिक रोजगारीका कारण नेपाली समाजले कस्तो मूल्य चुकाइरहेको छ भन्ने थाहा पाउन यो पुस्तक उपयोगी हुन्छ होला । वैदेशिक रोजगारीको सामाजिक कथा पढ्नेले एकसरो किताब पढे हुन्छ । अझै विस्तृत जान्नका निम्ति प्रत्येक तथ्यलाई फुटनोटमा व्याख्या गरिएको छ । माइग्रेसनमाथि नेपालमा जति पनि अध्ययन र अनुसन्धान भएका छन्, त्यसको सारांश पनि कहीँ कतै स्रोतसहित उल्लेख छ । तर, त्यस्तो तथ्यांकले पात्रहरूको कथालाई खलबल्याउँदैन । 
 
आर्थिक विज्ञानमाथि समाज विज्ञानको धारणा हावी भएको छ पुस्तकमा । अर्थविश्लेषकहरू यो पुस्तकको निचोडसँग सहमत हुन सक्छन् त ?
रेमिट्यान्सको आर्थिक मूल्यसँग सामाजिक र सांस्कृतिक क्षतिको हिसाबकिताब हुनुपर्छ भन्ने पुस्तकको माग हो । यसले हाम्रा बालबालिकामा वैदेशिक रोजगारीले पारेको मनोवैज्ञानिक असरबारे अध्ययनको माग गर्छ । विवाह भन्ने संस्थाको पुनव्र्याख्याको माग पनि गर्छ । अनि परम्परागगत कृषि शैलीलाई कसरी वैदेशिक रोजगारीले कमजोर तुल्याएको छ भन्ने व्याख्या पनि यसमा गरिएको छ । पुस्तकको निचोडसँग अर्थशास्त्रीहरू असहमत नहोलान् । तर, फरक व्याख्या भने हुन सक्ला । थप बहस र छलफलको ढोका पुस्तकले खोल्यो भने त्यो नै मेरो निम्ति खुशीको कुरा हुनेछ ।
 
हरेक घरमा रहेको रेमिट्यान्सको चक्रव्यूहले गाउँ, समाज र सिंगो मुलुकलाई कसरी गाँजेको छ ?
वैदेशिक रोजगारीको कहरसँग नजोडिएको कुनै गाउँ छैन । कुनै परिवार छैन । वैदेशिक रोजगारीले थिलथिलो भएका परिवारका कैयौं कथाहरू समाजले पचाएर राखेको छ । सामाजिक मूल्यका नाममा होस् वा दुःख छोप्नुपर्छ भन्ने मान्यताका कारण, हामीले अँध्यारो कथालाई पर्दा लगाएर राखेका छौं । कहिलेकाहीँ सोची हेर्छु, कफिन नभित्रेका गाउँ कति बाँकी होलान् देशमा ? मुस्किलले केहीमात्रै होलान् । 
देशभित्र सम्भावना नभएपछि, गरिखाने मेलो राज्यले निर्माण नगरिदिएपछि वैदेशिक रोजगारीको बलिवेदीमा होमिन हाम्रा तन्नेरीहरू अभिशप्त छन् । आफ्नो जवानी अरबको भूमिमा काट्न बाध्य छन् । वैदेशिक रोजगारीको दुःखको कथा भएका लाखौं पात्रहरू छन् । तीमध्ये मैले केहीको कथालाई वर्षौंसम्म अध्ययन गरेर त्यसको विकास र त्यसले समाजमा पारेको असरबारे मात्रै लेखेको हुँ । 
 
तपाईंको लेखन ‘हार्डकोर जर्नलिस्टिक’ नभएर निकै साहित्यिक देखिन्छ । आख्यान लेख्ने योजना हो ?
साहित्य मेरो रुचि हो । पत्रकारिता भने मेरो रुचि र पेसा दुवै हो । दुवै दाजुभाइजस्ता त हुन् । आख्यान लेख्न भने बहुतै डर लाग्छ । अरुको पढ्दा पनि कसरी लेखे होलान् भनेर सोचिबस्छु । छक्कै पर्छु, कसरी नयाँ संसार  निर्माण गरे होलान् जस्तो पनि लाग्छ । ६ वर्षजति पहिले बेसुरमै मैले एउटा उपन्यास लेखेको थिएँ, करिब ५० हजार शब्दको । केही नजिकका साथीलाई देखाएपछि अरुलाई देखाउन डर लाग्यो अनि लुकाएर राखें । त्यो पढ्दा अहिले आफैंलाई लाज लाग्छ । हत्तेरी ! के नचाहिने लेख्या हुँला भनेर । 
 
‘कहर’लाई कसरी बुझियोस् भन्ने लाग्छ ?
यो किताब न पूर्ण साहित्य हो, न प्राज्ञिक रिसर्च । यो दुवैको फ्युजन हो । यही रूपमा बुझ्नुभए हुन्छ । किताब पढ्दा पाठकलाई कष्ट नहोस् भन्नेमा मैले खुबै मेहनेत गरेको छु भन्ने लाग्छ । 
 
रेमिट्यान्स सामाजिक रोग हो कि आर्थिक बाध्यता ?
दुवै हो । हाम्रा सपनाहरू फराकिला छन् । हामीले विकसित विश्व टिभी, मोबाइलबाट थाहा पाएका छौं । पश्चिमाजस्तो भएपछि सुखी र खुसी होइन्छ भन्ने पनि हामीलाई लाग्छ । अनि देशभित्र गरिबी प्रचुर छ । सम्भावना छैन । जाँगर र सीप भएरमात्रै यहाँ केही गर्न सकिँदैन । बिचौलियाको बिगबिगी छ । उत्पादक सधैं गरिब हुन्छ । बिचौलिया सधैं धनी । 
 
किताब लेख्न कति समय लाग्यो ? कहाँ–कहाँ घुम्नुभयो ? किताब नै लेख्छु भनेर लाग्नुभएको थियो कि रिपोर्टिङको सिलसिलामा भेटिएका पात्रका कथा किताबाकारमा निकाल्नुभएको हो ?
ठ्याक्कै साढे तीन वर्ष खर्चिएँ । करिब तीन वर्ष त रिसर्चमै लाग्यो । १५ जिल्ला घुमें । ठ्याक्कै भन्न त सक्दिनँ तर ६० वटाजति गाउँ चहारें कि भन्ने लाग्छ । केही पात्रको कथा विभिन्न कारणले लेख्न सकिनँ । कति घटना भने समयक्रममा बिलाए । कति पात्रसँग भने तेस्रो र चौथो भेट हुन सकेन र त्यो कथा थाँती राखें । यो विशुद्ध किताब लेख्ने यात्रा थियो । एकाध यात्रामा बाहेक अरुमा मैले रिपोर्टिङ गरिनँ । तर, कहिलेकाहीँ विषय देखेपछि लेख्न सकसक लागिहाल्ने भने भयो । 
 
पढ्नचाहिँ आख्यान रमाइलो लाग्छ कि गैरआख्यान ?
आख्यान पढ्दा जिब्रोमा स्वाद बसेजस्तो लाग्छ । गैरआख्यान पढ्दा दिमागमा स्वाद बसेजस्तो लाग्छ । भाषाका लागि आख्यान पढ्छु । विषयवस्तुका लागि गैरआख्यान । 
 
तपाईंको नजरमा नेपालले पाएका सर्वकालीन महान् कृतिहरू के–के हुन् ?
हर्क गुरुङको ‘मैले देखेको नेपाल’, दौलतविक्रम विष्टको ‘चपाइएका अनुहारहरू’, पारिजातको ‘शिरीषको फूल’, शंकर लामिछानेको ‘गोधुली संसार’ । 
 
कुन नेपाली पुस्तक मैले लेखेको भए हुन्थ्यो जस्तो लाग्छ ?
मोहन मैनालीको ‘उपल्लो थलो’ लोभ लागेको किताब हो । हर्क गुरुङका किताबहरू पनि लोभ लाग्छन्, त्यस्तै लेख्न पाए हुन्थ्यो भन्ने । फ्रेडरिक गेजको किताब पनि खुबै मन परेको हो ।
 
र, मुख्य कुरा– तपाईं किन लेख्नुहुन्छ ? (पत्रकारिताबाहेक)
किन–किन जानेकै लेख्न मात्रै हो जस्तो लाग्छ । अरु केही नजानेर पो त्यस्तो भएको हो कि ? तर, राम्रो लेख्न चाहिँ सिक्दैछु जस्तो लाग्छ । समाचार र टिपोट लेखेरचाहिँ धीत् मर्दैन । खसखस चिलाएर शान्त पारेजस्तो । किताब लेखेपछि चाहिँ अलिक मन शान्त हुन्छ ।
 
NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १५, २०७३  ०९:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC