काठमाडौं । जलवायु तथा मौसम पूर्वानुमान महाशाखाले गएको मध्य राति देशको पूर्वी तराईमा बिकसित भएको मेघ गर्जन र हावाहुरी सहित बर्षा गराउने बादलको प्रणाली अहिले कमजोर हुँदै पूर्व तर्फ सरिरहेको जनाएको छ । पूर्वी तराईमा अझै केही समय मेघ गर्जन सहित वर्षा र पूर्वी पहाडी भूभागमा हल्का वर्षा जारी रहने देखिएकोले सावधान रहन आग्रह गरेको छ ।
सो महाशाखाका अनुसार आज दिउँसो देशभरिनै आंशिक देखि सामान्य बदली हुने र कतिपय स्थानमा मेघ गर्जन सहित वर्षा हुने जनाइएको छ । त्यस्तै राति देशको पूर्वी भूभागमा सामान्य देखि पूर्ण बदली रहने साथै मध्य तथा पश्चिमी भूभागमा आंशिक देखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको जनाइएको छ । यस्तै, बुधबार र विहीबार पनि देशका विभिन्न भागमा बदली र मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविद् मञ्जु बासीले बाह्रखरीलाई जानकारी गराए अनुसार हिजो साँझ ५–६ बजेतिर गुल्मी र प्युठान क्षेत्रमा विकास भएको वायु पूर्वतिर सर्दै गएकोमा राति ३–४ बजेतिर निकै बढेको र अहिले बारा र रौतहट तथा पूर्वी नेपालमा सक्रिय भएको बताइन् । नेपालमा मात्रै होइन अन्य देशमा पनि मौसम फेरबदल हुने क्रम तीब्र भइरहेकोले यसै यो वायु यतिञ्जेल यो क्षेत्रमा रहन्छ भनेर पूर्वानुमान गर्ने अवस्था नै नरहेको बताइन् ।