काठमाडौ । आगामी बिहीबारबाट भारतमा शुरु हुने लोकसभाको निर्वाचनलाई लिएर भोलि मंगलबारबाट नै नेपालसँगका कतिपय सीमाहरु बन्द गरिने भएको छ । भारतीय दैनिक टाइम्स अफ इण्डियाको अनलाइन संस्करणले आज जनाएअनुसार मंगलबारदेखि नै कतिपय क्षेत्रका सीमा बन्द गरिनेछ ।
चुनाव हुनुभन्दा ७२ घण्टा अघि नै सीमा बन्द गर्न लागिएको हो । भारतको पिथौरागढ जिल्लामा अप्रिल ११ तारेखमा निर्वाचन हुन लागेकोले सो क्षेत्रहुँदै नेपाल आउने सीमा पहिलो चरणमा बन्द हुने बताइएको छ । भारतको निर्वाचन विभिन्न सात चरणमा मे १९ तारेख सम्म हुनेछ ।
निर्वाचन हुने क्षेत्रमा जोडिएका सीमा क्षेत्रमा ७२ घण्टा अगाडिदेखि सीमा बन्द हुने जनाइएको छ । निर्वाचन हुनुअघिका ४८ घण्टा सीमा बन्द नै गरिनेछ । यस विषयमा सीमा क्षेत्रमा रहेका नेपाली अधिकारीहरुसँग गएको मार्च ३१ मा नै सहमति भएको जनाइएको छ ।