Skip Advt.

प्याट्ट नफुट्ने 'बुलबुल'

प्याट्ट नफुट्ने 'बुलबुल'

फिल्म बनाउनु र दर्शक भएर हेर्नु दुई फरक-फरक कला र विधा हुन् । फिल्ममा अभिनय गर्नेहरू मात्रै कलाकार होइनन्, पर्दाका पात्रलाई आफूमा समाहित गरेर दुई घण्टा पर्दामै आँखा र दिमाग दौडाउने दर्शक पनि कलाकार हुन् । फिल्मलाई बुझ्ने तरिका पनि हरेकको आ-आफ्नै हुन्छ । 'कृ'लाई भयंकर प्रशंसा गरेर 'पशुपतिप्रसाद', 'साँघुरो'जस्ता फिल्मलाई गाली गर्ने दर्शकको पनि आफ्नै दर्शन र ग्राह्यशैली छ । बलिउडका 'स्वदेश' र 'गुजारिश' मलाई सर्वाधिक मन पर्ने फिल्म हुन् तर यी दुवै बक्स-अफिसमा पछारिए । अर्ब कमाउने शाहरुख/सलमान खानका धेरै फिल्म मलाई पैसाको सत्यानाश लागे । मल्टीस्टारर र बिग बजेटका कतिपय फिल्म मलाई यातना जस्ता लाग्छन् । म ती कति फिल्मको एउटा दृश्य पनि सम्झिन सक्दिनँ । तर 'स्वदेश', 'गुजारिश', 'पशुपतिप्रसाद'का लगभग सबैजसो दृश्य मलाई याद छन् । यी फिल्मले वर्षौंसम्म पनि मेरो दिमागमा राज गरिरहेका छन् । त्यसैले यी फिल्म मेरा लागि जीवनमै प्रभाव पार्ने बृहत् दर्शन हुन् । कतिपय नेपाली फिल्म त ट्रेलरमा मात्रै राम्रा हुन्छन् । जसरी कति किताब आवरणमा मात्रै राम्रा हुन्छन् ।

म आज बा १ ह ३८९९ नम्बरको ट्याम्पुमा चढेर सपरिवार 'बुलबुल' हेर्न गएँ । हिजो विशेष स्क्रिनिङमा निम्तो आए पनि पैसा तिरेरै सपरिवार हेर्छु भनेर गइनँ । टिजर सार्वजनिक भएदेखि नै यो मेरा लागि बहुप्रतीक्षित फिल्म थियो । कारण– रणकला र चोपेन्द्र भुसालको शैली अनि उनीहरू बाँचेको परिवेश । मलाई यस्ता निम्नवर्गीय मान्छेका निम्छरा कथा मन पर्छन्, जसरी 'साँघुरो'मा कृष्ण र कमला मन परेका थिए । चलनचल्तीका 'छक्कापञ्जा'बाट मुक्त 'बुलबुल'मा यस्ता कतिपय दृश्य छन्, जो सुन्दर किताब पढेजस्तै विम्बात्मक लाग्छन् । कथाको मूल भावलाई क्यामराले समात्न सकेन भने फितलो हुन्छ । तर, 'बुलबुल'मा थुप्रै शटहरू अर्थपूर्ण रूपमा खिचिएका छन् । पानी पर्नु असारे झरीमात्रै होइन । कुन बेला पानी परेर रणकलाले आँसु बगाइरहेकी छ, त्यसले अर्थ राख्छ । जिन्दगी जति सपाट र गतिहीन हुन्छ, क्यामराको गतिहीन दृश्य पनि पर्दामा उसैगरी प्रतिविम्बित हुन्छ । त्यसमाथि पार्श्व संगीतले कथालाई उसैगरी अँठ्याएर राख्छ ।

'बुलबुल' चल्तीको 'छक्कापञ्जा'भन्दा पृथक छ । सुन्दा साधारण लाग्ने कथालाई लेखक/निर्देशकले आफ्नै पारामा अघि बढाएका छन् । उनलाई कुनै हतारो छैन । दोहोरिराख्ने उस्तै खाले दृश्यले दर्शकलाई फरक पारोस्/नपारोस्– उनलाई त्यसको पनि वास्ता छैन । उनलाई त बस्- एउटै लय र गतिमा कथा भन्नु छ ।

प्रेम र यौनको मनोविज्ञान फरक लिंगका मानिसबीच कसरी फरक तरिकाले निर्माण हुन्छ भन्ने मिहिन 'तथ्य'लाई 'बुलबुल'ले उस्तै मिहिन पारामा देखाएको छ । रणकला र चोपेन्द्र दुवै एक-अर्काका आवश्यकता हुन् । तर, त्यो आवश्यकताको दर्शन र मूल्य फरक छ । वैदेशिक रोजगारीले परिवारमा ल्याएको यो विग्रहलाई कलात्मक रुपमा भन्न 'बुलबुल' सफल छ ।

'बुलबुल'को अन्त्य भने मेरो चाहनाअनुसार छैन । अन्तिममा क्रेडिट लाइन आउने बेला मभन्दा पछाडिको सिटमा बसेका दर्शकले 'लौ फिल्म सकियो ?' भनेर आश्चर्य प्रकट गरिरहेका थिए । यो उनीहरूका लागि (मेरोजस्तै) अप्रत्याशित थियो । म अर्कै खाले अन्त्य चाहिरहेको थिएँ । मैले चाहेजस्तै अन्त्य भएन, त्यसैले यो फिल्म आफ्नो सिद्धान्तमा सफल छ । तर, लेखक/निर्देशक विनोद पौडेलले चोपेन्द्रको चरित्र निर्माण किन त्यसरी गरे, मैले बुझ्न सकिनँ । त्यस्ता पात्र हाम्रो समाजमै छन् भनेर चित्त बुझाउन त सकें तर मन बुझाउन सकिनँ । त्यसो भन्दाभन्दै 'प्रसाद'को रमेश पात्रजस्तै प्रेडिक्टेबल भएको भए पनि मजा आउँथेन । यो कुरामा पनि शायद 'बुलबुल'को सैद्धान्तिक जग बलियो छ ।

'थ्री-एक्ट' संरचनाभन्दा बाहिर गएर युरोपेली शैलीमा बनाइएको 'बुलबुल' प्रयोगवादी भएकाले पनि हेर्नुपर्ने फिल्म बनेको छ । रणकलाले चलाउने ट्याम्पुको एउटा पांग्रो बिग्रिरहने विम्ब बुझ्न सकियो भने फिल्मको अन्तर्य र सैद्धान्तिक अर्थ केलाउन माथापच्ची गरिरहनु पर्दैन । यस्ता अर्थपूर्ण शटहरू फिल्ममा यथेष्टै देख्न पाइन्छ ।

'बुलबुल'मा सबैभन्दा सशक्त स्वस्तिमा खड्का हुन् । यो फिल्म हेरेपछि मलाई नवाजुद्दिन सिद्धिकीको 'मन्टो' याद आयो । नवाजुद्दिनले कुनै अन्तर्वार्तामा भनेका छन्, "मैले 'मन्टो' जस्तो फिल्म पारिश्रमिकबिनै गर्न पाऊँ भनेर बेलाबेला कमर्सियल फिल्म खेल्छु ।" पारिश्रमिकको कुरालाई छाड्ने हो भने ग्ल्यामरस छविकी स्वस्तिमाले यस्ता कलात्मक फिल्मलाई 'नाइ नभन्नू ल !"

चोपेन्द्रको भूमिकामा आएका मुकुन भुसाल अर्का जबर्जस्त पात्र हुन् । अर्घाखाँची (म जन्मेको ठाउँ)को लवज भएकाले पनि मलाई बढी तानेको होला । उनले आफ्नो चरित्रलाई सुन्दर तरिकाले निभाएका छन् । तर, उनको चरित्र निर्माणमा हेलचेक्र्याइँ गरियो कि जस्तो लाग्छ । हुन त यो निर्देशकीय चतुर्‍याइँ पनि हुन सक्छ ।

अर्कातिर, सहायक भूमिकामा देखिएकी लक्ष्मी बर्देवा निश्चित समयपछि एकाएक कहाँ जान्छिन्, कहाँ हराउँछिन्- अन्तिमसम्म पनि उत्तर पाइँदैन । रणकलाको जीवनका आरोह-अवरोहमा अलि बढी केन्द्रित हुँदा छेउछाउका पात्रहरू हराउँदै जानु स्वाभाविकजस्तो लागे पनि सिनेम्याटिक ग्रामरमा त्यसले बिझाउँछ ।

मलाई 'बुलबुल'मा राम्रो लागेको अर्को पाटो हो– यसका लामा-लामा शट । सिन कट नगरिकनै धेरै बेरसम्म संवाद आदान-प्रदान भइरहँदा मलाई 'बधशाला'मा अनुप बराल र सौगात मल्लको १०-१२ मिनेट लामो शट सम्झना आयो । यस्ता शटले कलाकारको अथक मेहनत र निर्देशकीय कौशलता झल्काउँछन् । बाल कलाकार नानीले पनि एउटा लामो शट दिएकी छन् । ५-६ वर्षे नानीले ठिक्क टाइमिङ मिलाएर त्यति लामो शट दिएको देखेर म मुसुक्क हाँसें । यद्यपि डबिङमा राम्ररी सिंक नभएका अरु कतिपय दृश्यले भने दाँतमा ढुंगा लगाउँछन् । उस्तै लाग्ने कति दृश्य फिल्म लम्ब्याउन दोहोर्‍याइएका हुन् कि रणकलाको रुटिनबद्ध जीवनलाई फ्रेमिङ गरिएको हो– मैले बुझिनँ । केही अनावश्यक दृश्य (जस्तो: टेम्पोमा चढेकी एक युवतीले गरेको फोन संवाद, जोयश पाण्डे पटक-पटक चर्पीमा बसेको) जरुरी थिएनन् । नत्र हरेक दृश्यमा निर्देशकको उपस्थिति झल्किन्छ । नेपाली फिल्मका लागि यो सुखद अध्याय हो ।

फिल्मको नाम किन 'बुलबुल' राखियो भनेर म धेरै बेरसम्म घोरिएँ । बुलबुल एउटा चराको नाम हो भन्नेसम्म थाहा थियो । हलमै त्यो चराबारे गुगलमा खोजिनिती गरें । रातिमा गाउँदै हिँड्नेबाहेक खासै ठूलो विशेषता फेला पारिनँ । फिल्मको विषयसँग यो चराको विम्ब कतै मिलेको देखिनँ । खोज्दै जाँदा थाहा पाएँ- 'बुलबुल'को अर्को अर्थ पनि रहेछ– पानीको फोका । पानीको फोकाजस्तै छिनमै फुट्ने रणकलाको जीवनगाथालाई विम्बको रूपमा प्रयोग गरिएको रहेछ । यो थाहा पाएपछि सन्तुष्ट भएँ !

चल्तीको मसालेदार खाने कि उमालेको अर्ग्यानिक खाने, रोजाइ तपाईंको हो । किनकि यो प्याट्ट फुटीजाने बुलबुल होइन ।

मेरो रेटिङ = ⭐️⭐️⭐️⭐️

लेनिन बञ्जाडे

प्रतिकृया दिनुहोस