काठमाडौं । सरकारले २०७४ वैशाखदेखि देशभरबाट २० वर्ष नाघेका पुराना गाडी विस्थापन गर्ने बताए पनि हालसम्म त्यस्ता गाडी सञ्चालनमा रहेको पाइएको छ । काठमाडौं उपत्यकाका ग्रामीण क्षेत्रमा यस्ता पुराना सवारी साधन अझै सञ्चालनमा रहेको पाइएको हो । काठमाडौं बाहिरका क्षेत्रमा पनि यस्ता पुराना गाडी गुडिरहेको पाइएको छ ।
यातायात व्यवस्था विभागले २० वर्षे पुराना गाडी विस्थापन गर्ने निर्णय गरे पनि अझै त्यसको कार्यान्वयन हुन नसकेको हो । ट्राफिक प्रहरीले पनि यस्ता पुराना गाडीलाई रोक्न सकेको छैन ।
दसैं तिहारको समयमा मात्र ट्राफिक प्रहरीले पुराना गाडी सञ्चालन भए÷ नभएको समान्य जाँच गर्छ । अन्य समयमा भने पूर्ण रुपमा कडाइ गरेको छैन । काठमाडौं उपत्यकाका सहरी क्षेत्रमा यस्ता पुराना गाडी सञ्चालनमा नरहे पनि भक्तपुर र ललितपुरका ग्रामीण क्षेत्रबाट दैनिक काठमाडौं आवतजावत गर्ने गरेका छन् । २० वर्ष पुराना गाडीले प्रदूषित धुँवा फालेर वातावरण बिगार्ने र पुरानो इन्जिनले अचानक दुर्घटना निम्त्याउने सम्भावना रहन्छ ।
अहिले २० वर्ष कटेका यात्रुबाहक तथा मालबाहक गाडी पनि सञ्चालनमा रहेका छन् । विभिन्न राइस मिल, सिमेन्ट र इँटा उद्योगले यस्ता पुराना मालबाहक गाडी प्रयोग गरिरहेका छन् । उद्योग तथा कलकारखाना परिसरमा मात्र यस्ता सवारी साधन चल्ने भएकाले कारबाही गर्न अप्ठेरो भएको ट्राफिक प्रहरी बताउँछ ।
तर, सडकमा निर्वाध गुडिरहेका मालबाहक गाडीलाई ट्राफिक प्रहरीले कुनै कारबाही गर्न सकेको छैन । यातायात व्यवस्था विभागले गत चैत १८ गते नयाँ निर्देशिका जारी गर्दै २० वर्ष पुराना सार्वजनिक सवारीलाई विस्थापित गरिने बताए पनि हाल उक्त निर्देशिका कार्यान्वयन हुन सकेको छैन ।
यसकारण सार्वजनिक ठूला गाडीका साथै २० वर्ष पुराना भाडाका ट्याक्सी पनि उपत्यकामा सञ्चालनमा रहेका छन् । “मन्त्रालयले २०७४ वैशाखबाट २० वर्ष पुराना गाडी विस्थापन गर्ने निर्णय गरिसकेको हो” भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता शिवहरि सापकोटाले बाह्रखरीसँग भने, “यसको कार्यान्वयनमा ट्राफिक प्रहरीले कडाइका साथ चेक गरिरहेको छ ।”
काठमाडौं बाहिरका जिल्लाका अधिकांश स्कुलबसहरु २० वर्ष पुराना रहेका छन् । त्यस्तै, पहाडी र ग्रामीण क्षेत्रमा सञ्चालन हुने बसहरु पनि २० वर्ष पुराना रहेका छन् । धेरै उकालो ओरालो हुने र सडकको अवस्था पनि जीर्ण हुने भएकाले पहाडी र ग्रामीण क्षेत्रमा चल्ने गाडीको ‘कन्डिसन’ ठीक हुन जरुरी हुन्छ ।
“साँघुरो पहाडी कच्ची सडकमा चल्ने गाडीमा तोकेभन्दा बढी यात्रु चढ्दा दुर्घटनाको सम्भावना बढी हुन्छ,” महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी बसन्तकुमार पन्तले भने, “पुराना गाडी र पार्टपूर्जाका कारण पनि सडक दुर्घटना हुने गरेको छ ।”
उता यातायात व्यवसायी भने फलामको आयु वर्षमा तोक्न नमिल्ने तर्क गर्छन् । गाडी कति सालमा बनेको भन्दा पनि हाल गाडीको अवस्था कस्तो छ ? भन्ने ट्राफिक प्रहरीले चेकजाँच गर्नुृपर्ने यातायात व्यवसायीहरु बताउँछन् ।
“फलामलाई यतिवर्ष पुरानो भनेर तोक्नु हुँदैन । गाडीको हालको ‘कन्डिसन’ ठिक छ कि छैन ट्राफिक प्रहरीले चेकजाँच गर्ने कुरा हो,” यातायात व्यवसायीका अगुवा योगेन्द्रनाथ कर्माचार्य भन्छन्, “२० वर्ष पुरानो गाडीलाई पनि मर्मत गरेर कन्डिसनमा राख्न सकिन्छ । यसैले सरकारले गाडीको सीमित आयु तोकेर विस्थापन गर्ने नियम प्रभावकारी छैन ।” हाल देशभर करिब २७ लाख सवारी साधन सञ्चालनमा रहेको यातायात व्यवस्था विभागको तथ्यांक छ ।
जसमध्ये उपत्यकामा मात्रै करिब १३ लाख सवारी साधन सञ्चालनमा रहेका छन् । जसमा कति सवारी २० वर्ष पुराना छन् यसको पछिल्लो तथ्यांक विभागसँग नरहेको विभागका निर्देशक तथा सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए ।