महिलाविरुद्धको हिंसा : सोच परिवर्तनको खाँचो 

रुकु पाण्डे

महिलाविरुद्धको हिंसा : सोच परिवर्तनको खाँचो 

मनुस्मृतिमा आधारित भएकाले नेपालका कानुनमा स्त्रीलाई पुरुषको सम्पत्तिका रूपमा हेर्ने गरिएको थियो । परम्पराका साथै कानुनले पनि स्त्रीलाई पहिलेदेखि नै स्वतन्त्रता दिएको पाइँदैन । साच्चै नै स्त्री पुरुषका नै सम्पत्ति हुन् त ? मनुस्मृतिले भनेजस्तै महिला सानोमा बाबु, युवावस्थामा पति र वृद्धावस्थामा छोराको संरक्षणमा रहनै पर्ने हो त ? अर्थात्, महिलालाको आफ्नो स्वतन्त्र जीवन नभएकै हो त ? 

महिलाहरू हिजोजस्तै आज पनि पुरुषका लागि भोग्या नै रहेको अनुभूति हुन्छ । हिजो पनि हामी वस्तु ठानिएका थियौँ, आज पनि छौँ । 

महिला व्यक्ति नभएर योनी, गर्भाशय र भोग्यामात्रै भएका छौँ । यो मनुस्मृतिको अवशेष हो । अब पनि महिला किन कमजोर बनिरहने ? महिलालाई नै वैदिक कालमै शक्तिको रूपमा मानिएको छ । तिनको स्वतन्त्र अस्तित्व स्वीकार गरिएको छ । वेदले परिभाषित गरेको हाम्रो शक्ति खोइ त ? कतै हामीले नै आफ्नो शक्ति चिन्न नसकेको त होइन ? 

महिलाले आफ्नो शक्ति नचिनेकै कारण महिलामाथि हुने हिंसा शृंखलाबद्ध रुपमा बढिरहेका हुन् कि ? पहिलेदेखि दबिएको हाम्रो आवाजलाई स्वर दिने प्रयास नगरेकाले पो सबै ठाउँमा हामीमाथि हिंसा भएको वा बढिरहेको हो कि ?
महिलामाथि हिंसाको बीजारोपण घरभित्रै हुन्छ । हाम्रो समाजमा छोरीचेलीलाई धेरै अबेर रातसम्म बाहिर हिँड्नु हुँदैन भनेर सिकाइन्छ । घरेलु हिंसाको प्रकृति हेर्दा हामी घरभित्र नै पनि असुरक्षितै छौँ । 

हामी घरभित्र कसरी सुरक्षित हुन सक्छौंँ त ? सामाजिक हिंसालाई पनि हामीले नकार्न सकिँदैन । तर, पुरुष सोचले कहिले पुँजीवादले महिला हिंसा बढाएको देख्दोरहेछ । छोटो लुगा लगाउँदा बलात्कार बढेको ठान्दो रहेछ । मदिराको सेवन महिलाले गर्दा महिलामाथि हुने हिंसा बढेको ठहर गर्दो रहेछ । त्यसो हो भने आठ महिनामा बलात्कारको सिकार भएकी सानी नानीलाई कस्तो लुगा लगाई दिनुपथ्र्यो ? हिंसा रोक्न त नारी मदिराले मातेर लडेको बेला पुरुषले सुरक्षित स्थानसम्म पुर्‍याउन पर्ने होइन  ? तपाई किन बलात्कारको लागि सपना बुन्ने ? 

यी पुँजीवाद, छोटो लुगा र मदिरा सबै पुरुषका छोटा सोच हुन् तर महिला हिंसाका कारण होइनन् । महिलामाथि हुने हिंसा त एउटा शक्तिशाली वर्गले कमजोरमाथि गर्ने थिचोमिचो कै अर्को रूप हो । यसको अर्थ पुरुष शक्तिशाली र महिला कमजोर भन्न खोजिएको होइन । 

सामाजिक हिंसाका घटनामा समाजले गरेको शक्तिको वर्गीकरण महत्त्वपूर्ण हुन्छ । नत्र, हामीभित्र बनेको सामाजिक संरचनाभित्र रहेर महिला हिंसा न्यूनीकरण वा अपराधीलाई सजायको कुरा गर्न उच्चस्तरबाट ढिलो चाँडो गर्छाैं भन्ने अभिव्यक्ति दिनुपर्ने ? संरचना स्पष्ट छ भने त्यही सामाजिक संरचनाभित्र रहेर यसको न्यूनीकरण गर्नुपर्ने होइन र ? कानुनमा त हामीले पुरुषसरहका सबै अधिकार पायौँ, पुरुषसरहै सुरक्षित पनि छौँ तर व्यवहारमा हामी कहाँ सुरक्षित छौँ ? आफ्नो घरभित्र ? अहँ !  त्यहाँ पनि हामी आफूलाई सुरक्षित महसुस गर्न सक्तैनौ । कहिले दाइजो नल्याएको निहुँमा जिउँदै जलाइन्छौँ त कहिले मदिराले मातेको पुरुषबाट कुटिन्छौँ ।

सार्वजनिक यातायातमा ५०/६० वर्षको वृद्धले नातिनीको उमेरकी किशोरीको स्तनसम्म थाहा नपाएजसरी हात पुर्‍याउने गर्छ । कार्यकक्षमा महिला भएकै कारण विभिन्न कुरामा दबाउन खोजिन्छ । जतिसुकै कार्य कुशलता भए पनि महिलाको आवाजलाई उच्च स्वरले दबाउने कोसिस गरिन्छ । एक्लै बाटोमा हिडनुस एक हुल पुरुषले सिठ्ठी बजाउँदै वा ‘‘क्या माल छ’’ भन्दै स्वर मिलाएर हाँस्ने गर्छन् । मानौ नारी बजारमा विक्री हुने माल हुन् । त्यस्तो सुन्दा हाम्रो भावनामा कस्तो असर पुग्न जान्छ त्यो आफूलाई शक्तिशाली ठान्ने पुरुषले महसुुस पनि गर्न सक्तैन । 

कानुनमा दिइएको अधिकारले हामी समान भइँदैन । कानुनमा हिंसा गर्नेलाई दिने सजाय लेख्दैमा हिंसा अन्त्य हुँदैन । त्यसैले हाम्रो सामाजिक संरचनामा भएको महिला भोग्या हुन् भन्ने सोचलाई परिवर्तन गर्नुपर्छ । हामीले हाम्रो सोचलाई बदलेर एउटा महिलामात्र व्यक्तिका रूपमा स्वीकार गरेर पत्नीसँग पनि दुवैको सहमति भएमात्र यौन चाहना पूरा गर्न हुन्छ अरु त सबै दिदीबहिनी हुन् र तिनको सम्मान र मर्यादाको रक्षा गर्नुपर्छ भन्ने सोचको विकास भयो भनेमात्र महिलामाथि हुने हिंसा, बलात्कार अन्न्त्य  होला ।

यस्तो समाजको निर्माण गरौँ जहाँ महिला दोस्रो दर्जाको प्राणी होइन समान र उत्तिकै जिम्मेवार व्यक्ति हो भन्ने मान्यता स्थापित हुन्छ । त्यस्तो समाजको परिकल्पना गरौं जहाँ महिले सुरक्षित ठानेर ढुक्कसँग सुरक्षित भएको सास फेर्न सकून् । हाम्रो सोचमा परिवर्तन गरौँ । कानुनका पाना त च्यातिएर जान्छन् । 

प्रतिकृया दिनुहोस
ad