खेल
काठमाडौं । पाँचौ महिला तथा छैटौ पुरुष राष्ट्रियबीच भलिबल प्रतियोगिता आगामी मंसिर दोस्रो हप्ता काभ्रेको सुनकोशी नदी किनार दोलालघाटमा हुने भएको छ । नेपाल भलिबल संघको आयोजना एवं काभ्रे जिल्ला भलिबल संघको व्यवस्थापनमा प्रतियोगिता दोलालघाटमा मंसिर १६ देखि १८ गतेसम्म हुने भएको छ ।
नेपालमै पहिलोपटक प्राकृतिकस्थल काभ्रे जिल्लाको दोलालघाटस्थित सुनकोसी नदी किनारमा सञ्चालन हुने प्रतियोगितामा ५ विकास क्षेत्र र ३ विभागीय टोलीको सहभागिता रहने छ । जसमा पुरुषतर्फ १६ टिम र महिलातर्फ पनि १६ टिम गरी ६४ खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए ।
प्रतियोगिताका महिला÷पुरुष दुवै विजेता टोलीले नगद २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताका दुवै टिमले १५ हजार र तेस्रो स्थान हासिल गर्ने टोलीले १० हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । र, नेपाल भलिबल संघले प्रतियोगिताको व्यवस्थापन गर्ने काभ्रे जिल्ला भलिबल संघलाई १ लाख २५ हजार नगदसहित बल र नेट उपलब्ध गराउने भलिबल संघका अध्यक्ष मनोरञ्जनरमन शर्माले जानकारी दिए ।
प्रतियोगितालाई भव्यताका साथ सञ्चालन गर्न नेपाल भलिबल संघका सदस्य एवं काभ्रे जिल्ला भलिबल संघका अध्यक्ष तीर्थ श्रेष्ठको संयोजकत्वमा प्रतियोगिता आयोजक कमिटी गठन गरिएको छ । करिब १२ लाख ५० हजार खर्च हुने प्रतियोगितामा आउने खेलाडीहरूको बसोबासका साथै खाना र यातायातको सम्पूर्ण सुविधा काभ्रे जिल्ला भलिबल संघले व्यहोर्ने काभ्रे जिल्ला भलिबल संघका अध्यक्ष एवं प्रतियोगिता संयोजक तीर्थ श्रेष्ठले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २६, २०७३ १७:०६
प्रतिक्रिया दिनुहोस्