अर्थ व्यवसाय
काठमाडौं । भारतले प्रतिबन्ध लगाएपछि नेपालका सर्वसाधारण तथा व्यवसायीसँग भएका ५ सय र १ हजार दरका भारु नोटको भविष्य अनिश्चित भएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले कालो धन र जाली नोट निषेध गर्न तथा आतंकवाद नियन्त्रणका लागि भन्दै देशभर ५ सय र १ हजारका नोट मंगलबार मध्यरातदेखि नचल्ने घोषणा गरेपछि नेपालमा पनि अन्योल सिर्जना भएको हो । भारत सरकारले प्रतिबन्ध लगाएपछि नेपाल राष्ट्र बैंकले बुधबार बिहानदेखि १ हजार र ५ सय दरका भारु सटहीमा बन्देज लगाइसकेको छ ।
नेपामला भएका यस्ता नोट साट्न परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतीय दूतावासमार्फत कूटनीतिक पहल अघि बढाइएको राष्ट्र बैंकले जनाएको छ । यद्यपि, भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डिया (आरबीआई) ले भारु साट्ने प्रत्याभूति नदिएसम्म केही गर्न नसकिने राष्ट्र बैंक विदेशी विनियम विभागका कार्यकारी निर्देशक भिष्मराज ढुंगानाले बताए ।
कालो धन र जाली नोट व्यवसायी तथा सर्वसाधारणसँग भएको आशंकामा भारतले प्रतिबन्ध लगाएकाले बैंकिङ प्रणालीभन्दा बाहिरका भारु आरबीआईले स्वीकार गर्छ वा गर्दैन भन्नेमा अन्योल रहेको ढुंगानाले बताए । “कालो धन र जाली नोट निषेध गरेकाले बैकिङ प्रणालीभन्दा बाहिरका सर्वसाधारण तथा व्यवसायीसँग भएका ५ सय र १ हजार दरका नोट आरबीआईले स्वीकार नगर्ने सम्भावना धेरै छ,” उनले भने, “बैंकिङ प्रणालीमा भने करिब २ करोड रुपैयाँको हाराहारीमा ५ सय र १ हजार दरका भारु छन् । धेरै पैसा त व्यवसायी र सर्वसाधारणको हातमा छ । यो पैसा आरबीआईले स्वीकार नगर्न पनि सक्छ ।”
बैंकिङ प्रणालीमा भएको भारु नै स्वीकार गर्ने वा नगर्ने निश्चित नभएको उनले बताए । “कूटनीतिक प्रणालीबाट प्रक्रिया अघि बढेको छ । केही दिनभित्र यसको टुंगो लाग्छ । नेपाल–भारत खुला सीमानाका कारण बैंकिङ प्रणालीभन्दा बाहिर धेरै भारु छ,” उनले भने ।
नेपालको कानुनअनुसार २५ हजार रुपैयाँभन्दा बढी भारु गैरकानुनी भएको उनले बताए । उनका अनुसार एक व्यक्तिले २५ हजार रुपैयाँभन्दा बढी भारु सटही गर्न पाउँदैन । “२५ हजारभन्दा बढी भारु छ भने एक सयकै नोट भए पनि त्यो गैरकानुनी हो, कुनै पनि बेला जफत हुन सक्छ,” उनले भने ।
५ सय र १ हजार दरका भारु प्रतिबन्धमा परेपछि नेपाली व्यवसायी मारमा परेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका बताउँछन् । भारतले राम्रा निर्णय गरेको भए पनि व्यवसायीसँग रहेको भारु चल्छ क चल्दैन भन्नेमा अनिश्चितता देखिएको उनको भनाइ छ । काठमाडौ उपत्यकाका व्यवसायी र सीमा क्षेत्रका व्यवसायी तथा सर्वसाधारणसँग धेरै भारु हुने भएकाले उनीहरूलाई समस्या भएको उनले बताए । “कतिपयले सामान आयात गर्दाको भाडा तिर्नेदेखि सामान खरिद गर्नका लागि भारु राखेका हुन्छन् । अब ती नोट नचल्दा समस्या त हुने नै भयो,” मुरारकाले भने ।
भारतमा लाखौं नेपाली रोजगारीमा रहेको र भारतसँग अनौपचारिक प्रणालीबाट व्यापार बढिरहेकाले व्यवसायी र सर्वसाधारणसँग बढी नै भारु सञ्चित रहेको अनुमान गरिएको छ । केही वर्षअघि ५ सय र १ हजार भारु कारोबार नेपालमा खुला गरिएको थियो । यता, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुसँग भएको १ हजार र ५ सय दरका भारु मौज्दातको विवरण मागेको छ ।
चालु आर्थिक वर्षको भदौसम्ममा नेपाल राष्ट्र बैंकले ६४ करोड अमेरिकी डलर बेचेर ४२ अर्ब ८३ करोड भारु खरिद गरेको छ । असोजको विवरण आउन बाँकी रहेकाले भारु सञ्चित योभन्दा बढी छ । भारतसँग भारुमा मात्र कारोबार हुने भएपछि राष्ट्र बैंकले त्यहाँको आरबीआईलाई डलर बेचेर भारु खरिद गर्दै आएको छ । नेपालको कुल व्यापारको ६५ प्रतिशतभन्दा बढी भारतसँग छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७३ १०:५४
प्रतिक्रिया दिनुहोस्