विचार
नेपाली भाषा शिक्षण गर्दा वर्ण विन्यास अन्तर्गत पदयोग र पद वियोग भन्ने शीर्षक पनि राखिएको छ । यो शीर्षक वर्णहरुको विन्यास वा खिप्ती होइन । यो त शब्द शब्दलाई एउटा डिकाले जोड्ने र नजोड्ने चलन मात्र हो । किनभने वर्ण नभएकाले डिकालाई वर्ण विन्यास भन्न मिलेन तर प्रचलनमा यसलाई वर्ण विन्यास अन्तर्गत राखिएको देखिन्छ । पूर्व व्याकरणकारहरुले एउटै डिकामा लेख्ने र नलेख्ने शब्दको सामान्य नियम बनाएका थिए ।
वि.संंं.१९९२ को नेपाली कसरी शुद्ध लेख्ने ? भन्ने लघु पुस्तिकामा पनि यस सम्बन्धी सरल नियम छ । पुस्तिकाको प्रकाशनपछि नेपाली विद्वत् लेखकहरु संस्कृत भाषाको समस्त शब्दको पदयोगबाट ज्यादा प्रभावित भए । आजसम्म संस्कृत प्रभावित प्राज्ञ र लेखकहरु प्रशस्तै छन् । भाषामा धेरै संस्कृत शब्द भएकाले पदयोग र पद वियोगमा संस्कृतबाट प्रभावित हुनु स्वाभाविक थियो । नेपाली समस्त शब्द, नामयोगी, पूर्ण द्वित्व र संयुक्त क्रिया लेखन व्यवस्थामा यो प्रभाव पुरै पर्यो । यसले गर्दा वि.सं. २०३० को दशकतिर आइ पुग्दा पदयोग र पद वियोगका जटिल नियम बने । संस्कृत प्रभावित भएकाले विद्वान्हरुले पदयोग र पद वियोगमा नेपाली भाषाका विशेषता र लेखन प्रवृत्ति खोज्ने चासो राखेनन् । उनीहरुले संस्कृत व्याकरणको शास्त्रीयता आधारमा नेपाली पदयोग र पद वियोगको जग खडा गरे । खडा गर्दा समस्त शब्द बाहेक पूर्ण द्वित्व, नामयोगी र संयुक्त क्रियाहरु पनि पदयोग नै गरे । परन्तु नेपाली लामा समस्त शब्दलाई पदयोग गर्ने उक्त शास्त्रीय आधार अवलम्बन गरेनन् । छोटा समस्त शब्द पदयोग गरिए भने लामा समस्त शब्द पद वियोग गरिए । छोटा र लामा समस्त शब्दमा पदयोग र पद वियोगका अलग अलग प्रचलन बसे । तर कस्तालाई छोटा समस्त (लघु समास भएका शब्द) र कस्तालाई लामा समस्त शब्द भन्ने कुराको नियम बनेन ।
पदयोग र पद वियोगका बारेमा दुई वटा प्रमुख नियम बनाइएका छन् । एउटा नियम हो, शब्द शब्दलाई पद वियोग गर्नु पर्छ । अर्को नियम हो, विभक्तिपछिको शब्दलाई पद वियोग गर्नु पर्छ । यी दुई वटा नियम बाहेक नेपाली भाषाको प्रयोग र प्रचलनले गर्दा थप विशेषता पनि देखिएका छन् । पहिलो विशेषता हो, नेपाली विभक्ति प्रधान भाषा होइन, दोस्रो विशेषता हो, नेपाली भाषामा समास र विग्रह शिथिल छन् । तेस्रो विशेषता हो, नेपाली शब्दहरुको लेखनमा पद वियोगात्मक प्रवृत्ति छ । चौथो विशेषता हो, कम्प्युटर प्रविधिमा शब्द गणकले पद वियोगलाई सजिलो ठान्नु र गुगल अनुवादकले अनुदित नेपालीलाई पद वियोग गर्नु । व्याकरण र भाषाका उल्लिखित नियम र विशेषताहरुलाई एक ठाउँमा राख्दा नेपाली पदयोग र पद वियोगका बारेमा दुई नियम र चार वटा विशेषताहरु देखिन्छन् ।
पहिलो नियमले शब्द शब्दलाई पद वियोग गर्नु पर्छ भन्छ । शब्द शब्दलाई पद वियोग गर्ने हो भने समस्त शब्द, पूर्ण द्वित्व शब्द, नामयोगी र संयुक्त क्रियाहरु पद वियोग गरी लेखिन्छन् । किनभने यिनीहरु सबै शब्द हुन् । जस्तै- वीरेन्द वीर विक्रम, परशु नारायण, कीर्ति पुर, ललित पुर, नेपाल गन्ज, वीर गन्ज, कलम कलम, बन बन, अब उप्रान्त, भने बमोजिम, रोग सम्बन्धी, गयो गयो, बस्छ बस्छ, पढि सकेको, जाँदै छ, गरेको थियो, गरि सक्छ, हुनु हुन्छ आदि । दोस्रो नियमले विभक्तिपछिको शब्दलाई पद वियोग गर भनेको छ । यो दोस्रो नियम अनुसार “रामको गाईले रमेशको भाइलाई हान्यो” लेखिन्छ । यसरी पद वियोग गर्न कसैको विमति हुँदैन तर यस दोस्रो नियमलाई पहिलो नियमसँग गाँस्न लगियो भने शब्द शब्दको बिचमा विभक्ति नदेखेपछि पदयोग हुन्छ । पहिलो नियमले विभक्ति लागेको शब्दलाई पद मान्यो, विभक्ति नलागेकालाई शब्द मानेन । यसले गर्दा वीरेन्द्रवीरविक्रम, दाजुभाइ, कीर्तिपुर, रामनाथ, वीरगन्ज, दिदीबहिनी ललितपुर, रामप्रसाद, नेपालगन्ज मात्र होइन मनवचनकर्म, दलभातडुकु, अख्तियारदुरुपयोअनुसन्धानआयोग समेत पदयोग गरी लेख्न सकिने भयो । वास्तवमा पहिलो नियम अनुसार राम नाथ, कीर्ति पुर, ललित पुर, विराट नगर, मन, वचन र कर्म, शिक्षा मन्त्रालय, शिक्षा मन्त्री, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लेखिनु पथ्र्यो । तर बीचमा विभक्ति नदेखिएपछि छोटा जस्ता लाग्ने लघु समासलाई (कीर्तिपुर, रामनाथ, लोकमणि, शिक्षामन्त्री) पदयोग गरियो भने लामा जस्ता लाग्नेलाई (शिक्षा मन्त्रालय, लोक सेवा आयोग, अख्तियार दुरुपयोग निवारण आयोग, विराट नगर) पद वियोग गरियो । विमर्शबाट के निष्कर्ष निस्किन्छ भने संस्कृत र नेपाली व्याकरण शास्त्र अनुसार समस्त शब्द र बीचमा विभक्ति नभएका शब्दहरु समेत पदयोग गरिन्छन् । लामा समस्त शब्दलाई पदयोग नगरी प्रचलनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल राष्ट्र बैँक, काठमाडौँ उपत्यका सहरी विकास आयोजना आदि लेखेर पद वियोग गरेको देखिन्छ । यस्तो लेखन प्रचलनमाथि कसैले पनि विवाद उठाएको देखिन्न । तर छोटा शब्दको पदयोग र पद वियोगमा भने प्रयोग प्रचलनलाई बेवास्ता गरी विवाद उठाएको देखिन्छ । प्रयोग प्रचलन हेर्ने हो भने छोटा समस्त शब्दको पनि धेरै पद वियोग र थोरै पदयोग देखिन्छ । नेपाली भाषामा कुनै समस्त शब्दलाई पदयोग (छोटा समस्त शब्द) र कुनै समस्त शब्दलाई (लामा समस्त शब्द) पद वियोग गर्ने द्विमुखी र दोधारे व्याकरणिक नियम देखिएको छ । यस्तो दोधारे नियमको एउटा धारबाट हेर्दा पद वियोग लहडको विषय र अर्को धारबाट हेर्दा पदयोग लहडको विषय देखिन्छ ।
अब पद वियोगसँग सम्बन्धित पहिलो विशेषतादेखि चर्चाको थालनी गरौँ । नेपाली विभक्ति प्रधान भाषा होइन । संस्कृत भाषामा सु, औ, जस् आदि २१ वटा विभक्ति छन् । नेपालीमा ले, लाई बाट, देखि र मा गरी मुख्य पाँच वटा विभक्ति छन् । संस्कृतमा विशेषण शब्दमा पनि विभिक्त लाग्छ तर नेपालीमा भने नाममा बाहेक विशेषणमा विभक्ति लाग्दैन । वाक्यभित्रका शब्दमा पनि विभक्तिको उपस्थिति न्यून देखिन्छ । विशेषणको काम गर्ने शब्दमा विभक्ति नलाग्ने, वाक्यभित्र शब्दमा न्यून विभक्ति देखिने र सङ्ख्याले समेत संस्कृृतमा भन्दा चार गुना कम विभक्ति भएकाले नेपाली विभक्ति प्रधान भाषा होइन भन्ने पुष्टि हुन्छ । नेपाली भाषाको पद वियोगमा पाइने दोस्रो विशेषता समास र विग्रहको शिथिलता हो । नेपालीमा समस्त शब्द जस्तै अङ्ग्रेजी भाषा पनि संयुक्त शब्द छन् । त्यहाँ अर्थबोधका निम्ति विग्रहको आवाश्यकता पर्दैन । बीच बीचमा धन चिह्न दिएर शब्द निर्माण गरिन्छ । नेपालीमा संस्कृत जस्तो विभक्ति प्रधान भाषाको नक्कल गरी संस्कृत प्रभावित विग्रह गर्ने चलन स्थापित भयो । अहिले संस्कृतको जस्तो विग्रहको ढाँचामा भन्दा अङ्ग्रेजीको संयुक्त शब्दको ढाँचामा नेपाली समस्त शब्दको अर्थबोध गर्ने प्रचलन बढेको छ । प्रचलनले गर्दा नेपाली समास र विग्रह शिक्षक विद्यार्थीका कक्षाकोठामा मात्र सीमित छन् । यसलाई कम विद्यार्थीले परीक्षा कोठामा पुर्याउँछन् । परीक्षापछि कक्षाकोठाको समास र विग्रहलाई कसैले सम्झँदैन । यसरी सैद्धान्तिक र प्रयोग प्रचलनमा समेत नेपाली समास र विग्रहमा शिथिलता आएको छ । नेपाली पद वियोगको तेस्रो विशेषता हो – पद वियोगात्मक लेखन प्रवृत्ति । नेपाली राष्ट्रिय व्याकरणको हस्त लिखित ग्रन्थमा व्याकरणका गुरु सोमनाथ सिग्देलले पनि नेपाली भाषाको प्रयोग र प्रवृत्तिका आधारमा नियम बनाउनु पर्ने कुरामा जोड दिएका छन् । सिग्देलको भनाइ र पद वियोग सम्बन्धी लेखन प्रवृत्तिलाई हेर्दा नेपाली भाषाका सम्पूर्ण समस्त शब्दहरु (लामा वा छोटा) पद वियोग हुन्छन् । पद वियोग सम्बन्धी चौथो विशेषता हो, कम्प्युटरको शब्द गणक र गुगल अनुवादकले पद वियोग भएका शब्द खोज्नु । किनभने लेख वा कार्यपत्र आदिमा पद वियोग भएका शब्दको टाइप र गणना गर्न सजिलो देखिन्छ भने अनुवादकले त अङ्ग्रेजी भाषाको लेखलाई नेपाली भाषामा अनुवाद गर्दा पद वियोग गर्छ । त्यसैले समस्त शब्द, नामयोगी, पूर्ण द्वित्व र संयुक्त क्रियाहरुको पदयोग आवश्यक देखिन्छ ।
नेपालीमा लामा र छोटा समस्त शब्द छुट्याउने वस्तुगत आधार छैन । यो भनाइ नामयोगीमा समेत लागु हुन्छ । अनि हामीले भन्न थाल्यौँ – दाजुभाइ, वीरगन्ज, कीर्तिपुर, घरभित्र, भाइसँग आदि पदयोग, हुने दिदी बहिनी, नेपाल गन्ज, ललित पुर, अब उप्रान्त, घर मुन्तिर तिमी बाहेक किन पद वियोग हुने ? समास भएपछि लामा र छोटा शब्द किन भन्ने ? समास त समास नै हो । कि सबै जोड्नु पर्छ कि सबै छुट्याउनु पर्छ । अहिले छोटा शब्दको सङ्ख्या छोट्याएर सुधारिएका वर्ण विन्यासले पनि छोटा समस्त शब्द, छोटा नामयोगीलाई पदयोग गर्नु पर्छ भनी शास्त्रीयताको अँगालो हालेको छ भने लामा समस्त शब्दको सङ्ख्या बढाएर दिदी बहिनी, विराट नगर, शिक्षा मन्त्रालय, अब उप्रान्त, घर मुन्तिर तिमी बाहेक, घर घर, पढि सक्यो, देखि रहेको आदि लेखी पद वियोग गरेको छ । यस्तो गर्नुमा कसैले लहड देखे भने मन, वचन, कर्म तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग, शिक्षा मन्त्रालय जस्ता समस्त शब्दमा पद वियोग गर्दा लहड देखेनन् ।
गुगल अनुवादकमा प्रवेश गर्ने हो भने नेपाली विभक्ति पनि पद वियोग भएर आउँछन् । प्रविधिले त हामीलाई मुक्त शब्द र विभक्ति समेत पद वियोग गर्न अह्राएको छ । सायद हामी यस्तो पद वियोगमा पुग्न सक्दैनौँ किनभने लेखन परम्पराले सबै शब्द पद वियोग हुन दिँदैन र हामी केही वर्ष परम्परासँग बाँधिनु पनि पर्छ । अहिलेलाई सुधारिएका वर्ण विन्यास अनुसार पद वियोग गर्न सके कागतहीन, मसीहीन र कलमहीन हुँदै प्रविधि प्रयोगमा अग्रसर नयाँ पुस्तालाई नेपाली लेखन सजिलो हुने थियो । तर हामीले के बिर्सन हुँदैन भने नेपाली विभक्ति, समास, विग्रहमा आएको शिथिलता, पद वियोगात्मक लेखन प्रवृत्ति एवं कम्प्युटर प्रविधिका शब्द गणना र गुगल अनुवादक जस्ता कार्यले नेपाली भाषाका शब्द शब्दलाई पद वियोग गराउने छ र पदयोगले (डिकाले) एउटा शब्द बन्छ भन्ने धारणाको अन्त्य हुने छ ।
(लेखककै पद वियोगको प्रयोगअनुसार)
प्रकाशित मिति: सोमबार, कात्तिक २२, २०७३ १३:३८
प्रतिक्रिया दिनुहोस्