देश
काठमाडौं । अंग्रेजलाई तत्कालीन गोर्खाली सेनाले धुलो चटाएको सम्झनामा ऐतिहासिक सिन्धुलीगढीसम्म मंगलबारदेखि साइकल यात्रा हुने भएको छ ।
साइकल यात्रामा ७० जना व्यावसायिक साइकल यात्री सहभागी हुने आयोजकले सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । समृद्ध सिन्धुली नागरिक अभियानले स्टोरी साइकलसँगको सहकार्यमा काठमाडौंबाट साइकल यात्रा गर्ने भएको हो । ‘राइड टु सिन्धुली गढी’ नाम दिइएको साइकल यात्रा कात्तिक २३ र २४ गते काठमाडौं–धुलिखेलहुँदै जाने रमणीय वीपी राजमार्गमा हुनेछ ।
सिन्धुलीगढी वीर गोर्खालीले तत्कालीन ब्रिटीस कम्पनीको सेनालाई पराजित गरेको ऐतिहासिक स्थल हो । त्यहाँ हरेक वर्षको कात्तिक २४ गते तत्कालीन गोर्खाली सेनाले विजय हासिल गरेको सम्झनामा विजयोत्सव मनाउने गरिएको छ ।
आगामी वर्ष सिन्धुलीगढीमा गोर्खालीले अंग्रेजी सेनालाई हराएको २५० बर्ष पुग्दैछ । समृद्ध सिन्धुली नागरिक अभियानले त्यस उत्सवलाई वर्षैभरि विशेष कार्यक्रमहरु गरेर मनाउने योजना बनाएको छ । साइकल यात्रा त्यसैको सुरुआत भएको कार्यक्रम संयोजक सौरभ ढकालले पत्रकार सम्मेलनमा बताए ।
“‘साइकल यात्राको माध्यमबाट सिन्धुलीगढीलाई विश्वसामु परिचित गराउने हाम्रो उद्देश्य हो”, संयोजक ढकालले भने, “यस्तो साइकलयात्रा हरेक वर्ष गर्ने हाम्रो योजना छ ।’ ‘राइड टु सिन्धुलीगढी’ लाई ब्रान्डिङ गरेर हरेक बर्ष व्यवासायिक साइकलयात्रीलाई यस यात्रामा सहभागी गराउने समृद्ध सिन्धुली नागरिक अभियानले प्रयत्न गर्ने उत्सवको मिडिया कोअर्डिनेटर लीलानाथ घिमिरेले बताए ।
प्रकाशित मिति: आइतबार, कात्तिक २१, २०७३ १८:१३
प्रतिक्रिया दिनुहोस्