site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौं । सरकारको लगानी भएका तर लामो समयदेखि बन्द भएका झन्डै आधा दर्जन उद्योगले पुनः बौरिन थालेका छन् । नविन्द्रराज जोशी उद्योग मन्त्री भएपछि लामो समयदेखि बन्द भएका उद्योग धमाधम खुल्न थालेका हुन् । 
जोशीले मन्त्री भएर आउने वित्तिकै लामो समयदेखि बन्द भएको नेपाल औषधि लिमिटेडलाई सञ्चालनमा ल्याउन सफल भए । त्यस लगत्तै इमाडोलमा भएको ग्यासलाई उत्खनन् गरेर परीक्षण सञ्चालन समेत गरे । 
“सरकारले व्यापार गर्ने नभएर देशमा औद्योगिक वातावरण बनाउने हो । तर, औद्योगिक वातावरण बनाउन पनि बन्द भएका उद्योग खुल्नु जरुरी छ,” उद्योग मन्त्री नविन्द्रराज जोशीले भने, “सरकारी लगानीमा खुलेका उद्योग राम्रोसँग सञ्चालन भए अन्य लगानीकर्ता आउँछन् ।” 
उनका अनुसार सरकारले अहिले औषधि उद्योग सञ्चालमा ल्याइसकेको छ । बाँकी केही उद्योग निजी क्षेत्रसँग मिलेर सञ्चालनमा ल्याउनेसमेत तयारी गरिरहेको छ ।  
त्यसैगरी, लामो समयदेखि बन्द रहेको हेटौंडा कपडा उद्योग पनि सरकारी लगानीमै सञ्चालनमा ल्याउने सरकारको तयारी छ । केही दिन अघि उद्योग मन्त्रालयमा पत्रकारसम्मेलन गरेर मन्त्री जोशीले हेटौंडा कपडा उद्योग सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी मिलेर सञ्चालन गर्न लागेको जानकारी दिएका थिए । त्यसैगरी, उदयपुर सिमेन्ट उद्योग र हेटौंडा सिमेन्ट उद्योग पनि निकट भविष्यमै खोल्ने तयारी मन्त्रालयले गरेको छ । निजी क्षेत्रको सहभागितामा वीरगन्ज चिनी कारखाना, बुटवल धागो कारखानालगायत पनि सञ्चालनमा ल्याउने योजना छ । 
जोशी मन्त्री भएर आए लगत्तै सुरुमा बन्द सरकारी उद्योग खोल्ने बताएका थिए । त्यही अनुरुप औषधि लिमिटेडले दैनिक रुपमा औषधि उत्पादन गर्नसमेत थालिसकेको छ । 
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले सरकारले उद्योग धन्दा चलाउने भन्दा पनि उद्योग धन्दा चल्न सक्ने वातावरण बनाउनतर्फ लाग्नुपर्ने बताए । “सरकारले उद्योगधन्दा चलाउने युग विश्वमै अन्त्य भएको छ,” उनले भने, “अब निजी क्षेत्रले उद्योगधन्दा चलाउने र त्यसको संरक्षण गर्ने काम राज्यले गर्नुपर्छ ।” 
सरकारले निजीक्षेत्रलाई लगानी गर्ने वातावरण बनाउनु पर्ने उनको भनाइ छ । “सरकार नियामक निकाय हो,” उनले भने, “नियामक निकायले जे गर्नुपर्ने हो त्यही गर्नुपर्छ ।”
पूर्व अर्थमन्त्री रामशरण महतले सरकार आफैले व्यवस्थापकीय जिम्मेवारी लिएर उद्योगधन्दा चलाउन नहुने बताए । “कसैले व्यवस्थापकीय जिम्मेवारी लिएर उद्योग सञ्चालन गर्छ भने, त्यो अत्यन्तै राम्रो कुरा हो,” उनले बाह्रखरीसँग भने, “मेरा पालामा पनि निजी क्षेत्रलाई आह्वान गरेको हो कोही आएन । अहिले कोही निजी क्षेत्र आएर बन्द उद्योग चलाउँछ भने त्यो स्वागतयोग्य कुरा हो ।” 
सरकार आफैले लगानी गर्ने र व्यवस्थापकीय जिम्मेवारी लिएर उद्योग सञ्चालन गर्नु नहुने उनको भनाइ छ । यदि सरकारले लगानी गरेर उद्योग चलायो भने, कार्यकर्ता भर्ना गर्ने ठाउँ भन्दा अरु केही उपलब्धी नहुने महतको भनाइ छ । 
“अहिले बुटवल धागो कारखानालाई लिजमा दिएर चलाउने भन्ने मैले सुनेको छु,” महतले भने, “लिजमा लिएर निजी क्षेत्रले चलाए एकदमै राम्रो हुन्छ ।” औषधि लिमिटेडको पनि व्यवस्थापकीय जिम्मेवारी निजी क्षेत्रले लिने उनको भनाइ छ । 
उद्योग मन्त्री जोशीले नेपाल औषधि लिमिटेडलाई अहिले सरकारले सञ्चालन गरेको भए पनि पछि निजी क्षेत्रले त्यसको व्यवस्थापकीय जिम्मेवारी लिने जानकारी दिए । त्यसैगरी, बुटवल धागो र बीरगन्ज चिनी कारखाना पनि खुला प्रतिस्पर्धाबाट निजी क्षेत्रलाई सहभागी गराउने उनले जानकारी दिए । 
नेपाल उद्योग वाणिज्य महासंघकी बरिष्ठ उपाध्यक्ष भवानी राणाले बन्द भएका उद्योग चलाउनु सकारात्मक भएको बताइन् । “बन्द भएका उद्योग खुल्नु भनेको लगानीको वातावरण बन्दै जानु पनि हो,” उनले भनिन्, “ति उद्योगमा सरकारका साथै निजी क्षेत्रलाई पनि सहभागी गराउनु पर्छ ।”
धेरैजसो उद्योगमा निजी क्षेत्रलाई पनि सहभागी गराउने सरकारले तयारी गरेको उनले बताइन् । कतिपय उद्योग निजी क्षेत्रले लिजमा लिएर चलाउने तयारी पनि थालेका छन् । त्यसैगरी कतिपय उद्योग पीपीपी मोडलमा समेत सञ्चालन गर्नेबारेमा सरकारसँग छलफल भएको उनको भनाइ छ । 
निजी क्षेत्रले लिजमा लिएर उद्योग सञ्चालन गर्दा सरकारी उद्योगलाई सरह सुविधा दिनुपर्ने उनका भनाइ छ । “हामीले सरकारसँग रुग्ण उद्योगलाई सुविधाको माग गरेका छौं, यदि उक्त सुविधा पाए बन्द भएका उद्योग सञ्चालन गर्न निजी क्षेत्र आउँछन्,” उनले भनिन् । 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १९, २०७३  ११:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro