पुनर्निर्माण
भक्तपुर । भक्तपुरका भूकम्प प्रभावितलाई तिहारपछि मात्रै अनुदान रकम वितरण गरिने भएको छ ।
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना इकाइ कार्यालयले स्थानीय निकायमार्फत भूकम्प प्रभावितलाई पहिलो किस्ताबापतको रु ५० हजार तिहारपछि मात्रै वितरण गरिने भएको हो ।
कम्पीय आवास पुनर्निर्माण परियोजना, जिल्ला आयोजना कार्यान्वयन समितिका संयोजक एवम् स्थानीय विकास अधिकारी ध्रुप्रसाद कोइरालाले लाभग्राहीको अन्तिम नामावली आउने क्रम जारी रहेकाले तिहार अगाडि अनुदान वितरण गर्न नसकिएको बताए । उनले भने, “शुक्रबारसम्म लाभग्राहीको अन्तिम नामावली आइपुग्छ, दाबी विरोध गर्नेसहितको एकसाताको म्याद सकिएलगत्तै अनुदान वितरण गर्छौँ ।”
तिहारलगत्तै जिल्लाका छ वटै नगरपालिकाकाको वडा कार्यालयमा नामावली टाँसेपछि त्यसको एकसातामै वडा कार्यालयबाट अनुदान वितरण गरिने भएको छ । भक्तपुरमा अहिलेसम्म २४ हजार ९०२ जना भूकम्प प्रभावितको पहिचान भएको समितिका उपसंयोजक दीपक पाठकले जानकारी दिए ।
यसमध्ये भक्तपुर नगरपालिकामा छ हजार ८८८, नगरकोट नगरपालिकामा चार हजार ९१९, अनन्तलिङ्गेश्वर नगरपालिकामा तीन हजार ५४, चाँगु नगरपालिकामा पाँच हजार २८४, सूर्यविनायक नगरपालिकामा तीन हजार ६१७ र मध्यपुरथिमि नगरपालिकामा एक हजार १४० जना लाभग्राहीको पहिचान भएको छ। रासस
प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७३ १९:०४
प्रतिक्रिया दिनुहोस्