अर्थ व्यवसाय
काठमाडौं । जाडो मौसम सुरु भएसँगै अत्यधिक मात्रामा पेट्रोलियम पदार्थ खपत हुने बेलामा नेपाल आयल निगमको स्टक भने झन्डै ७० प्रतिशत घटेको छ ।
निगमले उपलब्ध गराएको तथ्यांकअनुसार देशभर ७१ हजार ६ सय ३ किलोलिटर पेट्रोलियम पदार्थ स्टक हुनुपर्ने भए पनि हाल २७ हजार ३ सय ६८ किलोलिटर पेट्रोलियम पदार्थमात्रै डिपोमा छ ।
डिपोमा बस्ने कर्मचारीले स्टक नबढाउने र भारतीय आयल कर्पोरेसनबाट आएका पेट्रोलियम पदार्थको गाडी सिधै पम्पमा ‘डाइभर्ट’ गरेकाले स्टक नबढेको हो ।
तथ्यांकअनुसार विराटनगरमा ११ हजार ९ सय २० किलोलिटर पेट्रोलियम पदार्थ स्टक हुनुपर्नेमा हाल ३ हजार ५ सय ७ किलोलिटरमात्रै स्टक छ, जुन एकदमै कम हो । जनकपुरमा २ सय ४० किलोलिटर अट्ने भण्डारण क्षमता भए पनि १ सय २८ किलोलिटरमात्र छ ।
त्यसैगरी अमलेखगन्ज डिपोमा हाल १० हजार ७ सय ६३ किलोलिटरमात्रै स्टक छ । जबकि अमलेखगन्ज डिपोमा २३ हजार २ सय ३० किलोलिटर पेट्रोलियम पदार्थ भण्डारण गर्न सकिन्छ ।
त्यसैगरी, काठमाडौंमा हाल ६ हजार ५८ किलोलिटरमात्रै स्टक छ, जबकि काठमाडौंमा २२ हजार ८ सय ७० किलोलिटर पेट्रोलियम पदार्थ स्टक गर्न सकिन्छ ।
पोखरामा ३ हजार ४ सय ५४ किलोलिटर पेट्रोलियम पदार्थ अट्ने क्षमता छ । तर, हाल १ हजार ४ सय ८९ किलोलिटरमात्रै स्टक राखेको छ । त्यसैगरी, भैरहवामा पनि स्टक अत्यन्तै कम रहेको निगमको तथ्यांकमा उल्लेख छ । भैरहवामा ३ हजार ६ सय ४४ किलोलिटर अट्ने भए पनि हालसम्म २ हजार ७ सय ४६ किलोलिटरमात्रै पेट्रोलियम पदार्थ स्टक रहेको देखिन्छ ।
नेपालगन्जमा पनि क्षमताको झन्डै आधा कम स्टक रहेको देखिन्छ । ३ हजार ४ सय ८० किलोलिटर अट्ने क्षमता भए पनि १ हजार ९ सय ५८ किलोलिटर पेट्रोलियम पदार्थ रहेको छ । त्यसैगरी अन्य डिपोमा पनि पेट्रोलियम पदार्थको स्टक ज्यादै कम भएको छ ।
जाडो मौसममा पेट्रोलियम पदार्थको खपत बढ्ने भए पनि सरकारले आफूसँग भएको स्टक पूर्ण रूपमा राख्न सकेको छैन । अहिले भएको स्टकले देशको मागलाई एक हप्ता पनि पुग्दैन ।
प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७३ १२:४०
प्रतिक्रिया दिनुहोस्