पुनर्निर्माण
काठमाडौं । भूकम्पले क्षतिग्रस्त ऐतिहासिक महत्वका सम्पदाको पुनःनिर्माण कार्य द्रुत गतिमा अगाडि बढिरहेको पुरातत्व विभागले बताएको छ ।
विश्व सम्पदामा सूचीकृत बौद्धनाथ चैत्य गुम्बाको जिर्णोद्वार सम्पन्न भइसकेको छ । बौद्धनाथ क्षेत्र विकास समितिले करिब २२ करोड रुपैयाँको लागतमा जिर्णोद्वार सम्पन्न गरेको बौद्धनाथ विकास समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले जानकारी दिए । सरकारको प्राविधिक सहयोग तथा विभिन्न संघसंस्थाको आर्थिक सहयोगमा गुम्बाको पुनःनिर्माण भएको हो । चैत्यको माथि सजाइराखेको पताकामा सुनको मोलम्बासमेत राखिएको छ ।
पूर्ण रूपले क्षतिग्रस्त १ सय ५० वटा सम्पदामध्ये ८० वटा सम्पदा पुनःनिर्माणका लागि टेन्डरको प्रक्रियामा रहेको पुरातत्व विभागका सूचना अधिकारी दामोदर गौतमले जानकारी दिए ।
उपत्यका र बाहिर जिल्लाका पूर्ण रूपले क्षतिग्रस्त सम्पदाको एक महिनाभित्र टेन्डर आह्वान गरेर तत्काल पुनःनिर्माण प्रक्रिया थाल्ने उनको भनाइ छ ।
आदिनाथको मन्दिर चोभार, खाँडादेवी मन्दिर रामेछाप, कुशेश्वर महादेव, यज्ञशाला मन्दिर सिन्धुलीलगायत मन्दिरको पुनःनिर्माणका लागि डिजाइनसमेत तयार भइसकेको पुरातत्व विभागका इन्जिनियर सम्पत घिमिरेले बताए । उनका अनुसार गत वर्ष ४८ वर्ष वटा सम्पदा पुनःनिर्माण कार्य सुरु भइसकेको छ ।
विभागका प्रवक्ता राम कुँवरका अनुसार अहिलेसम्म साना–ठूला गरेर ७ सय ५३ वटा ऐतिहासिक सम्पदाहरू क्षति भएको छ । तीमध्ये काठमाडौंमा २ सय ५०, पाटनमा १ सय ३० र भक्तपुरमा ७८ वटा छन् ।
सरकारी पहलमा सम्पदा पुनःनिर्माण
सरकारले अधिकांश क्षतिग्रस्त सम्पदा आफ्नै पहलमा निर्माण गर्ने भएको छ । नेपाली ऐतिहासिक महत्व बोकेका सम्पदाको अस्तित्व जोगाइराख्न सरकारले आफ्नै पहलमा निर्माण गर्न लागेको हो । सम्पदा निर्माणका लागि सरकारले बजेटसमेत छुट्याइसकेको छ ।
पुरातत्व विभागले २ अर्ब माग गरेकोमा ५० करोड निकासा भइसकेको छ । भने एक अर्बको कार्यक्रम स्वीकृत भइसकेको विभागले जनाएको छ ।
विदेशी चासो
नेपाली सम्पदा पुनःनिमार्णका लागि विदेशीले पनि चासो देखाएको विभागका एक कर्मचारीले बताए । भूकम्पले क्षतिग्रस्त सम्पदा निर्माणका लागि चीन, भारत, जर्मनी, श्रीलंका तथा अमेरिका सरकारले चासो देखाएका छन् । भारतले बढी चासो देखाएको छ । विभागका प्रवक्ता कुँवरका अनुसार भारतले उपत्यका र बाहिर जिल्लाका २२ वटा सम्पदाहरू बनाइदिने भनेको छ । भारतले बुङ्गमती, खोकना क्षेत्रका सम्पदा, जेष्ठवर्ण महाविहार, हेलम्बु तथा मेलम्चीका केही गुम्बा भारतले बनाइदिने भएको विभागले जनाएको छ ।
सम्पदा पुनःनिर्माणका लागि विदेशी तथा अन्य गैरसरकारी संस्थाले पनि चासो देखाएका छन् । अनुसन्धान तथा अन्वेषक संस्थाहरूले सम्पदाहरूको अध्ययन गर्ने सम्झौता गरेको विश्व सम्पदा अनुसन्धान अधिकृत मोहन सिंह लामाले बताए । उनका अनुसार वसन्तपुरमा रहेको नौतले दरबार र नुवाकोटको सात तले दरबार निर्माणका लागि चीन सरकारले नेपाल सरकारसँग सम्झौता गरिसकेको छ । त्यसैगरी कार्यविनायक नगरपालिकामा रहेको रातो मच्छिन्द्रनाथको मन्दिर र स्वयम्भूस्थित आनन्दकुटी विहार बनाउन श्रीलंका सरकार तयार भइसकेको छ । हनुमानढोकाको गद्दि बैठक अमेरिकी संस्था मियामोतो फाउन्डेसनले बनाउने सम्झौताको प्रक्रियामा छ । हनुमानढोकाको हाइना र स्वयम्भूको शान्किुटी बिहार युनेस्कोले बनाइदिने भएको छ ।
बौद्ध स्तुपा निर्माणमा थुप्रै देशको सहयोग छ । चाँगुनारायण परिसर लोबल हेरिटेज फन्डको सहयोगमा हेरिटेज एन्ड इन्भायरमेन्ट कन्जर्भेसनले बनाइदिने भएको छ । त्यसैगरी पाटन केभिपिटी, भक्तपुरको कला संग्रहालयको पुजारी बैठक जर्मन संस्था केएलडब्लुले बनाउने सम्झौताको प्रक्रियामा छ । ६ वटा सम्पदा सम्पदा पुनःनिर्माणका लागि सम्झौता हुने प्रक्रियामा छन् ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७३ ११:०९
प्रतिक्रिया दिनुहोस्