ब्लग
सामाजिक सञ्जालमा नजर घुमाउने हो भने ‘पब’ गएकोदेखि कक्षाकोठामा 'बोर' भएकोसम्मको स्टाटस फेसबुकमा देख्न सकिन्छ । अनि फेसबुक र ट्वीटरमा ‘ह्यापी आवर’ मा राखिएका फोटाबाट कसैको सु:खको वा दुःखको मापन हुने गर्छ । ग्रीनकार्ड पाएर अमेरिकाको रैथाने भएर बस्ने मौका पाउँदा पनि केहीमा खुसी र केहीमा विस्मातका कथा मिडियामा छचल्किरहँदा कतार, ओमान गएर ४०-४५ डिग्रीको घाममा महिनाको १०-१५ हजारमा सन्तुष्ट हुनुपर्ने बाध्यता पनि देखिएकै छ । बेरोजगारी बढ्दो छ र त्रिभुवन विमानस्थलको 'प्रस्थान' तिर आँखा डुलाउँदा खाडी जाने श्रमिक दाजुभाइको लामो लाम देख्दा मनै कुँडिन्छ । थोत्रा झोला अनि लाखौं ऋण काँधमा बोकेर जब माइला दाइ बिदा हुन्छन् तब गहभर आँसु पारेर बूढा आमाबाबुले हात हल्लाएको दृश्य देख्दा कसको पो मन थामिएला र ?
पढेलेखेकालाई अमेरिका, युरोप केही अवसर र केही फेसन भएको छ भने धेरै नपढेकालाई खाडी गएर सस्तो कामदार बन्नु केही देखासिकी र बढी नियति बनेको छ । धान फल्ने खेत बाँझै राखेर, भर्खरै बैँसमा पाइला टेक्दै गरेकी पत्नी र दाउराको धुँवामा चुल्होमा आगो फुक्दाफुक्दा दम लागेकी आमालाई छोडेर जाने रहर कसको पो हुन्छ र ? गाउँघर अहिले रित्तै छ । 'जीउँदाको जन्ती र मर्दाको मलामी' भन्ने उखान त छ तर न बिहामा जन्ती बटुल्न सक्ने अवस्था छ न मर्दा मलामी भेला पार्नै सकिन्छ । समाज कसरी बिटुलिँदै गएको छ भने घरैपिच्छे एक जना विदेश बाहिर जानै पर्ने अघोषित नियमजस्तो बनेको छ । मोबाइल, क्यामरा र ल्यापटपजस्ता भौतिक सामग्रीले हामीलाई यसरी गाँजेको छ मानौं परदेशबाट फर्किँदा हाम्रा झोला यस्ता वस्तुबाट भरिभराउ भएनन् भने हाम्रो प्रतिष्ठा नै संकटमा पर्छ । आफू खाडीमा दिनको दस घन्टा घोटिने अनि घर फर्कदा पत्नी आर्कैकी भइसकेकी उदाहरण पनि कैयौ छन् । अचानोको पीर खुकुरीलाई के थाहा ? आकाशै खस्दा पनि माइला दाइले आँसु पिएर बस्नै पर्यो । हाम्रो समाज बडो तीव्र गतिमा बदलिइरहेको छ बृहत्तर भलाइका लागि हो कि सम्भाव्य दुर्घटनाका लागि के थाहा ? शिक्षा र स्वास्थ्यको लागि मोफसलबाट काठमाडौं ओइरिने क्रम बढ्दो छ । यही क्रमसँगै सहरमा अवस्थित युवामा भने विकसित देश हानिदै छन् । विदेश पुगेपछि यहाँ हुँदा ‘अमलेट’ बनाउन गाह्रध हुने मान्छेलाई त्यहाँ काम, माम र हातमा सर्टिफिकेटको जोहो गर्नुपर्दाको सङ्घर्ष कसले कसलाई सुनाउनु र ? मनको वह कसैलाई नकह !
कहाँ जाने र केका लागि सङ्घर्ष गर्ने भन्ने विकल्प छान्ने अधिकार व्यक्तिमा निहित छ र कोही गलत पनि छैनन् । कसैले आफ्नो भविष्य सधैं सङ्क्रमणकालमा रहेको देशमा नभई कुनै विकसित देशमा देख्छ भने उसका ती व्यक्तिगत निर्णय हुन् । विदेशमा बसेको कुनै नागरिकबाट राज्यले आफ्नो र देशको शिर पनि केही मात्रामा उँचो पारोस् भन्नेसम्म अपेक्षा चाहिँ गर्नसक्छ । अन्यथा, त्यो पनि सकिँदैन भने कमसेकम झुकाउने काम चाहिँ नगरोस् । उदाहरण हेर्न टाढा जानु पर्दैन । हाम्रो दक्षिणको छिमेकी राष्ट्रका भारतीय मूलका विदेशी अहिले विश्वका प्रत्येक कुनामा छन् । भारतीयहरू केमा छैनन् ? ठूला युनिभर्सिटीमा, रेस्टुराँ व्यवसायमा, खेलमा, राजनीतिमा? कुन क्षेत्रमा छैनन् र कहाँ छैनन् ? नेपालीबाट त्यही आश गर्न सकिएला, नसकिएला तर केही प्रभावशाली पद र क्षेत्रमा नेपाली पनि खुड्किला चढ्दैछन् र त्यसले दस्र्घकालीनरूपमा नेपाललाई फाइदै पुर्याउला भन्ने आशा राखौ । आखिरमा राष्ट्रको पनि कर्तव्य होला विदेशिँदै गरेका नागरिकलाई रोक्ने वातावरण बनाउन । उज्ज्वल भविष्य र पूर्वाधारका आश्वाशन दिएर विदेशिँदै गरेका पाइलाहरू थामिन सक्ने वातावरण बनाउनु त राज्यको पनि कर्तव्य होला नि !
गर्नेलाई नेपाल पनि स्वर्गै छ । जसले यहाँ भविष्य देखेको छ,जसलाई यही माटोमा केही गर्छु भन्ने विश्वास छ अथवा एउटा सामान्य जीन्दगी दुई छाक टारेर छोराछोरीको मुखमा माड लाउन पाउनुमा सुख ठानेको छ उसले नेपालमा पनि भविष्य देख्न सक्छ । के तिनलाई सुखी नमान्ने र ? तिनीहरू पनि त सुखी नै हुन् । राष्ट्रमा राजनीतिका थरीथरी बाजा बजिरहँदा ठेलावाला,रिक्सावाला पनि गहिरो निन्द्रा सुतेकै छन् । कसैलाई म्याडिसन स्क्वायरभन्दा गाउँको चौतारो मनपर्ला, ज्याक ड्यानियल्सको ह्विस्कीभन्दा सुन्तलीको भट्टीको तीनपाने मनपर्ला, ती पनि खराब स्वाद रुचाउने मान्छे त पक्कै होइनन् होला । खाडीको मरूभूमिमा ऊँटको गोठालो बनेर कोही रियाल गन्दै छ भने कतिपयले इलामको पाखामा अलैँची फलाएर नेपाली नोट पनि गन्दै छन् ।
मन बडो गजबको छ । मनले चाहेअनुसार दलिललाई जन्म दिन्छ । आत्माले चाहेको कुरा, एउटा जीवन नै किन व्यतित नहोस्, मान्छेले पूरा गर्छ । मुलुकको राजनीति एवं परिस्थिति जटिल मोडहरूबाट गुज्रिरहँदा कसैले कसैलाई सुझाव दिनसक्ने अवस्था छैन । अकल्पनीय घटनाक्रम दुवै राम्रो र नराम्रो अर्थमा हुनसक्ने सम्भावना प्रशस्तै छन् । जटिल मोडमा मुलुक रहिरहँदा विदेशिने वातावरण बन्नु स्वाभाविक हो तथापि देशमै बसेर केही गर्छु भन्नेको सङ्ख्या पनि कम छैन । जसरी नेपाल बस्ने प्रत्येक नागरिक देशकै माया लागेरमात्र बसेका होइनन् होला । त्यसैगरी, बाहिर विदेशिएकाले पनि देशको माया मारेर विदेशिएका पक्कै होइनन् । यी त समुद्रमा छाल आउँदा किनारमा रहेका ढुङ्गाजस्ता मात्रै हुन्, हुत्तिएर अलि पर पुग्यामात्र हुन् । नदीमा पानी बढेपछि यी पक्कै पनि समुद्रमै समाहित हुने नै छन् । समय र परिस्थितिको खेल हो, चीन, कोरिया कहाँ पुगे हामी पुरानै आवरणमा छौं । हाम्रो भोटो फाटेकै छ । अनि हाम्रा सपना सपनामै सीमित छन् । विकसित देश भएको भए हामी पनि आप्रवासी समस्याका लेख पढ्न पाउँथ्यौं होला तर अहिले विदेशिएकाका कथा नै सही ।
नेपाली भूमिमा होस् कि विदेशी भूमिमा जहाँ गएर पनि सङ्घर्ष त असम्भावी छ। हामीले खोजेको त काम गरेर खान पाउने वातावरण, कामको मूल्याङ्कन र गुणस्तरीय जीवन न हो । विकास एउटा क्रमिक प्रक्रिया हो र हरदम अगाडि बढिरहने मानवीय स्वभाव हो । मान्छेलाई हिँड्दाहिँड्दै थकाइ लाग्यो होला र न पाङ्ग्रा र साइकलको विकास भयो होला । थोमस एडिसनलाई अँध्यारोले गिज्यायो होला र न बत्तीको आविष्कार भयो । मानव सभ्यताको विकाससँगै यसका आवश्यकता र सपनाको आकारप्रकारमा पनि बदलाव आउँदै जान्छ । आँधी रोकेर नरोकिँएजस्तै गरी परिवर्तन एउटा प्राकृतिक कुरा हो र विश्व नै एउटा गाँउ बनिरहेको परिवेशमा मान्छे विकास, सुविधा र सम्पन्नतातिर आकर्षित हुन कुनै आश्चर्य होइन । कोरिया जाने युवाको लाम यत्तिकै लागेको होइन होला, त्यसमा पनि कति बाध्यता होला, कति रहर होला । स्वदेशमा कसैले अवसर देख्दैन, आफूले आँखा गढ्ने गरी पढेर आर्जन गरेको सर्टिफिकेटको अर्थ नै देख्दैन भने अवश्य पनि उसले विकल्प हेर्छ । त्यस्तै खाल्डोबाट उक्लिएर कसैलाई संसार हेर्ने र घुम्ने इच्छा छ भने त्यसलाई फरक ढङ्गले हेरिनु हुँदैन । संभव हुनेले स्वदेशमै वृत्ति विकास गर्लान् अनि नहुनेले विदेशमा । सबैले प्रगति भने अवश्य गर्लान् ।
जीन्दगीलाई खण्डमाभन्दा समष्टिमा हेर्नसक्नु जरुरी छ । पैसा धेरै थोक भए पनि सबै थोक होइन । जीवनको उत्तरार्धमा पुगेपछि मान्छेले आफ्नो समय फुलेका कपालमा कालो लाएरमात्र बिताउँदैन । बरु, जीन्दगीलाई फर्केर पनि हेर्छ । त्यतिखेर उसलाई आफूले जीन्दगीभर कमाएको धनभन्दा आफना नातिनातिनाको कलिलो हात छुँदाको क्षण सार्थक लाग्छ । कहाँ जाने र के गर्ने भन्ने रनभुल्लमा परेकाले पनि आफ्नो प्रश्नको उत्तर कोही अन्जान व्यक्तिको कहानी र भोगाइमा भन्दा आफ्नै मनको गहिरो कुनामा भेट्नेछन् । भोगाइको गहिराइमा र दृष्टिकोणको चौडाइमा नियाल्दा सायद तिनले जीवन देख्नेछन् ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७३ १०:१२
प्रतिक्रिया दिनुहोस्