ब्लग
सडक पेटी, चोक, चौडारा, बाटोघाटो, गौँडागल्छेडामा ओहरदोहर गर्नेको भिड छिचोलिनसक्नु छ । सबै उस्तै हतारमा देखिन्छन् । कहाँ जान हतारिएका होलान् मानिसहरू यति धेरै ? किन यसरी ठेलमठेल गर्दैछन् उनीहरू ? कुइनोले घचेटेर अर्कोलाई आफू अघि जान किन हतारिँदैछन् मान्छेहरु ? उत्तर आफैसँग छ । दसैँले छोपिसक्यो नि त !
अब बेलैमा नहिँडे छुट्छ मुढामा पुठो अड्याएर जाने रात्रि बस पनि । छुट्छन् साथीसहेली पनि । अनि पुग्नुपर्ने ठाँउमा मन पुगिसके पनि तन यतै छुट्छ । त्यसैले अब आत्तिनै पर्छ । देशैभर दसैँले ढपक्कै छोपेको छ । मान्छे अजीवको प्राणी हो । उसको मनमा सबै कुराको रूप र बान्की बनेको र बसेको हुन्छ ।
मान्छे मौसमी जात हो । बदलिइरहने ऋतुसँगै बदलिन खोज्छ । शरदकालमा शरद नै सुन्दर हुन्छ । उसले वसन्त सम्झनै मन गर्दैन ।
शरदको बर्को ओढेर याम किसानको फाँटमा हुनेबेला, बारीमा फूल खेल्दै गरेको कोदो अनि फाँटमा पसाउँदै गरेको धानको सुवास नाकका पोरा हुँदै किसानको आँतसम्म छिचोल्ने बेला, दिन गनेर धानका बाला झुत्ती परेर निहुरिने बेला, बर्खा किसानको अघि मंसिर बनेर नतमस्तक हुने बेला, दसैँ आउँछ भन्ने हामीलाई उहिल्यैदेखि थाहा छ ।
सधैँ उदाउने घाम ठाँउ फेरेर कोल्टोपट्टि उदाउन थाल्यो भने पात्रो नहेरे पनि थाहा हुन्छ हामीलाई यति बेला दसैँ आउँछ भनेर । छतको गमलामा त फूल जहिले पनि फुल्छ तर मौसम आफैँले बाटो छेउछाउ अनि बारीका कान्ला र भिरमा फूल फुलाउन थालेपछि, मध्यान्हको घामले पोल्न छोडेर लठ्ठाउन थालेपछि यही रमाइलो याममा दसैँ हुनुपर्छ भन्ने हाम्रो मनमा गहिरो छाप छ ।
दसैँ भन्नेबित्तिकै सबै कुरा चत्रक्क छोडेर बालापनको रमाइलो सम्झिन्छ मान्छे । एकपछि अर्को गर्दै मनमा टाँसिएर रहेका पुराना दसैँ तस्बिर झझल्किन्छन् । टीका, जमरा, आशिर्वाद यी त औपचारिकता हुन् । दसैँभित्रका रंगीन चित्र फरक छन् । दसैँमा मुग्लानबाट छोरो आउने आशमा रातदिन भिरकुनोमा आँखा दौडाइरहने बुढी आमै, अनि त्यही बालापन संझेर तिनै वा आमा संझेर त्यही जन्मे हुर्केको माटो, बाटो, आँटो संझेर आफनै गुँढ फर्किने परदेशी ।
पर्खाइको कठिन समयलाई घन्टाघन्टामा छिचोलेर ऊ आउने आशामा दसैँ कुरेका उनीहरूको संगम समय । एउटै थालमा खाएर चुठेका दामलीहरू चारचौरासमा रहे पनि त्यही समय ऐनाको तस्बिर मनमा बोकेर एकै ठाँउमा हुन मन रमाउने चाड । छुटेका आफन्त छिमेक र नालनातालाई जोड्ने एउटा सम्बन्ध सेतु । यसै त्यसै बडादसैँ भनिएको होइन दसैँलाई ।
पक्कै त्यही संझेर हतारिएका हुन् मानिसहरू । कतै छुटिहाल्ला कि त्यही समय भनेर उनीहरू आत्तिएका हुनुपर्छ । त्यही भएर उनीहरू हतारमा छन् ।
मिठो खानु र लाउनु त दोस्रो कुरा हो । खसी काटेर खुसी को भा'छ र दुनियामा ? बडादसैँलाई खसीसँग जोड्नु गलत हो । खुसी धन पैसाले किनिने भए संसारको खुस नै धन हुनेको भइसक्थ्यो । चाडलाई धनसँग दाँजियो भने दसैँ महिमा कमजोर हुन्छ । आफ्नो परिवार आफन्त एउटै मझेरीमा सँगै बस्दा हाँस्दा र मन साँट्दाको मोल कति होला ? त्यो अनमोल छ । त्यही हो दसैँ र त्यही हो खुसी !
आस्था, श्रद्धा, विश्वास र एकताको सूत्र हो दसैँ । धार्मिक आस्थाको स्तम्भमा सामाजिक र सांस्कृतिक महिमाको बलियो दलिन टेकाएर हामीलाई हामी हुन सिकाएको छ दसैँले । अनि जोगाएकोछ संस्कार चोइटिएर छिन्नभिन्न हुनबाट ।
परदेशमा भएकाहरू यही बला बिछट्ट आत्तिन्छन् । जहाँ जुन भौतिक सम्पन्नताको टलकमा भए पनि यो बेला बाआमाकै काख, त्यही आँगन, अनि त्यही आफूले नाघेको संघार खोज्छ मन । दसैँ आइसक्दा चौतारीको आँपको हाँगामा मच्चिएको पिङको एक सर्को, अनि सिंगारिएको चोटाचौका र दसैँलाई भनेर अलिअलि सम्माएका गोरेटो र डोरेटो बाटोको गन्ध खोज्छ मन ।
यतिबेला मौममले नै दसैँको अत्तर फालेको हुन्छ जताततै । यसरी सबैतिर कस्तुरीको बिना बसाएजस्तै दसैँको सुगन्ध बसाइरहँदा त्यही समय छोप्न नसक्दा परदेश दुखिरहेको हुन्छ यतिखेर । संभावना हुनेहरू मिल्नेसम्म मिलाएर फर्किन्छन् मिसिन्छन् । फर्किन नसक्नेहररू समाल्दा पनि नसमेलिने मन यतै पठाएर, सबै ध्यान यतै पठाएर, ज्यानमात्र न उता हुन्छ ।
गाउँ नै हाम्रो देश हो र गाउँमै छ दसैँ पनि । त्यसैले देश दसैँ मनाउन गाउँ जाँदैछ । शून्य सरी बनेको गाउँले अब एकपटक झर्लक्क रूप फेर्नेछ । आफनो खान्की र बान्की फेर्नेछ । चालढाल फेर्नेछ । त्यसैले बाटोमा हतारमा देखिने मान्छेहरू सहर रित्तो बनाउन हतारिइरहेका हुन् । जागिरबाट, पढाइबाट अनि आफनो पेसाबाट मिलाउन मिल्ने जति समय, चेप्न मिल्ने जति समय चेपेर काखमा आफ्ना भन्टाङ्गभुन्टुङ्ग दसैँ मनाउन गाउँ पस्तैछ सहर । सहरसँग जोडिएका, छोइएका र अल्झेका रहरहरू अथवा बाध्यताले सिर्जेका सपनाहरू थान्को लगाएर अब सहर काटेको टिकटमा अडेस लाउन नपाए पनि मुडामा आफूलाई अडाएर फर्किँदैछ आफु खसेको संघारमा, आफूले टेकेको माटोमा, अनि उभिन सिकेको आफ्नै आँगनमा ।।
waglebandhu@gmail.com
प्रकाशित मिति: बिहीबार, असोज २०, २०७३ १५:२९
प्रतिक्रिया दिनुहोस्