विशेष
काठमाडौं । विदेशी भूमिमा उच्च शिक्षा लिएर ग्राजुएट भएका युवा करियर खोज्न राजनीतिक अस्थिरता, अराजकता र अभावले थिलथिलो भएको नेपाल फर्किन हुन्छ या हुँदैन भन्नेबीचको वैचारिक द्वन्द्व नै नेपाली कथानक चलचित्र ‘सफर’को केन्द्रीय कथा हो । ‘सफर’मा देखाइएको प्रेम कहानी भने चलचित्रलाई व्यावसायिकता दिन साधनमा रूपमा आएको गौण कथामात्रै हो ।
‘सफर’ उच्च शिक्षा अध्ययनका लागि अमेरिका गएका चार युवा गौरव, सुमन, रोहित र अनन्या (सञ्जय गुप्ता, मनन सापकोटा, शिविर पोखरेल र नुर्जा श्रेष्ठ) वरिपरि घुमेको छ । अमेरिकाबाट सुरु भएको चलचित्र अमेरिकामै सकिन्छ । चलचित्रको नयाँपन भनेको ‘रोड ट्रिप’मा चलचित्र बन्नु र सतप्रतिशत अमेरिकामै छायांकन हुनु हो ।
चलचित्रमा सुकिला–मुकिला देखिने पात्र चढेको गाडी गुड्ने सहरको सडक भने त्यति सुकिलो देखिँदैन । अमेरिकाका मुख्य सहरका केन्द्रीय सडकतिर भन्दा पनि हरियो जंगल, निलो पोखरी र भिरालो पहाड देखाउन केन्द्रित छ । तर, आम चलचित्रमा नेपालमै देखिने यस्ता दृश्य भन्दा अमेरिकाको भौतिक विकासको रंगीचंगी देखाइएको भए सायद दर्शकका लागि फरक स्वाद हुनेथियो । यद्यपि, फरक स्वादका लागि भनेर रातको समयमा बिनासन्दर्भ झिलिमिलि सहर देखाइएको भने छ । जहाँ चलचित्रका पात्रहरु छन् या छैनन् चलचित्र नै मौन छ ।
चलचित्रले के सन्देश दिन खोजेको हो, ‘सफर’ आफंै अलमलमा छ । सुमनको सपना नै नेपाल फर्किएर गरिब दुःखीलाई सहयोग गर्ने हुन्छ । तर, उसको सपना उतै तुहिन्छ । सुमनको सपना पछ्याउँदै नेपाल फर्किएको रोहित चलचित्रको अन्त्यमा अमेरिका नै फर्किएको छ । गौरव र अनन्या नेपाल नै फर्किँदैनन् । सन्देश नेपाल फर्किनु उत्तम हो या खराब, आफैंमा गाँठो परेको छ ।
आशिष श्रेष्ठले निर्देशन गरेको २ घण्टा ५ मिनेट लामो चलचित्र ‘सफर’ले सानो कुरा भन्न लामो समय खर्चिएको छ । छायांकनमा कमजोरी देखिन्छ । चलचित्रको सुरुमा भिडियो हल्लिनेसम्मका दृश्य देखिन्छ । मेकअप आर्टिस्ट पोख्त देखिँदैनन् । ठाउँ–ठाउँमा कलाकारले चरित्रलाई न्याय गरेका छैनन् । समानान्तर रूपमा तीन जनालाई प्रस्तुत गर्न खोजिए पनि चलचित्रमा गौरव हाबी भएका छन् । उनकै कहानीमा पूरै चलचित्र रुमलिन्छ ।
कथा तथा पटकथा सबल देखिँदैन । चलचित्रमा अनावश्यक न्यारेसन छ । कथा सकिसकेपछि सुमन उही कथा दोहोर्याउँदै अन्तिममा झुल्किन्छ, जुन गौरव र रोहितले पटक पटक भनिसकेका हुन्छन् । निर्देशक श्रेष्ठ कैंची चलाउनुपर्ने दृश्यमा हात बाँधेर बसेको देखिन्छ, जुन दर्शकले सहजै अनुभव गर्छन् ।
प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७३ १३:५३
प्रतिक्रिया दिनुहोस्