काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको डीएनए परीक्षणका लागि लिइएको नमुना ‘भजाइनल स्वाब’ को संकलन प्रक्रिया नै कानुनविपरीत भएको पाइएको छ । अनुसन्धानका क्रममा ‘भजाइनल स्वाब’ को नमुना संकलन गरेर प्रयोगशालामा पठाउँदा आवश्यक कानुनी प्रक्रिया नै पूरा नगरेर प्रहरीले कानुनविपरीतको काम गरेको पाइएको हो ।
‘‘मृत शरीरको पोष्टमार्टमपछि लिइएको ‘भजाइनल स्वाब’ प्रयोगशालामा पठाउँदा आमाबुबा वा नजिकका आफन्तको अनिवार्य हस्ताक्षर लिइनुपर्छ । बेवारिसे लाश भएको भए अर्को कुरा हो । यस्तोमा त्यो लिइएको स्वाब निर्मलाकै हो भन्ने के ग्यारेन्टी ?,’’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने ।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले संसदीय समितिमा दिएको जानकारीअनुसार निर्मलाका बुबा भारतबाट आउनुभन्दा अघिल्लो दिनमा नै उनको ल्याप्चे लगाएर मुचुल्का तयार पारिएको छ । यसले गर्दा प्रहरीको भूमिकाप्रति स्थानीय रुष्ट बनेका हुन् ।
प्रहरीले घटनाका सम्पूर्ण प्रमाण लुकाउन यो सबै गरेको हुन सक्ने आशंका व्याप्त छ । ‘‘उखुबारीमा शव घोप्टो अवस्थामा फेला परेको थियो । यस्तो अवस्थामा प्रमाण लोप भइहाल्छ । अर्थात् मृतकको शरीरमा रहेको बलात्कारीको प्रमाण नष्ट भएर जान्छ । विर्य बगिसकेको पनि हुनसक्छ । यो निकै गम्भीर विषय हो । आमाबुबा हुँदाहुँदै हस्ताक्षरबिनै मुचुल्का तयार पार्नुपर्ने र त्यसमा नक्कली ल्याप्चे लगाउनुपर्ने बाध्यता प्रहरीलाई के थियो ?,’’ ती अधिकारीको प्रश्न छ ।
मुलुकी संहिताले यसरी प्रमाण नष्ट गर्ने प्रहरीलाई पनि कारबाही गर्न सक्ने व्यवस्था गरेको छ ।
निर्मला हत्यापछि गृह मन्त्रालयले बनाएको उच्चस्तरीय छानबिन समितिले पनि अनुसन्धानमा प्रहरीको गम्भीर गल्ती भएको औंल्याएको छ । उच्चस्तरीय छानबिन समितिले पेश गरेको प्रतिवेदनमा समेत प्रहरीले गल्ती गरेको उल्लेख गरिएको स्रोतले बतायो । गृहमन्त्री थापाले मन्त्रिपरिषद्मा आवश्यक छलफलपछि उक्त प्रतिवेदन सार्वजनिक गरिने बताएका छन् ।
यसले आमाबुबाको हस्ताक्षरबिनै ल्याबमा पठाइएको ‘भजाइनल स्वाब’ माथि आशंका जन्मिएको छ । स्रोतका अनुसार प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालामा ल्याइएको नमुनामा रसायनको मात्रा बढी पाइएको थियो । पानीले पखालेको अवस्थामा लिइएको ‘भजाइनल स्वाब’ परीक्षण गर्ने सम्भावना नै थिएन । स्रोतका अनुसार त्यस्तो नमुना प्राप्त हुनेबित्तिकै निकै कम तापक्रममा सो नमुनालाई संरक्षण गरिनुपर्छ ।
यता प्रहरीले भने प्रयोगशालाको रिपोर्टलाई शंका नगर्न आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालयका प्रवक्ता शैलेश थापा क्षेत्रीले अनुसन्धानमा शंका नगर्न आग्रह गरे । उनले भने, “अनुसन्धान जारी छ । नतिजा कुर्नुपर्छ ।”
महाकाली अञ्चल अस्पतालमा निर्मलाको पोष्टमार्टम गरिएको थियो । यसअघि निर्मला प्रकरणमा अनुसन्धानका लागि कञ्चनपुरका तत्कालीन निलम्बित एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र स्थानीय आयुष विष्टको डीएनए परीक्षणका लागि रगत लिइएको थियो । झण्डै ३ सातापछि उनीहरुको डीएनए नमिलेको कञ्चनपुर प्रहरीले आइतबार बताएको थियो ।
डीएनए परीक्षणको रिपोर्ट नकारात्मक आएपछि ‘भजाइल स्वाब’ निर्मलाकै हो कि होइन भन्ने आशंका बढेको हो । डीएनए परीक्षणका लागि लिइएको उनीहरुको रगत राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा पठाइएको थियो । तर, त्यतिबेला निर्मलाको ‘भजाइनल स्वाब’ भने म्याच गर्न पठाइएन ।
राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा सो नमुना किन पठाइएन त भन्ने प्रश्नको जवाफमा प्रहरी प्रवक्ता क्षेत्रीले भने, “घटनास्थलमा लिइएको नमुनाको मात्रा निकै कम थियो । त्यसलाई पटकपटक चेकजाँच गर्ने सम्भावना थिएन । त्यसैले रिपोर्ट मात्रै राखेका छौं । तर, प्रहरीकै विधिविज्ञान प्रयोगशाला भए पनि यसमा प्रहरी प्रधान कार्यालयको हस्तक्षेप हुँदैन । प्रहरीले गलत गर्दैन । जनतालाई अनुसन्धानमा शंका नगर्न आग्रह गर्छु ।’’
पानीले दोषीको विर्य बगेर गएको वा अस्थायीसाधन प्रयोग गरेर बलात्कार गरेको हो भने सो नमुनासँग जोसुकै आरोपीको शुक्रकिट वा अन्य डीएनए स्याम्पल मिल्न सक्ने सम्भावना निकै कम रहने चिकित्सक बताउँछन् । प्रहरीले डीएनए परीक्षणलाई मात्रै आधार बनाएर अनुसन्धानको घेरा साँघुरो पारेको अनुसन्धान विज्ञ र चिकित्सकहरुको बुझाइ छ । एक चिकित्सकले भने, “प्रमाण नै नष्ट भएको अवस्थामा डीएनए परीक्षणको के अर्थ छ ? अपराधीले अस्थायी साधन प्रयोग गरेको भए र जानकार व्यक्तिले प्रमाण नष्ट गर्ने नियोजित योजना बनाएको भए अनुसन्धान प्रक्रियामा असर पर्छ ।”
यस्तो अवस्थामा प्रहरीले अनुसन्धानको दायरा फराकिलो पार्नुपर्ने तर्क पूर्व प्रहरी अधिकारीको छ । यसअघि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी र कञ्चनपुर प्रहरीको तत्कालीन टोलीले घटनास्थलबाट २४ औं दिनपछि प्रमाणको रुपमा ‘कण्डम’को खोल बरामद गरेको दाबी गरेको थियो । यस्तो अवस्थामा अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले प्रमाण नष्ट किन गरे ? अनुसन्धान त्यही चरणबाट सुरु गर्नुपर्ने माग निर्मलाका परिवारजन र स्थानीयको छ ।
आधा दर्जन अनुसन्धान टोली कञ्चनपुरमै
निर्मला हत्याको अनुसन्धानका लागि विभिन्न आधा दर्जन टोली कञ्चनपुरमै सक्रिय छन् । निर्मला हत्याको अनुन्धानका लागि सीआईबीका एसएसपी ठाकुर ज्ञवालीसहित, प्राविधिक टोली, क्राइम सीन विज्ञ टोली, महिला तथा बालबालिका सम्बन्धी विज्ञ टोली र कञ्चनपुर प्रहरीको आफ्नो छुट्टै टोली छ । यी बाहेक राष्ट्रिय अनुसन्धान विभाग र सशस्त्र प्रहरी बलको टोलीले पनि अनुसन्धानमा सघाइरहेको बताइन्छ । हरेक टोलीले छुट्टाछुट्टै पनि अनुसन्धान गरिरहेको छ ।
बलात्कार र हत्या भएको २ महिना बितिसक्दा पनि दोषीको पहिचान हुन नसक्दा पीडित परिवारमा थप पीडा थपिएको छ । शनिबारबाट निर्मला हत्यासम्बन्धी गृहका सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको छानबिन समितिले गृहमन्त्रीलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै कञ्चनपुरमा आन्दोलन सुरु भएको छ । यसअघि निर्मलाको न्यायका लागि स्थानीयको प्रदर्शनमा कञ्चनपुर प्रहरीले गोली चलाउँदा शनि खुनाको ज्यान गएको थियो भने १२ जनाबढी अझै घाइते छन् । घाइतेमध्ये १८ वर्षीय अर्जुन भण्डारा अझै पनि अचेत छन् । उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
अनुसन्धानमा जुटेन चित्तबुझ्दो प्रमाण
कञ्चनपुर प्रहरीले भदौ ४ गते मुख्य अभियुक्तको रुपमा भीमदत्तनगर–१९ का ४१ वर्षीय दिलिपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । मानसिक सन्तुलन ठिक नरहेका दिलिपलाई प्रहरीले यातना दिएर हत्या अभियोग कबुल गर्न लगाएको परिवारजनले आरोप लगाउँदै आएका थिए । तर डीएनए परीक्षणमा दिलिप निर्दोष देखिएका थिए । २ महिना बितिसक्दा पनि दोषीको पहिचान गर्न नसक्दा प्रहरी चौतर्फी आलोचनाको शिकार भएको छ ।
तत्कालीन जिल्ला प्रहरी प्रमुख डिल्लीराज विष्टको टोलीको अनुसन्धानमा लापरवाही भएको भन्दै उनलाई निलम्बन गरेर नयाँ टोली कञ्चनपुर पठाइएको थियो । तर थप एक महिना बित्न लाग्दा पनि नयाँ टोलीले ठोस प्रमाण हात पार्न सकेको छैन । प्रहरीले अनुसन्धानका क्रममा ५ सय बढीलाई सोधपुछ गरेको र केही व्यक्तिलाई गोप्य रुपमा निगरानीमा राखेको छ ।