site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वीर अस्पतालमा बाइस वर्ष बिनातलब  
SkywellSkywell

कलकत्ताको कार्माइकल अस्पतालमा उनकी आमाको गलस्टोनको अपरेसन हुने भयो । अस्पतालमा आमालाई भर्ना गरियो । त्यो समयमा गलस्टोनको अपरेसनका लागि अस्पतालमा २२ दिन बस्नुपर्ने अवस्था थियो । कलकत्ताका नामुद सर्जन डा. एल.एम. बनर्जीले उनकी आमाको शल्यक्रिया गरे ।

उनी चार वर्षका मात्रै थिए । उनी प्रायः आमासँगै अस्पतालमा बस्थे । कहिले अस्पतालमा यताउता गर्ने, कहिले अस्पतालको भर्‍याङमा बस्ने । अस्पतालमा उनको बालसुलभ चञ्चलता र क्रियाकलाप, उनीप्रतिको आकर्षणको कारण बन्यो । अस्पतालका डाक्टर र नर्सहरु उनीसित कुरा गर्दा रमाइलो मान्थे । 

डा. बनर्जी नै पनि उनको संगतमा भुलेका थिए । डा. बनर्जीको सम्बन्ध नेपालसित थियो । राणाखलकहरुसित पनि थियो । त्यसैले उनी नेपाल आइरहन्थे । नेपाली पनि बोल्थे । 

KFC Island Ad
NIC Asia

डा. बनर्जी बिहानै अस्पताल आउँथे । उनलाई यताउता गरिरहेको देख्थे । अनि काखमा बोकेर सिँढी चढ्दै भन्थे, “तिमी डाक्टर बन्नुपर्छ ।”

चार वर्षको उमेरमा डा. बनर्जीले भनेको यो वाक्य वरिष्ठ फिजिसियन डा. सुन्दरमणि दीक्षित (७८)का लागि पत्थरमा खोपिएको अक्षर बन्यो । यो कुरा उनको मनमष्तिष्कमा गढेर बस्यो । नतिजा, उनले सानैदेखि डाक्टर बन्ने मनस्थिति बनाउँदै गए ।

Royal Enfield Island Ad

गएको सोमबार दिउँसो पाटनढोकास्थित आफ्नो कार्यकक्षमा कुरा गर्दै डा. दीक्षितले भने, “डा. बनर्जीको यही अभिव्यक्तिले मलाई डाक्टर बन्न अभिप्रेरित गरेको हो । त्यसका अतिरिक्त रानी जगदम्बाको कृपा रह्यो, म डाक्टर बन्नुमा । किनभने मैले आफू डाक्टर बन्ने कुरा रानी जगदम्बासँग गरेको थिएँ । र, उहाँले  नै लिनुभएको एमबीबीएस सिटमा पढ्न म सन् १९५९ मा कलकत्ता पुगेँ ।”  

त्यसबेला जगदम्बा महारानीले ५०–५० हजार रुपैयाँ ‘डोनेसन’ दिएर कलकत्ताको दुईवटा मेडिकल कलेज,  आर.जी. कार्म र कलकत्ता मेडिकल कलेजमा नेपालीका लागि भनेर दुईवटा सिट ‘रिजर्भ’ राखेकी थिइन् । यो सिटमा जगदम्बा महारानीले सिफारिस गरेका विद्यार्थीमात्रै भर्ना हुन पाउँथे । 

यसबाट नेपाली विद्यार्थीलाई सधैंभरि यी दुई कलेजमा एउटाएउटा सिट पाउने अवस्था सिर्जना भयो । यद्यपि, चार वर्षसम्म कुनै पनि नेपालीले त्यो सिटको प्रयोग गरेनन् । रानी जगदम्बाले आफ्नो चिनाजानीका भारतीयलाई त्यो सिट दिइन् । र, पहिलो पटक १९५९ मा सुन्दरमणिले नेपाली विद्यार्थीका रुपमा त्यो सिट उपयोग गरे । उनी कलकत्ता मेडिकल कलेजमा एमबीबीएस पढ्न भर्ना भए ।   

\"\"

डा. दीक्षित भन्छन्, “एमबीबीएस गर्दाका बखत मेरो मासिक ट्युसन फि १९ रुपैयाँ थियो भने होस्टल फि जम्मा ३५ रुपैयाँ थियो । पछि होस्टल फि ६० रुपैयाँ पुर्‍याइएको मेरो सम्झनामा छ ।”

००० 

सुन्दरमणिको बाल्यकाल कुपण्डोल र पुलचोक इलाकामै बित्यो । उनका बाबाले कुपण्डोलमा घरजग्गा लिएका थिए । त्यो घर लेखक डायमन शमशेरको घरछेउमै थियो । गैरीधाराका स्थायी बासिन्दा उनका बाबाले कुपण्डोलमा घर लिनुको कारण थियो, सिंहदरबार र मदन शमशेर जर्साबको घरनजिक पर्नु । गैरीधाराबाट दैनिक आवतजावत गर्न गाह्रो थियो । मदन शमशेर जर्साबका सेक्रेटरी थिए उनका बाबा । त्यसैले मदन शमशेरले उनका पिताजी केदारमणि आदिलाई नजिकै घर किन्ने सल्लाह दिए । उनका बाबाले पनि कुपण्डोल र पुलचोकको बीचमा एउटा घर भेटे र किने । त्यसै घरमा सुन्दरमणिको जन्म भयो ।

सुन्दरमणिका अनुसार उनको बाल्यकाल कुपण्डोलको आफ्नो घर कम्पाउण्ड र मदन शमशेरको श्रीदरबारमै बित्यो । उनले आफ्नो घरवरिपरिका केटाकेटीहरुसित कुरा गर्न पाउँदैनथे, एकदम नियन्त्रण थियो । टोलछिमेकका केटाहरुसँग धेरै सम्पर्क भयो भने छोरो बिग्रेला भन्ने डर थियो उनका बाबालाई । त्यसैले उनी ढोकाबाट बाहिर आउन पाउँदैनथे । सुन्दरमणि जान्थे त केवल, श्री दरबार । उनी त्यो दरबारको ढोकाबाट भित्र छिर्थे । उनको सारा दिन त्यहीँ दरबारमा बित्थ्यो । दरबारको मुलगेट पहिले पुलचोकतिर थियो । 
उनको प्रारम्भिक शिक्षादीक्षा श्री दरबारमै भयो । त्यहाँ भित्र पुतली बगैँचा थियो । त्यसको आडमै खोपाजस्तो घर थियो, जहाँ मदन शमशेरका केटाकेटीहरुलाई क ख ग घ र ए बी सी डी पढाइन्थ्यो । सुन्दरमणि पनि सँगै पढ्न बस्थे । 

त्यसबेला मदन शमशेरका भित्रिनी तर्फका छोराहरुलाई पढाउन शिक्षक श्रीदरबार जाने गरेको उनी बताउँछन् । देउभाजु थरका शिक्षक थिए । जो मदन शमशेरका तिनै छोराछोरी पढाउन जान्थे । उनी कुपण्डोलबाट सुन्दरमणिलाई पनि साथै लिएर जान्थे । उनी भन्छन्, “जर्साबको ढोकाको अघिल्तिरै शंकर शमशेरको दरबार थियो । मदन शमशेरको ढोकाबाट भित्र पसेपछि अन्त कतै गइँदैनथ्यो । मैले श्री दरबारको ढोकाको दक्षिणतिर एक कदम पनि हालेको थिइनँ ।”  

\"\"

सात वर्षको हुँदा उनलाई पढ्नैका लागि भनेर दार्जीलिङ पुर्‍याइयो । मदन शमशेरका छोराहरु पनि थिए, पढ्न जानेमा । त्यो जमानामा दार्जीलिङ पढ्न जान पाउनु ठूलो कुरो थियो । त्यतिबेला दार्जीलिङको उनले पढ्ने स्कूलको फि एक सय रुपैयाँ थियो । जबकि उनका पिताजीको तलब पनि त्यति नै थियो ।  

सुन्दरमणिको पढाइमा अत्यधिक रुचि थियो ।  त्यसैले उनले आमालाई मलाई पढाइदिनुस् भनिरहन्थे । उनको यही रुचिका कारण पठनपाठनमा जगदम्बा महारानीको साथ र सहयोग सदा रह्यो । दार्जीलिङमा उनको एड्मिसन पनि माउन्ट हर्मन स्कूलमा भयो । उनी केजीमा पढ्न थाले । चार वर्षसम्म दार्जीलिङमा बसेर पढे । त्यसपछि उनी नैनीताल गए । उनी त्यहाँ चार कक्षामा भर्ना भए । 

सन् १९५७ मा नैनीतालबाट उनले सिनियर क्याम्ब्रिज पास गरे । त्यसपछि आईएस्सी पढ्न कलकत्ता गए । पढाइमा सुन्दरमणि अब्बल थिए, मेधावी थिए । त्यसैले नैनीतालको स्कूलबाट उनले सिंगो प्रदेशमा तेस्रो स्थान हासिल गरेका थिए । सिनियर क्याम्ब्रिज सकिएपछि उनी कलकत्ता पुगे आईएस्सी गर्न ।  

लामो समय एउटा घेराभित्र बस्नुपरे पनि उनलाई घरबाहिर जाँदा खासै त्यस्तो केही पृथक अनुभूति भएन् । उनको अधिकांश समय राणाजीको दरबारमै बित्यो । त्यसउप्रान्त पनि उनी रानी जगदम्बाको छत्रछायाँमा नै बसे । यसलाई उनी सहर्ष स्वीकार गर्छन पनि । आज पनि उनकै छत्रछायाँको प्रभावले आफूले समाजको सेवा गर्दै आएको उनी बताउँछन् ।

उनी भन्छन्, “राणाहरु खराब थिए भन्ने मलाई थाहा छैन । म राणाजीकै संगतमा हुर्किएँ । मलाई त्यसैमा आनन्द थियो । जर्साब र रानीसाहब भनेरै मेरो समय बित्यो । त्यसपछिको मेरो समय पञ्चायतकालमा बित्यो । किनभने लामो समय काठमाडौंबाहिर बसेपछि म एमडी गरेर एकैपटक काठमाडौं आएँ । त्यसबेला राजा महेन्द्रले शासनसत्ता आफ्नो हातमा लिइसकेका थिए । पञ्चायती व्यवस्थाको जगजगी थियो । त्यही जगजगीका बीच मैले वीर अस्पतालमा काम गर्न थालेँ ।”

०००

कलकत्ता मेडिकल कलेज, एसियाकै सबैभन्दा पुरानो मेडिकल कलेज मानिन्छ । सोही मेडिकल कलेजबाट एमबीबीएस पास गरेर उनी एमडी गर्न उताको उतै बम्बई गए । त्यहाँबाट एमडी सकेर उनी २०२६ सालमा मात्रै काठमाडौं फर्किए । 

उनको परिवारमा कसैले पनि सरकारी जागिर खाएका थिएनन् । उनका पुर्खाले चन्द्र शमशेरको चाकरीमै समय दिएका थिए । बाबा मदन शमशेर कहाँ थिए । त्यसैले उनका बाबा तथा दाजुले राजामा बिन्तीपत्र हाल्न भने । उहिले श्री ३ लाई पढेर आएपछि बिन्तीपत्र हाल्ने चलन थियो । यसरी पढेर फर्कनेहरु श्री ३ कहाँ गएर दाम राखेर दर्शन गर्थे । अनि श्री ३ बाट जुन जागिर पाउँथे, त्यही काम गर्थे । 

\"\"

त्यसैले पनि उनले एमडी गरेर आएपछि बाबा र दाजुको सल्लाहमा राजा महेन्द्रमा बिन्तीपत्र हाले । बिन्तीपत्र राजा महेन्द्रकहाँ पुग्यो । बिन्तीपत्रमा लेखिएको थियो– “मैले यसरी रानी जगदम्बाले व्यवस्था गरेको सिटबाट कलकत्ताको मेडिकल कलेजबाट एमबीबीएस पास गरेको तथा बम्बईबाट एमडी गरेर फर्किएकोले देश र नरेशको सेवा गर्न पाउँ ।” निजामती सेवा नियमावलीअन्तर्गत रहेर उनले जागिर मागेनन् । 

केही दिनपछि राजदरबारबाट खबर आयो प्रधानमन्त्री कीर्तिनिधि बिष्टलाई भेट्नु भनेर । कीर्तिनिधि उनका दाजु कमलमणिका साथी थिए । उनलाई प्रधानमन्त्री बिष्टकहाँ दाजुले लिएर गए । भेटमा प्रधानमन्त्रीले उनलाई स्वास्थ्यमन्त्री गेहेन्द्रबहादुर राजभण्डारीसँग भेट्न भने । डा. सुन्दरमणि स्वास्थ्यमन्त्रीलाई भेट्न गए ।

उनी पूर्वदृश्यमा पुगे । भने, “वास्तवमा मलाई वीर अस्पताल तान्ने व्यक्ति डा. मृगेन्द्रराज पाण्डे हुन् । किनभने त्यसबेला वीर अस्पतालमा मेडिसिन विभागमा कहिल्यै डाक्टर हुँदैनथे । डा. पाण्डे प्रायः राजा महेन्द्रसँग बाहिर हिँड्ने । अर्का डाक्टर थिए पहाडी । उनी क्राउन प्रिन्स वीरेन्द्रसँग हिँड्ने । वीरमा उनीहरुलाई एमडी गरेको फिजिसियन चाहिएको थियो । त्यसैले डाक्टर पाण्डेकै कारण म फिजिसियनका रुपमा वीरमा पुगेँ ।” 

डा. सुन्दरमणिलाई वीरमा काम गर्न पठाइयो । तर, उनलाई न त नियुक्ति दिइयो, न त उनले काम गरेको अवधिको तलब नै पाए । उनलाई केवल काम गर्न भनियो । उनी डा. पाण्डेको मातहत रहेर काम गर्न थाले । 

उनी भन्छन्, “मलाई तत्कालीन सरकारले न त अप्वाइन्टमेन्ट गरेको थियो न त मलाई डिसअप्वाइन्टमेन्टको डर नै थियो । म पूर्णतः अवैतनिक डाक्टर थिएँ । र, अवैतनिक डाक्टर भएरै मैले वीरमा २२ वर्ष बिताएँ । सायद म नै पहिलो डाक्टर हुँ, जसले बिनातलब सरकारी अस्पतालमा लामो समय काम गर्‍यो ।”

उनले नियु्क्ति र तलब नपाए पनि सरकारी नीति नियमअनुसार नै काम गरेका थिए । बिदा पनि नियमअनुसार नै लिए । उनी सधैं बिहान साढे आठ बजे अस्पताल पुग्थे । साढे दुई बजे अस्पतालबाट निस्कन्थे । फेरि साँझ सात बजे अस्पताल जान्थे । 

वीरमा उनको जिम्मामा निश्चित बेड थियो । काम गर्ने शैलीका कारण जनताले उनलाई चिन्दै गए । वीरमा उनले काम पनि सिक्न पाए । एक पटक डा. दीक्षितले वीर अस्पताल छोड्ने कुरा चल्यो । छोड्न पाइँदैन भनेर जनताको दबाब बढ्यो । यो विषयलाई लिएर व्यापक हल्लीखल्ली भयो ।

\"\"

त्यसबेला नवराज सुवेदी स्वास्थ्यमन्त्री थिए । डा. लक्ष्मण पौडेल सचिव थिए । कहाँबाट के कुरा उठ्यो, त्यसपछि विकसित भयो डा. सुन्दरमणिलाई वीर अस्पतालबाट हटाउने प्रसंग । त्यसका लागि मन्त्री र सचिवले खेल खेलेको उनी बताउँछन् । 

त्यसबेला उनलाई नेपालगन्ज जान भनियो । नेपालगन्जमा एक किसिमको रोग फैलिएकोले तपाईं तुरुन्तै नेपालगन्ज गएर रोगको अनुसन्धान गर्नुस् भनेर उनका नाममा मन्त्रालयले चिठी पठायो । त्यसबेला उनकी आमा सिकिस्त बिरामी थिइन् । आमाको चिकित्सक उनी आफै थिए । यस्तो समयमा उनलाई दवावपूर्ण चिठी आउनु ठीक लागेन । दीक्षितले जान नसक्ने अवस्था रहेको जनाउ दिए । तर मन्त्री र सचिवले निसेनी लगाएर कारबाही गर्ने कुरा उठाए । 

उनले पनि मन्त्री र सचिवलाई आफूलाई नियु्क्ति दिएका छौ र निसेनी लगाउँछौ भनेर प्रतिप्रश्न गरे । मन्त्री र सचिव जिल्ल परे । तर पनि अनेक हथकन्डा अपनाउने प्रयासमा थिए मन्त्री र सचिव । डा. दीक्षित भन्छन्, “अति भएपछि मैले राजा वीरेन्द्रलाई बिन्तीपत्र हालेँ ।  त्यसबेला राजाका सचिव ईश्वरीमान श्रेष्ठ हुनुहुन्थ्यो । मैले नवराज सुवेदीले मलाई दुःख दिन खोजेको उल्लेख गरेँ । मेरी आमा सिकिस्त बिरामी हुँदा पनि मलाई दुःख दिने खोजेको यथार्थ बताएँ । अनि भनेँ– म काम गर्न सक्दिनँ । म अस्पताल छोड्छु ।”

उनी १० दिन अस्पताल गएनन् । त्यसपछि होहल्ला मच्चियो । डा. दीक्षितलाई सचिव ईश्वरीमानले अस्पताल जानुस्, राजाबाट हुकुम भएको छ भन्ने खबर पनि पठाएका थिए । तर पनि उनी अस्पताल गएनन् । १० दिनपछि राजाले नवराज सुवेदीलाई स्वास्थ्यमन्त्रीबाट हटाए । अर्का मन्त्री नियुक्त भए । त्यसपछि ईश्वरीमानले फेरि फोन गरे र सुवेदी मन्त्रीबाट हटेको जानकारी दिए । त्यसपछि मात्रै उनी फेरि वीर अस्पताल जान थाले ।

उनी भन्छन्, “विश्वास गर्नुस्, राजाको समयमा पनि न्याय पाइन्छ भन्ने मलाई त्यसबेला विश्वास भयो । तर नवराज सुवेदीले सुन्दरमणिले मेरो जागिर खाइदियो भन्न बाँकी राखेनन् ।”

०००

रानी जगदम्बाले कलकत्ताका मेडिकल कलेजहरुमा नेपालीका लागि मिलाएको त्यो सिटको व्यवस्थापन डा. सुन्दरमणिलाई गर्न भनेकी थिइन् । उनी कलकत्ताबाट एमडी गर्न बम्बई गएका बेला त्यो दुबै सिट मदन पुरस्कारभित्र गाभिने निर्णय गरिएछ । आज पनि त्यो सिट मदन पुरस्कारले व्यवस्थापन गर्दै आएको छ । 

डा. दीक्षित भन्छन्, “त्यो मेडिकल सिटको व्यवस्थापन मेरो हातबाट गयो । अहिले मसँग त्यसको कुनै सम्बन्ध पनि छैन । मेरा लागि त मैले रानी जगदम्बाको कृपाका कारण डाक्टर पढ्ने र जनताको सेवा गर्ने मौका पाएँ, यही नै जीवनपर्यन्त अविस्मरणीय रहिरहने विषय हो ।” 

\"\"

त्यही सिटबाट एकसय तीस जना नेपालीले एमबीबीएस गरेर आएको बताउँदै उनले सुनाए, “नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव पनि त्यहि सिटबाट एमबीबीएस पढेर आउनुभएको हो ।”

डा. दीक्षितका अनुसार एउटा चिकित्सकको कर्म भनेको नै बिरामीको सेवा गर्नु हो । त्यसवापत प्राप्त हुने रकम गौण हो । सेवाभाव र इमान नै एउटा डाक्टरको सबैभन्दा ठूलो औजार भएको उनको भनाइ छ । त्यसैले पनि उनले सधैं बिरामीको सेवालाई महत्व दिए । पैसालाई महत्व दिएनन् । 

वीर अस्पतालमा अरुले तलब बुझ्थे । उनलाई भने आफूले उपचार गरेका बिरामीले गरेको अथाह स्नेह पर्याप्त थियो । उनलाई कहिल्यै पनि लागेन, कमाउनुपर्छ भन्ने । खानलाउन पुग्ने भएकाले पनि उनले सेवालाई नै पहिलो कर्तव्य ठाने ।

स्पष्ट वक्ता डा. सुन्दरमणि भन्छन्, “मलाई पैसाको आकांक्षा कहिले पनि भएन । म बाबाआमासँगै बसेको थिएँ । हामी रानी जगदम्बाको छत्रछायाँमा थियौं । खानलाउन दुःख थिएन । रानी जगदम्बाले मलाई एमबीबीएस र एमडी मात्रै गराउनु भएन, यो घर पनि उहाँले नै बनाइदिनु भएको हो । यो जग्गा पनि जगदम्बा महारानीले नै दिनुभएको हो । त्यसैले पनि मैले बिरामीको सेवालाई मात्रै महत्व दिएँ ।”

तथापि, उनकी आमा उनलाई पैसा कमाउनुपर्छ भनिरहन्थिन् । त्यसैले वीर अस्पतालमा काम गर्न थालेको दुई वर्षपछि बाध्य भएर उनले क्लिनिक खोले । र, बिरामीसित अलिअलि पैसा लिन थाले । पछि गजेटमा सात रुपैयाँ डाक्टरको फि तोकियो । उनले लामो समय सात रुपैयाँ मात्रै लिएर बिरामी जाँचे । आज पनि त्यो सात रुपैयाँको नियम परिवर्तन नभएको हुन सक्ने उनको अनुमान छ । 

अचेल उनी क्लिनिकमा बिरामी जाँचेको दुई सय रुपैयाँ लिन्छन् । अन्त कतै बिरामी जाँचेर आएको पैसा कर काटेर विभिन्न सामाजिक संस्थाहरुलाई दिन्छन् । 

०००

नेपालकै पहिलो अस्पताल वीर अस्पतालमा लामो समय स्वयमसेवा गरे डा. सुन्दरमणिले । वीर अस्पतालमा रहँदा उनीसँग जोडिएका धेरै किस्सा छन् ।  वीर अस्पतालमा त्यसबेला आइसीयु थिएन् । न त सीसीयु नै थियो । सुविधा र पूर्वाधार खासै नभए पनि बिरामीको उपचार गर्दै आएका थिए त्यहाँ कार्यरत चिकित्सकहरुले । 

डा. सुन्दरमणि वीरमा प्रवेश गर्दा एउटा मात्रै इसीजी मेसिन थियो । त्यो पनि बेलाबेलामा बिग्रिरहने । वीरमा सीसीयु वार्ड पहिले बन्यो । उनका अनुसार राजा महेन्द्रलाई मुटुको रोग थियो । उनको उपचारमा डाक्टरहरु खटिरहनु पथ्र्यो । त्यसैबेला केही ठूला डाक्टरहरुको राजा महेन्द्रलाई राजदरबारमा सीसीयु (कोरोनरी केयर युनिट) राख्न पाए सरकारको उपचारमा सहज हुन्थ्यो भनेछन् । राजा महेन्द्रले पनि ‘दरबारमा किन ? वीर अस्पतालमा खोल । त्यहाँ भए जनताका लागि पनि त्यसले काम दिन्छ’ भनेछन् । त्यसपछि सीसीयु वीरमा स्थापना गरियो । सीसीयु बनेपछि डा. दीक्षित तीन महिने तालिमका लागि बेलायत गए । 

उनी भन्छन्, “मैले त्यही बेला मानेँ, राजा महेन्द्रकोे बुद्धिलाई ।” 

\"\"

उनले राजा महेन्द्रको उपचार नगरे पनि बीपी कोइरालाको उपचार गरेका थिए । त्यसैले पनि उनले बीपीलाई नजिकबाट बुझेका छन् । भन्छन्, “नेपालको दुर्भाग्य भनेकै बीपी र महेन्द्र एउटै समयमा जन्मिनु हो । दुवै उत्तिक्कै स्ट्रेन्थ भएका विकासप्रेमी नेता थिए । अहिलेका नेता त झगडा मात्रै गर्छन् । अहिलेकाले बीपी, पुष्पलाल, मनमोहनहरुबाट केही सिकेनन् ।” 

उनले बीपीसँग जोडिएको एउटा प्रसंग सुनाए । २०३६ सालताका कैयन् पटक उनी बीपीको उपचारमा संलग्न भए । उनी भन्छन्, “०३६ सालको जनमतसंग्रहमा हामीले केही व्यक्तिलाई बहुदलमा भोट हाल्न लगाएका थियौं । जबकि उनीहरु अर्कोतर्फ झुकाव राख्थे । यो कुरा प्यालेसले थाहा पायो । मलाई सोधियो । मैले राजाले दिएको अधिकारको प्रयोग गरेको हुँ मात्रै भनेँ । तर यही कुरा मैले बीपीलाई उपचारका क्रममा जाँदा सुनाएँ । मलाइ लाग्यो उहाँले वाह् भन्नु होला । तर उहाँले भन्नु भयो– डाक्टर, त्यसरी जितेको जीत स्वीकार गर्न मिल्दैन ।”

वीर अस्पतालमा कार्यरत रहँदाको अर्को एउटा प्रसंग पनि उनले सुनाए । तत्कालिन रानी रत्नको पेटमा गोली लागेर वीरमा उपचार हुँदैथियो । उपचारमा उनी पनि संलग्न थिए । अस्पतालमा प्रायः बिरामीलाई इन्जेक्सन दिने काम नर्सको हुन्थ्यो । अहिले पनि नर्सले नै इन्जेक्सन दिन्छन् । तर त्यो बेला वीरका ठूला भनिएका डाक्टरहरु रानी रत्नलाई इन्जेक्सन दिन आफै तम्सन्थे । 

डा. सुन्दरमणि भन्छन्, “चाकरीको पराकाष्टा देखेको छु मैले । हेर्नुस्, इन्जेक्सन दिन पनि आफै जान्थे । नर्सहरु गुनासो गर्थे– ठूला डाक्टरहरुको चाकरी देखेर । जबकि अरुबेला इन्जेक्सन डाक्टरले छुँदा पनि छुन्थेनन् ।”

तत्कालीन प्रभावशाली नेता लोकेन्द्रबहादुर चन्द बिरामी भए । उनलाई उपचारका लागि वीरमा भर्ना गर्नुपर्ने भयो । डा. दीक्षितले उनलाई स्पष्ट भने, “म तपाईंलाई क्याबिनमा भर्ना गर्दिनँ । जनरल वार्डमा भर्ना गर्छु । किनभने जनरल वार्डको अवस्था नाजुक छ । बाथरुम सफा छैन । तपाईं क्याबिनमा बस्नु भयो भने मेरो वार्डको अवस्था र बाथरुम तपाईंलाई हेर्न आउने नेता र मन्त्रीहरु कसैले देख्दैनन् ।”

उनले चन्दको उपचार जनरल वार्डमै राखेर गरे । केही दिनमै त्यो वार्डमा केही परिवर्तन देखियो । वार्डको बाथरुम पनि गनाउन छोड्योे । त्यहीँ उनले रुद्रप्रसाद गिरीलाई पनि साधारण वार्डमै राखेर उपचार गरे । सदासर्वदा समाजसेवामा समर्पित डा. सुन्दरमणिका दाजु कमलमणि दीक्षित नेपालका प्रतिष्ठित लेखक भए पनि सुन्दरमणिले साहित्यमा कलम चलाएनन् । उनले प्रष्ट भने, “मलाई साहित्यमा रुचि नै भएन ।” 

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ११, २०७५  ०७:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro