site stats
बाह्रखरी :: Baahrakhari
देश
मौसमविद् भन्छन्– रातिदेखि धेरै ठाउँमा भारी वर्षाको सम्भावना
फाइल तस्बिर ।

काठमाडौं । मौसमविद्ले शनिबार (असार ७) रातिदेखि देशका धेरै स्थानमा भारी वर्षाको सम्भावना औँल्याएका छन् । झापाबाट भारी वर्षा हुन थालेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले जनाएका छन् ।

“दुईवटा मोडेलले भारी वर्षाको ठाउँ फरक देखाएको छ, तर सम्भावना धेरै तराई र चुरे भागमा बढी छ,” उनले शनिबार बेलुका सामाजिक सञ्जालमा लेखेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यति बेला पनि देशका केही भूभागमा पानी परिरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले पनि अबका तीन दिन देशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ । केही स्थानमा धेरै भारी वर्षाको सम्भावना पनि महाशाखाले औँल्याएको छ ।

महाशाखाले शनिबार बेलुका जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा आउँदो ‘२४ घण्टाका लागि चेतावनी तथा परामर्श’मा लेखिएको छ, “सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी प्रदेश, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ । यसका कारण नदीको जलसतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोप हुन सक्ने भएकोले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।”

मौसम पूर्वानुमान बुलेटिन पढ्नोस्–

 

प्रकाशित मिति: शनिबार, असार ७, २०८२  २०:५४
प्रतिक्रिया दिनुहोस्