site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
पेटिकोट लगाएर सडकमा निस्कँदा राज्यलाई निकै ‘भल्गर’ लागेछ

कुनै समय थियो– राणा युग ।

आमा–दिदीबहिनीलाई ज्युँदै सति पठाउने प्रचलन थियो भनेर सदियौँसम्म सरापिरह्यौँ । तत्कालीन व्यवस्थाप्रति असहमति राख्दै आन्दोलनमा होमियौं । फलस्वरूप राणा युग इतिहासको गर्तमा विलय भयो ।

त्यसपछि आयो पञ्चायत युग । त्यसले पनि छोरी, चेली आमा–दिदीबहिनीमाथि न्याय दिन सकेन । नमिता–सुनिताको इज्जत लिलाम गरेर सेतीको खोँचमा बगाइयो ।

KFC Island Ad
NIC Asia

त्यसलाई फेरेर ल्याइएको बहुदलले पनि आम नारीलाई अलमलमै राख्यो ।

न्याय–इन्साफ दिएन ।

Royal Enfield Island Ad

जनयुद्ध, ०६२–६३ को आन्दोलन हुँदै गणतान्त्रिक युगमा आइपुग्दा पनि महिलाका आँखा ओभाएका छैनन् ।

एकपछि अर्को बलात्कार, यौन हिंसाका घटना नरोकिएपछि केही दिन मैले प्रतीकात्मक विरोध गरेँ । पेटिकोट लगाएर सडकमा निस्कँदा यो राज्यलाई निकै ‘भल्गर’ लागेछ । पक्रन उर्दी जारी गर्यो ।

कञ्चनपुरीकी १३ वर्षीया निर्मला पन्त निर्वस्त्र उखु झाडीमा फेला पर्दा लज्जाबोध नगरेको यो राज्यलाई हाम्रो पेटिकोट ‘अश्लीलता’ को पर्याय लागेछ ।

सिंहदरबारबाट बाहिरै ननिस्कने सरकारलाई के थाहा ? लुगा लगाएर न्यायको आवाज उठाउँदा कानमा तेल हालेर बसेपछि पेटिकोट लगाएर निस्कनु हाम्रो बाध्यता हो ।
पेटिकोट लगाएर सडकमा निस्कँदा सरकारलाई मात्रै होइन, कतिपय बौद्धिक भनिनेहरूलाई समेत लाज लागेछ । कोक्राका शिशुदेखि वृद्धालयमा हजुरआमासम्म बलात्कृत हुँदा नदुखेको तिनको छाती हाम्रो प्रदर्शनीले चरचरी चिरिएछ । 

सत्ताको तर चाटेर मस्त तिनीहरूको बल्ल चक्षु उघ्रिएछन् । कान ठाडा भएछन् ।

किन भयावह बन्दैछ अपराध ?
गत आर्थिक वर्षमा मात्रै १४८० बलात्कारका घटना भए । पछिल्लो ६ वर्षको तथ्याङ्कलाई केलाउने हो भने राज्य–व्यवस्था, नियम–कानुन क्रमशः विफल बन्दै गएको उदाहरण खोज्न टाढा जानु पर्दैन । र, निष्कर्ष निकाल्दा हुन्छ– मौजुदा नियम कानुन र सरकार छोरी जोगाउन असक्षम भइसक्यो ।

देशको सुदूरपूर्वी कुनादेखि महाकालीसम्म कहीँ पनि छोरीचेली सुरक्षित छैनन् । 

स्कुल गएकी छोरी कतिबेला हिलोमा गाडिएकी अवस्थामा फेला पर्ने हो ? कोक्रोमा खेलिरहेकी बालिका कतिबेला रक्तमुच्छेल हुने हो ? कार्यक्षेत्रमा गएकी युवती सग्लै घर आउने हो कि होइन ? अभिभावक त्राहित्राहि हुनुपर्ने अवस्था छ ।

 तराईबासी भएकाले केही मेरा अनुभव छन् । पाँच वर्षको अन्तरालमा त्यस्ता थुप्रै केसमा मेरो आँखा पुगेको छ ।

बलात्कार सभ्य समाजको कलंक हुँदै हो । तर, पछिल्लो समय यौनजन्य हिंसाको अंकमा जसरी बढोत्तरी आइरहेको छ, त्यसले चिन्तित र दुःखी पनि तुल्याएको छ ।
पूर्व–पश्चिम राजमार्गदेखि जति दक्षिण झर्नुहुन्छ, उति, गरिबी, अभाव र विपन्नता भेट्नुहुन्छ ।

भूमिहीन, आवासविहीन त छँदैछन्, बलात्कारका घटना पनि त्यही बढी हुन्छन् ।

तराई–मधेसमा अझै पनि धेरैका घरमा शौचालय छैनन् । साँझ–बिहान, झाडी, खाडी, खोला, खोल्सी जान अभिशप्त छन् ।  कुकृत्यका लागि मौका पर्खिरहेका, बाटो ढुकिरहेका र गौँडा बथानिरहेकाहरूलाई सुविधा मिलेको छ । पछिल्लो समय तराईमा घटेका बलात्कारका घटना हेर्नुहोस्– ती रात, बिहान र साझँपख घटेका छन् । त्यो पनि दिसा–पिसाब गर्न जाँदा । त्यसबाहेक तराईमा बलात्कारको घटना मौलाउनुको अर्को कारण हो, गरिबी ।

पीडिकहरू माथिल्लो वर्गका र पीडित प्रायः तल्लो वर्गका पर्ने गरेका छन् । गरिबीले घाँटी अँठ्याएका उनीहरूले कथित् उपल्लो, जात, आर्थिक हैसियत बनाएकासँग सिँगौरी खेल्नै सक्दैनन् । मिलापत्र गर्न अभिशप्त छन् ।

हाम्रो सामाजिक संरचना त्यस्तै छ । बलात्कारी पुरुष छाती फुकाएर हिँड्छ । बलात्कृतहरू अपराधीझैँ जीवनभर मुन्टो लुकाएर बस्नुपर्छ । बिहाबारीसमेत हुँदैन । सामाजिक जीवनमा फर्कनै सक्दैनन् ।

त्यसैले धेरैजसो घटना बाहिर आउँदैनन् । पीडकसँग मिलापत्र गरेर ढाकछोप गर्छन् । त्यसमा भूमिका खेलेका छन्– गाउँका गन्यमान्य, राजनीतिज्ञले ।

देशबाट पो पञ्चायत हट्यो । तराई–मधेशमा अझै छ । त्यहाँको मुखियाले जे भन्यो, त्यहाँका पीडितहरु मुन्टो निहु¥याउँदै हस् भन्छन् । र, पञ्चायतका अधिकांश फैसला पीडकका पक्षमा हुने गर्दछन् ।

“हामी तेरो छोरीको बिहे पनि गर्दिन्छौँ । यति पैसा लिइ, प्रहरीकहाँ उजुरी दिन नजा,” प्रायः मुखियाहरूले पीडितलाई यसै भन्ने गर्छन् ।
सामाजिक इज्जत, गरिबी, निर्धनता र अभावको बोझले थिचिएका पीडित हुन्छ भन्ने तहमा पुगिहाल्छन् । यसले बलात्कारीको मनोबल दिनहुँ बढाइरहेको छ ।

यसमा कमी नवगठित स्थानीय तहलेसमेत ल्याउन सकेका छैनन् । कतैकतै त वडाध्यक्ष, गाउँपालिका, नगरपालिकाका निर्वाचित पदाधिकारी पनि बलात्कारजस्तो फाँसीजन्य घटनाको मिलापत्र गराउन लागिपरेको घटना बाहिर आउन थालेको छ ।

घरभित्रै सुरक्षित छैनन् छोरी
हाम्रो सामाजिक सम्बन्धका सबै सीमा भत्किइसकेका छन् । अनुशासन धुलाम्य भइसक्यो । समाज कर्तव्यबाटमात्रै होइन, नैतिकताबाटसमेत च्यूत हुँदैछ ।
यसको ज्वलन्त उदाहरण हो– छोरी घरभित्र सुरक्षित छैनन् ।

प्रहरीको तथ्याङ्कले पनि देखाएको छ– ६० प्रतिशत बलात्कारका घटना चिनजान र नजिककै आफन्तबाट भएको छ ।
केही दिनअघि म कोहलपुर पुगेकी थिएँ । त्यहाँ एकजना हजुरबुबाले तीन वर्षदेखि नातिनी बलात्कार गर्दै आएका रहेछन् ।

आमाले छाडेको, बाबुले अर्को बिहे गरेको, अवस्था निकै टीठलाग्दो थियो । प्रलोभनमा पार्न सजिलो हुने र डरत्रास देखाउन पनि पाइने । प्रायः हाडनाता करणीमा प्रहरीले प्रायः यही कारण ठम्याउँछ ।

मदिरा अर्को कारण
बलात्कारजस्तो गम्भीर प्रकृतिको सामाजिक अपराध बढाउने अर्को कारक तत्व हो– मदिरा ।

हाम्रो सामाजिक संरचना, परम्परा र मूल्यमान्यताले गर्दा पनि मदिराजन्य पदार्थ सामान्य भइसक्यो । पर्व, उत्सव, विवाहमात्र होइन, चूडाकर्ममा समेत रक्सी खपत हुने संस्कारै बसिसक्यो । यसले पनि बलात्कार, यौनजन्य हिंसा, घरेलु हिंसामा बढोत्तरी ल्याइरहेका छन् ।

तराई–मधेसमामात्रै होइन, पहाडतिर पनि रक्सी खाएर आएर श्रीमतीलाई दुर्व्यवहार गरेको घटना घरैपिच्छे भेटिन्छ । त्यसैले खुलम्खुला मदिरा बिक्रीवितरणमा रोक लगाउने हो भने सामाजिक अपराधमा कमी ल्याउन सकिन्छ ।

प्रहरी नै पीडकको पक्षमा
न्याय निरुपणमात्र होइन, अपराध अनुसन्धान पनि पीडितमैत्री बन्न सकेको छैन । निर्मला पन्तकै केसलाई उदाहरणका रूपमा लिन सकिन्छ । बलात्कारको उजुरी लिएर प्रहरीकहाँ गयो, दर्ता नै गर्न मान्दैनन् । कतिपय अवस्थामा किटानी जाहेरी दिँदासमेत अपराधी पक्राउ नपरेको घटना पाँच वर्षे कार्यअवधिमा मैले बग्रेल्ती भेटेको छु ।

त्यसबाहेक पीडित आफैँले दसी–प्रमाण जुटाउनुपर्ने बाध्यता छ । जाहेरी लिएर गयो, दर्ता शाखादेखि हाकिमको टेबलसम्म बयान दिँदादिँदा पीडित वाक्क हुन्छन् र दर्ता गर्नै जाँदैनन् ।
त्यसकारण अपराधका घटना किन कमी आएनन् ? एउटा प्रश्न हुन सक्छ । तर, यससँग जोडिएका अनेक कारण नखोतली, नकेलाई निष्कर्षमा पुग्न गाह्रो हुन्छ ।


फाँसी : एक बहस
कर्तव्यज्यानमा पीडित एकपटक मर्छ तर बलात्कृत महिला, छोरी–चेली त पटकपटक मर्छे, जीवनभर मर्छे । अतः यसप्रकारको घटनाका दोषीविरुद्ध राज्य निर्मम बन्नैपर्छ, कठोर हुनैपर्छ ।

हामीले देखेका छौँ– मौजुदा कानुन कार्यान्वयन प्रणाली । गम्भीर अपराधमा जेल परेका पनि सरकारबाट माफी पाएका, अदालतले सफाइ दिएका । यता जेल परेको बलात्कारी सामाजिक जीवनमा फर्किहाल्छ । उता पीडित जीवनभर आँसुको आहालमा डुबुल्की मार्नुपर्छ ।

अतः बलात्कारमा दोषी देखिएकालाई दण्डित गर्न मौजुदा कानुन पर्याप्त छैन । बलात्कारीलाई फाँसी नै आजको उत्तम विकल्प हो । यसबारे पर्याप्त बहस र छलफल भने आवश्यक छ ।

(सुवेदी बलात्कारविरुद्धकी सामाजिक अभियन्ता हुन्)

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०७५  १५:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro