उनको स्वभावै खरो । त्यसैले चित्त नबुझेको विषयमा उनले कहिल्यै कसैलाई समर्थन गरिनन् । आफैले मान्दै आएको राजालाई पनि । उनी त्यसबेला राजपरिषद्को सदस्य थिइन् । तिनताक पारस शाहले चलाएको गाडीको ठक्करबाट गायक प्रविण गुरुङको निधन भयो । यसले सर्वत्र ठूलै हङ्गामा मच्चायो ।
राजपरिषद्ले परिषद् सदस्य सुश्री भद्रकुमारी घले (८७) लाई पारस शाहको समर्थनमा आफ्नो मत राख्न भन्यो । अर्थात् यो खबरलाई झुठो भन्नु पर्ने थियो उनले । भद्रकुमारी घले त्यो पक्षमा थिइनन् । गलतलाई गलत भन्ने स्वभावकी घलेले परिषद् सदस्यबाट राजीनामा दिइन् ।
गएकोे शुक्रबार मैतिदेवीस्थित उनको निवासमा कुराकानी गर्दै उनले भनिन्, ‘म खरो बोल्ने मानिस हुँ । राजा वीरेन्द्रकै कृपाले म राजपरिषद्को सदस्य भएँ । केशरजंग रायमाझी अध्यक्ष थिए त्यसबेला । प्रविण गुरुङको निधनको विषयमा मलाई परिषद्मा रहेका सदस्यहरुले ‘यो झुठो हो’ भनेर बोल्न भने । मैले म झुठो बोल्दिन, बरु परिषदबाट राजीनामा दिन्छु भनेँ । र राजनामा दिएँ ।’
पीिछ अध्यक्ष केशरजंग रायमाझीले ‘भद्रा जी, किन राजीनामा दिनु हुन्छ । बिरामी भएँ भनेर बस्नुस् भने । बरु उनलाई त्यस विषयमा बोल्नै पर्छ भनेर डा. स्वामी प्रपन्नाचार्यले दवाव दिएका थिए ।
अर्थात्, पदमै रहेको अवस्थामा पनि उनले धेरै पटक खरो बोलिन् । गलत कुरा र काममा समर्थन गरिनन् ।
यही खरो स्वभावका कारण होला, भद्रकुमारी घले (८७)ले २०१८ सालमै पञ्चायत प्रवेश गरेपनि, त्यसको केही वर्षपछि माननीय भएपनि मन्त्री हुन लामै समय कुर्नुपर्यो । मन्त्री भएपनि एक पटक भन्दा बढी मन्त्री भइनन् उनी ।
यस्ता खरा प्रसंग उनीसित अरुपनि धेरै छन् ।
०००
समाजसेवी तथा राजनीतिज्ञ भद्रकुमारी घले काठमाडौंमा जन्मिन् । ओखलढुंगाको जराटार अम्बोटे, घलेगाउँमा हुर्किन् । मावल दोलखा जिल्लाको चङ्खु गँगटामा लेखपढ गर्न, चण्डी, रामायण, महाभारत भट्याउन जानिन् । केही वर्षपछि उनी ओखलढुँगा फर्किन् । सिन्धुलीको नारापुर अम्बोटेमा उनीहरुको मौजा पनि थियो । त्यसैले उनले आफ्नो कर्म क्षेत्र सिन्धुलीलाई नै बनाइन् ।
उनका अनुसार दुई वर्षकी हुँदा उनी एकदम रोगी थिइन् । त्यसैले उनलाई उनका आमा बाबुले उनको बजैको काखमा राखिदिए । उनले बजैको काख पाइन् । बाह्र–तेह्र वर्षसम्म बजैको काखमै लडीबुडी गरिन् ।
उनी भन्दैथिइन्, ‘मैले मामाघर पुगे पछि मात्रै पढ्न लेख्न जानें । त्यहीँ बुद्धि चाणक र दुर्गा कवच पढ्न सिकेँ । त्योभन्दा अघि त घाँस काट्ने र भारी बोक्ने काम मात्रै त गरियो ।’
उनी सात वर्षकी हुँदा उनकी फूपुसँग उनको मामाको बिहे भयो । उनी फुपूको साथी भएर मामाघर गइन् । त्यतिबेला नौ दिन लगाएर उनीहरु दोलखाको त्यो मावल गाउँ पुगेका थिए ।
भद्रकुमारीका मावलका बाजे नरबहादुर गुरुङ त्यसबेला सात गाउँका मुखिया थिए । तिनको शान सौकत नै बेग्लै थियो । कैयन काम गर्ने व्यक्ति राखेका थिए घरमा । उनी सधैँ पाँच छ पाथी गहुँ, मकै र कोदो मिसाएर कुखुराका अघिल्तिर छर्थे । कुखुराको खोर भित्र पनि अण्डै अण्डा । उनी चकित परेकी थिइन् अण्डाको रास देखेर ।
उनका बाजे तिहारमा त्यही कमारा कमारी दाउमा थापेर जुवा खेल्दा रहेछन् । ठालुहरुको जमात बस्यो र कमारा कमारीलाई जुवाको दाउमा लगायो । उनी पुरानो कुरा सम्झिएर हाँसिन् र भनिन्, ‘यस्तो पनि हुँदो रहेछ ! यस्तो त मैले पहिलो पटक देखेकी थिएँ । यहि आँखाले देखेँ त्यस्तो जुवा ।’
उनको मावलमा उनका मामाहरुलाई पढाइन्थ्यो पनि । त्यसैले पनि उनले लेखपढ गर्ने मौका पाइन् । यो उनका लागि जीवनकै ठूलो उपलब्धी भयो ।
पूर्व मन्त्री भद्रकुमारी घलेका घरतिरका बाजे पहिलो विश्वयुुद्धमा युद्ध गरेर फर्किएका योद्धा थिए । उनले सुनाउँथे, अंग्रेजकी छोरी यस्ती, अंग्रेजकी छोरी उस्ती भनेर । कति राम्रो पढेका । बाजेका कुरा सुनेर उनी मेमहरुले कसरी पढेका होलान् भन्ने सम्झिन्थिन । तर आफूले पढ्न थालेपछि ‘ए पढाइ भनेको त यस्तै हुने रहेछ’ भन्ने ज्ञान उनलाई भयो ।
करिब दुई वर्ष उनी मावल बसिन् । त्यस पछि मात्रै घर फर्किइन् । त्यहाँ फर्किएपछि उनले लेख्न पढ्न थालेको सबैले चाल पाए । उप्रान्त उनको काम भयो, समयसमयमा पाकाहरुलाई स्वस्थानी, रामायण र महाभारत सुनाउने । अनि गाउँका घलेनी केटीहरुका चिठि लेखिदिने ।
मावल जानुपूर्व घाँस काटने उनको लेखपढ गर्न जानेपछि मानमनितो बढेको थियो । उनलाई चिठी लेख्न लगाउनेले पनि दूध चिउरा, दही चिउरा, मिठा मिठा खानेकुरा खुवाउँथे । गाउँका घलेनीहरुले गरेको मानमनितो सम्झेर उनको मुहार उज्यालियो । लाग्यो, उनी यतिखेर ओखलढुँगा अम्बोटेमै छिन्, घलेनीहरुका बीच घेरिएर ।
घले गर्दै थिइन् त्यो बेलाको वर्णन । भन्दै थिइन्, ‘त्यो बेला छ पैसा मानाको घ्यु पाइन्थ्यो । एक पैसामा अन्डा, एक रुपैयाँमा भाले, पाँच रुपैयाँमा खसी खाने मानिस मै हुँ । सत्य युग जस्तै थियो त्यो समय ।’
तेह्र वर्षकी हुँदा उनी मौजा रहेको ठाउँ सिन्धुली आइन् । उनका अनुसार सिन्धुलीबाट जनकपुर जाँदा चार पाँच दिनसम्म पनि घरमा ढोका ढप्काएरै मात्रै पनि गइन्थ्यो । केही हुन्थेनन् । कोही छिर्थेनन् घरमा । अगाडि नासपाती लटरम्म फलेका हुन्थे । तर एकदाना कसैले टिपेर खान्थेनन् । खानु पर्दा सोध्थे ।
घले राष्ट्रिय पञ्चायतको सदस्य हुँदा पनि सिन्धुलीबाट राती पनि एक्लै हिँडेकी थिइन्, कैयनपटक । कसैको डर लाग्थेन उनलाई । त्यो बाटोमा उनलाई डर लाग्ने भनेको जङ्गली जनावरहरुसित मात्रै हो । केही समयपछि पढ्नैका लागि उनी काठमाडौं आइन् । उनकी ठूलीआमा सानीआमा थिए काठमाडौंमा । त्यस बेला पाँच छ जना भरिया लगाएर काठमाडौं आएको उनी अझै सम्झन्छिन् ।
काठमाडौं आएर उनी कन्या पाठशालामा पढ्न थालिन् । त्यसैबेला पाँच वर्षमा म्याट्रीक पास भन्ने सूचना गरेको उनले सुनिन् । यसले उनलाई उत्साहित तुल्यायो । तर पढ्नलाई गान्धी आश्रम वर्धा जानु पर्दथ्यो । उनले आफ्नी ठूलीआमासँग कुरा गरिन् । तर ठूली आमाले गाली गरिन्, मेरी बहिनीलाई यसले दुःख दिन थाली भनेर ।
तर उनी पनि हठी थिइन् । निवेदन लेखेर वर्धाका लागि चयन भइन् । यहाँ नेपाली गान्धी तुलसीमेहरको अगुवाईमा यो कार्य हुँदै आएको थियो । उनी र भुवनेश्वरी सत्याल पनि छानिए ।
उनी भन्दै थिइन्, ‘पछि तुलसी मेहर आएर त मलाई हुन्न भन्छन् । उनले त अर्कै केटीको व्यवस्था गरेका रहेछन् । मलाई मृगेन्द्र शमशेरले पनि यस पटक नजाउ भने । मैले हुन्न सरकार भन्दै रुन थालेँ । त्यस पछि मात्रै मलाई पठाएका हुन् । यसरी आठ जना केटीहरुको समूहमा म पनि परेँ ।’
वर्धा जानका लागि सबै थानकोट पुगे । चित्लाङ, भिमफेदी भएर जानु पर्दथ्यो । थानकोट पुगेपछि त तुलसी मेहरले भद्रकुमारीलाई ‘तिमी पहाडकी बहादुर केटी, पहाड हिँड्न सक्छौ’ भन्दै हिँडाएछन् । अरुलाई भने उलिनकाठमा चढाएर लगे, भिमफेदीसम्मै । त्यसैले पनि उनलाई जीवनभरि तुलसी मेहर प्रति कहिल्यै श्रद्धा जागेन । उनी अहिले पनि यो भन्न हिचकिचाउँदिनन् ।
उनी भन्दै थिइन्, ‘तुलसी मेहरसँग मेरो फाटो जस्तै भयो । मैले बुढाको धोती पनि धोएँ चप्पल पनि धोएँ । तर पनि मैले तिनीलाई कहिल्यै श्रद्धा गर्न सकिन् ।’
पहाडमा बिताएका पलहरुले उनीमा एउटा अदम्य शक्ति र साहस भरेको थियो । त्यही शक्ति र साहसका साथ उनी पैदल हिँडिन्, भिमफेदीसम्मै । त्यस दिन चित्लाङमा खाएको खानाको स्वाद आजसम्म उनको स्मृतिमा ताजा बसेको छ । भारतको नागपुर हुँदै पुग्नुपर्ने वर्धा गान्धी महिला आश्रम पुगेकी भद्रकुमारी आश्रमको पुस्तकालयमा दराज भरि किताब देखेर दंग परिन् । त्यसपछि उनको मन लेखपढ्मा झनै बस्यो । त्यसैबेलादेखि उनले कविता र गीत पनि कोर्न थालिन् ।
वर्धामा बेलाबेलामा ठाउँठाउँबाट आएका केटीहरुले आफ्नो आफ्नो ठाउँको स्थानीय संस्कृति झल्किने कार्यक्रम गर्थे । नेपालबाट गएका भद्रकुमारी, भुवनेश्वरीलगायतका केटीहरुले पनि नेपाली लोक गीतसंगीत र नृत्य प्रस्तुत गरे । उनीहरुले नेपाली सांस्कृतिक प्रस्तुति अन्य विद्यालय तथा कलेजमा पनि प्रस्तुत गरे ।
केही समयपछि वर्धामा रहेका नेपाली केटीहरुले नेपाली पनि बिर्सिन्छन् कि भन्ने लागेर तुलसी मेहरले साहित्यकार कृष्णचन्द्रसिंह प्रधानलाई नेपाली शिक्षकका रुपमा पठाएको उनी सम्झिँदै थिइन् । वर्धाबाट म्याट्रिक गरिसकेपछि समाजसेवी घलेले इन्दोरबाट नर्सिङ कोर्स गरिन् । अरु पनि थप तालिम हासिल गरिन् । र, २०१३ सालमा उनले जनकपुरको अस्पतालमा नर्स भएर काम गर्न सुरु गरिन् ।
व्यवहार खरो भएपनि मन कमलो भएकै कारण उनको कार्यशैली सबैलाई मनपथ्र्यो । उनको कामको पनि चर्चा हुन्थ्यो । केही वर्ष जनकपुरमा काम गरेपछि उनी थप अध्ययनका लागि बनारस गइन् र शास्त्री पढ्न थालिन, काशी हिन्दू विद्यापिठमा ।
०००
शास्त्री पढाईको अन्तिमतिर उनले थेसिस बुझाइन् । फाइनल परीक्षा बाँकी नै थियो । त्यसैबेला उनी सिन्धुली आइन् । सिन्धुलीमा आमा थिइन् । उनकी आमाले एकदिन भनिन्, ‘जनकपुरमा नयाँ अञ्चलाधीश आएका छन् रे । चिनापर्ची गर्नुपर्ने ।’ त्यसपछि दुबै आमा छोरी कमलाखोँज, चारकोसे झाडी, गोदार, धनुषाधाम हुँदै जनकपुर पुगे । रात धर्मशालामा बिताए । बिहानै जलेश्वर पुगे अञ्चलाधीश भेट्न ।
खबर गरेको केही समय पछि अञ्चलाधीश दिलबहादुर श्रेष्ठ बाहिर निस्के । भद्रकुमारी घले भन्छिन्, ‘अञ्चलाधीश त मेरी आमालाई तपाई भक्तकुमारी घले । अनि उनले मेरी आमालाई भने, उनी तपाईकी छोरी भद्रकुमारी घले । काशी हिन्दू पिठमा शास्त्री पढ्दै छिन् । तिनको कुरा सुनेर चकित परेँ म । पछि थाहा भयो, मेरा बारेमा मकेश्वरप्रसाद सिंहले उनलाई सबै भनेका रहेछन् । यस क्षेत्रमा पर्दामा रहेका महिलाहरुलाई जागरुक बनाउने हो भने महिला संगठनको जिम्मा भद्रा घलेलाई दिनु पर्छ । उनले सक्छिन् यो काम गर्न ।’
अञ्चलाधीश श्रेष्ठले तत्कालै अबिर मगाएर भद्रकुमारीको निधारमा टीका लगाईदिँदै भने ‘तिमी नेपाल महिला संगठनको जनकपुर अञ्चल सभापति भयौ’ भनेर । उनले विधान र नियमावली भद्रकुमारीको हातमा दिँदै लौ अञ्चलमा संगठनको बिस्तार गर भनेँ । यसरी उनी महिला संगठनसँग जोडिइन् ।
महिना दिनभित्र उनले बनारस जानु पर्ने थियो । समय कम थियो । तरपनि उनी आफ्नो कामलाई पूर्णता दिन सक्रिय भइन् । उनले जनकपुर अञ्चलको छ वटै जिल्ला घुमेर महिलाहरुलाई एकत्रित गरिन् र जिल्लामा जिल्ला कमिटि गठन गरिन् । जिल्ला समितिपछि उनले अञ्चल समितिलाई पनि पूर्णता दिइन् । अनि अञ्चलाधीशलाई रिपोर्ट बुझाएर बनारस फर्किन् ।
केही समयपछि काठमाडौंमा महिला संगठनको मिटिङ भयो । भद्रकुमारी काठमाडौं पुगिन् । एकसे एक नेताहरु पहिले कमल शाहको चाकरीमा जानेगरेको घले बताउँदै थिइन् । त्यसबेला कमल शाहले कतिलाई त पकेटखर्च पनि दिने गरेको कुरा उनले खोलिन् ।
तिनै कमल शाहलाई भद्रकुमारीले भनिन्, ‘एउटा संगठनको केन्द्रीय सभापति, तीन वटा महिला संघका तर्फबाट माननीय मध्ये एउटा कुनै पद रोज्नुस्’ । अरु तीन सीटमा आफूहरुले लड्ने उनले बताईन् । तर शाहले आफूलाई अध्यक्ष र माननीय दुबै सिट चाहिने जिकिर गरिन् । पछि निर्वाचनमा भद्रकुमारीहरुको समूहले उनलाई केन्द्रीय सभापतिमा हराइ दिए ।
यसैबेला भद्रकुमारी पहिलो पटक राष्ट्रिय पञ्चायतको सदस्य भइन् । उनी भन्दै थिइन्, ‘हामी माननीय हुँदा तीन सय रुपैयाँ तलब र दश रुपैयाँ भत्ता थियो ।’ राजनीतिका बारेमा खासै ज्ञान नभएकी भद्रकुमारी महिला संगठनका तर्फबाट माननीयमा लड्ने भइन् । सूर्यप्रसाद श्रेष्ठ सेक्सन अफिसर थिए । उनले जमानत वापत दुई सय रुपैयाँ जम्मा गर्नुपर्ने बताए । उनीसँग पैसा थिएन । भरखरै बनारसबाट फर्किएकी थिइन् । पैसा हुने कुरो पनि भएन । त्यसैबेला उनलाई साथी भुवनेश्वरी सत्यालको सम्झना भयो । उनले भुवनेश्वरीका पिताजीसंग चुनाव लड्नका लागि पाँच सय रुपैयाँ मागिन् । त्यही पाँच सय रुपैयाँले उनले माननीयमा विजय हासिल गरिन् ।
राष्ट्रिय पञ्चायतको सदस्य भएपछि उनले महिलाहरुमा जागृति ल्याउनु पर्ने भन्दै विभिन्न काम गरिन् । त्यसपछि राजा महेन्द्रकी भाइ बुहारी प्रिन्सेप शाहको सहयोगमा राष्ट्रव्यापी वृहत् महिला भेला पनि गराइन् । प्रिन्सेपले भद्रकुमारीलाई महिलाहरुको भेला गराउन सकिन्छ भनेर सोध्दा उनले सक्ने जवाफ दिएकी थिइन् । त्यसैको परिणाम थियो महिला सम्मेलन ।
भद्रकुमारी भन्छिन्, ‘प्रिन्सेप सरकारलाई मैले सकिन्छ, तर यसका लागि पैसा चाहिन्छ भनेँ। उनले स्वीकृति दिइन् । हामी चार जना कमल शाह, तरुलता रायमाझी, विमला मास्के र म थियौं । कमल शाहले व्यवस्थापनको जिम्मा लिइन् । मैले पचहत्तर जिल्लाकै सडियोलाई टेलिफोन गरेर महिलाहरुको वृहत्त भेला सम्पन्न गराएँ । यो काम पन्ध्र दिन भित्रै सक्यायौं हामीले । राजा महेन्द्र पनि दंग परे ।’
महिला संगठनमा मात्रै होइन, साहित्य सम्मेलनमा पनि यिनको सहभागिता हुँदै आएको थियो । केदारमान व्यथित प्रज्ञाको कुलपति हुँदा चितवनको रामपुरमा ०२२ सालमा वृहत साहित्य सम्मेलन सम्पन्न भएको थियो । उनले सुनाईन्, ‘मैले ‘ए मेरो कलमको टुँडो’ भन्ने कविता लेखेकी थिएँ । व्यथित जी मलाई भद्रा जी त्यो टुँडो सुनाउनुस् न भनिरहन्थे । राजा महेन्द्रका अगाडि पनि मैले कविता सुनाएकी थिएँ ।’
उनी राजनीतिमा लागे पनि चाकडीमा लागिनन् । नेताहरुको जानुको साटो उनी कहिले सिद्धिचरण श्रेष्ठ कहाँ पुग्थिन् त कहिले लैनसिंह वाङदेल र कहिले बालकृष्ण सम कहाँ पुग्थिन् । कविता गीत मात्रै होइन, भद्रकुमारी चित्र पनि कोर्छिन् । उनले कोरेका चित्रहरुको बेलाबखत प्रदर्शनी पनि गर्दै आएकी छिन् । उनले कोरेका चित्रहरु जसरी रुचाईए त्यसैगरि केही चित्रहरुले उनलाई सजाय दिनु पर्ने अवस्था पनि सिर्जना गर्यो ।
०००
एकपटक भृकुटीमण्डपमा माननीयहरुले आफ्नो आफ्नो अञ्चलको स्टल सजाए । भद्रकुमारीले पनि स्टल सजाईन् । उनका स्टलमा पनि राजा महेन्द्र आए र केही सामान किने पनि । राजा वीरेन्द्रको समयमा भएको एउटा गाइजात्रे कार्यक्रममा उनले बनाएको व्यङग्य चित्र पनि सजाइयो । उनले चित्रबाट तिखो व्यङग्य गरेकी थिइन्, समसामयीक विषय माथि । राजा उपस्थित भएको कार्यक्रममा व्यङग्य कविता पनि पढिन् । राजाले उनको चित्र पनि हेरे । तर राजाका भाइ ज्ञानेन्द्रलाई भद्रकुमारीको चित्र र कविता मनपरेन ।
ज्ञानेन्द्रले भद्रकुमारीलाई सजाय गर्नुपर्ने जिकिर गरेछन् राजासँग । तर राजाले ‘गाईजात्रामै त हो यसरी व्यङग्य गर्ने’ भनेर टारिदिएछन् ।
सबैकी ‘भद्रा दिदी’ कहिले डराइनन् । आफूले बिगार गरेको छैन भने डराउने कुरै छैन भन्ने विचारमा अझै पनि अडिग छिन् उनी । त्यसैले त उनले आफूलाई चित्त नबुझेको कुरो जस्को अगाडि भएपनि स्पष्ट भन्दै आएकी छिन् ।
चार पटक माननीय भएकी उनले एकपटक ‘यो आइमाई मान्छे र लोग्नेमान्छेलाई समान नठान्ने मुलुकी ऐनको कुनै काम छैन’ भनेर मुलुकी ऐन फँेकिदिइछन् । त्यो देखेर चाकडी गर्नेहरु जुर्मुराए । ठाउँमा पुगेर उनका विरुद्ध नानाभाँती कुरा लगाए । तीलको पहाड बन्यो कुरो ।
भद्रकुमारी भन्दैथिइन्, ‘त्योबेला गृहमन्त्रालयले मलाई जेल पनि हाल्न खोजेको थियो । तर त्यसबेला मलाई प्रिन्सेप शाहले नै जोगाइन् । उनले राजा महेन्द्रसंग केके कुरा गरेर मिलाइन् ।’
उनी प्रिन्सेप शाहलाई साहै दूरदर्शी र माया गर्ने व्यक्ति मान्छिन् । तर उनी आफै आश्चर्य हुन्छिन्, उनी राजाबादी हुँदाहुँदै पनि राजाबाट उनले कहिल्यै केही नपाएको बताउँछिन् । भन्छिन्, ‘राजा महेन्द्रले यसलाई यति दिए, उसलाई यति दिए भन्ने खुबै सुन्थेँ । तर मलाई एक पैसा पनि कहिल्यै दिएनन् । प्रिन्सेप शाहले मलाई माया गर्थिन, तर एउटा कपडा धरी कहिल्यै दिइनन् । राज्यमन्त्री त म राजा वीरेन्द्रको समयमा मात्रै भएँ । त्यो पनि एक पटक मात्रै ।’
एउटा अर्को प्रसंग सुनाईन् भद्रकुमारीले । उनी तत्कालिन प्रधानमन्त्री सूर्यबहादुर थापाको पक्षमा थिइन् । एकदिन सूर्यबहादुरले उनलाई बोलाएर भने, ‘चुनावको समय आएको छ । तपाईसँग भारतीय दुतावासका फस्र्ट सेक्रेटरीले भेट्छन् है’ ।
भद्रकुमारीले ठानिन् कुनै विशेष सल्लाह होला । यसैक्रममा एउटा व्यक्तिले उनलाई दूतावासका फर्स्ट सेक्रेटरीको घरमा पुर्याए । चियासँगै उनले भद्रकुमारीका अगाडि पैसठ्ठी हजार रुपैयाँ राखीदिए । भद्रकुमारीले ‘यो के हो भनेर सोधिन्’ । फर्स्ट सेक्रेटरीले पनि उनलाई ‘तपाई सूर्यबहादुर थापाको पक्षको भएकोले भारत सरकारका तर्फबाट निर्वाचन खर्च दिइएको’ भनेछन् ।
यो प्रसंग झिक्दै भद्रकुमारीले भनिन्, ‘भारतसँग मैले खर्च लिनु ? त्यो पनि पैसठी हजार ! यो पैसठ्ठी हजार लिएर म जिन्दगी भर भारत सरकारको अगाडि शीर निहुराएर बस्न सक्दिन । मैले ती सेक्रेटरीलाई स्पष्ट भनिदिएँ, नाथे पैसठ्ठी हजारमा तिम्रो कमारो बन्दिन ।’
उनको यही खरो र हठी स्वभावका कारण आज पनि उनी उही मान मनितोमा छिन् । सबैकी दिदी हुन् उनी । धेरैको उद्धार गरेकी छिन् । ‘भद्रकुमारी घले सेवा सदन’का माध्यमबाट समाजसेवामा सक्रिय छिन् । उनले शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रमा अनेकन सामाजिक कार्य गर्दै आएकी छिन् । दुःखीलाई सहयोग गर्नु नै उनको यतिबेला कर्तव्य भएको छ ।
महिलाको विकास र तिनलाई न्याय दिलाउने काममा अहिले पनि सक्दो लागिरहेकी छिन् उनी । महिला जागृतिमा उनको सक्रियता आजपनि उस्तै छ, जस्तो २०१८–२० सालमा थियो । उनी भन्छिन्, ‘हामी नारीलाई प्रकृतिले अति योग्य र क्षमतावान बनाएको छ । तर खै, कसैले पनि बुझेका छन् जस्तो लाग्दैन ।’
००