site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अनि मैले आफ्नो सबै सम्पत्ति दान दिएँ ...
SkywellSkywell

‘यो जीवनलाई औषधिले बचाएको छ । अर्काको सहारामा जीवन चलेको छ । दैनिक आठ वटा ट्याब्लेट र इन्सुलिन यतिबेला साथी भएका छन्,’ वरिष्ठ समाजसेवी श्रीजंग शाह (९३) सँग कुरा गर्दा उनले कुराकानीको थालनी नै यहीँबाट गरे ।

जाजरकोटबाट नेपालगन्ज झरेका उनका पितापूर्खा काठमाडौं आए । अनि पछि दार्जिलिङ, धनुषा रघुनाथपुर हुँदै फेरि नेपालगन्ज फर्किए । यो लामो समयमा धेरै आरोह अवरोह उनका माता पिताले झेल्नु पर्यो । शाहका पिताजी फत्तेजंग शाह तत्कालिन सेनामा कार्यरत थिए । एकदमै फूर्तिला र आइपरेको काम तुरुन्तै गर्ने प्रवृत्तिका । उनले सन् १९१४ को प्रथम विश्वयुद्धमा पनि आफ्नो सैन्य कौशल देखाइसकेका थिए । 

चार पाँच वर्षको विदेश बासपछि उनी नेपाल फर्किएका थिए । त्यो समय राणाजीहरुको वर्चस्व कायम थियो । फत्तेजंग विदेशमा बसेकाले उनको काम गर्ने शैली फरक थियो । उनले देश दुनियाँ बुझेर आएका थिए । केही गरौं भन्ने सोचबाट प्रेरित थिए । 

Royal Enfield Island Ad
KFC Island Ad
NIC Asia

तर फत्तेजंगलाई राणा शासकहरुले फरक व्यवहार गर्थे । एक्टिभभन्दा पनि जीहजुरी गर्नेलाई मात्र रुचाइने प्रचलन त्यसबेला राणाका बीच विद्यमान थियो । उत्साही र फुर्तिलो व्यक्तिले आफूलाई धोका दिएर आफ्नो सत्ता र शक्ति हत्याउँछ कि भन्ने त्रासमा रहन्थे, राणाहरु । यसै मानसिकताका कारण तिनले फूर्तिला र काम गर्ने खालका सैनिक अधिकारीलाई पाखा लगाउने प्रयास गर्दै आएका थिए ।

यही घेराबन्दीमा परे, श्रीजंग शाहका पिताजी पनि । आफूमाथि गरिएको हेपाहा प्रवृत्तिले उनका  पिताजी हैरान थिए । निश्चय पनि यस्तो अवस्थामा काम गर्न सकिने स्थिति हुन्नथ्यो । 

\"\"

गत सोमबार कान्तिपथ स्थित उनको निवासमा कुरागर्दै समाजसेवी श्रीजंग शाहले भने, ‘मेरा पिताजीले वीर शमशेरको खलककी केटी बिहे गर्नु भएको थियो । पछि जुद्ध शमशेरको पालामा वीरका सन्तानहरुलाई काठमाडौं बाहिर लखेटियो । र, बुबाआमा पनि हामीलाई लिएर ससुराली खलकसंगै दार्जिलिङ जानु भयो । हुनत मेरा पिताजीलाई देश निकाला गरिएको त थिइएन्, तर पनि ससुरा बाहिरिए पछि पिताजी र मुमाले पनि नेपाल छोडनुभयो ।’

ससुराली खलकसँगै दार्जिलिङ प्रवासमा गएका फत्तेजंग शाहले सेनाको जागिर पनि छोडे । क्षेत्रपाटीमा रहेको घर पनि बेचे ।  काठमाडौंको क्षेत्रपाटीमा जन्मिएका श्रीजंग त्यस बेला दरबार हाईस्कूलमा पढ्थे । यस्तै आठ नौ वर्षको हुँदा उनी दार्जिलिङ पुगे । 

पिताजीसँगै प्रवासमा पुगेपछि उनको स्कूले शिक्षा दार्जिलिङको सरकारी हाईस्कूलमा हुन थाल्यो । जहाँ उनका मामाका छोराछोरी पनि पढ्थे ।  उनी पढ्ने सरकारी स्कूलमा नेपाली साहित्यका तीन नक्षत्र सूर्यविक्रम ज्ञवाली, धरणीधर कोईराला र पारसमणि प्रधान (सूधपा)ले पढाउँथे । उनले तीनै शिक्षकहरुबाट समयानुकूल ज्ञान प्राप्त गर्दैगए ।

\"\"

उनी सम्झिन्छन् त्यो क्षण, ‘मलाई अझै याद छ धरणीधर कोईरालाले सुनाएको एउटा श्लोक :
धरणीधरको यति अर्ति सुन, 
यति अर्ति सुनी मन भित्र गुन, 
अनि जे त मनले बताउँदछ, 
उही गर्नु अति उत्तम छ । 

उति बेला पढाएको कुरो हो यो । राम्रो कुरा दिलमा बसेपछि जाँदो रहेनछ । नौ दस वर्ष हुँदा पढेको कुरा त्रियानब्बेको हुुँदा पनि याद छ ।’ 

श्रीजंगका पिताजी र उनको मामाघरको परिवार दार्जिलिङमा तीन चार वर्ष बसे । त्यहीँ बस्दा उनको मामाघरका हजुरबुबा प्रताप शमशेरको निधन भयो । उनको निधनपछि उनका छोराछोरी सबै आफ्नो विर्ता रहेको क्षेत्र धनुषाको रघुनाथपुर तिर बसाई सरे । श्रीजंगका पिताजी पनि उतै लागे । 

रघुनाथपुरमा स्कूल थिएन । सबै केटाकेटीलाई पढाउन दरभंगा नजिकैको लहेरियासरायमा राखियो ।  यसैबीच उनका पिताजी फत्तेजंगले नेपालगन्ज जाने निधो गरे । र, उनी आफ्नो परिवार बोकेर नेपालगन्ज पुगे । त्यहीँ उनले जग्गा जमिन जोडे । घर बनाए । 
त्यसबेला श्रीजंग १२–१३ वर्षका थिए । नेपालगन्ज बजारबाट केही पर जग्गा किनेर पिताजीले घर बनाएको सम्झना छ उनलाई । 

उनीहरु छ दाजुभाइ दिदीबहिनी थिए । उनका जेठा दाइलाई मामाले नै पढाउन राखे, आफैसँग । उनकी एउटी दिदीको टाइफाइडका कारण निधन भयो ।  त्यसको वर्ष दिनपछि उनका माहिला दाइलाई पनि टीबी रोगले समायो । त्यसबेला टीबी क्यान्सर भन्दा भयावह रोग मानिन्थ्यो । दुर्भाग्य, उनका माहिला दाइलाई कलकत्ता लगेर उपचार गराउँदा पनि बचाउन सकिएन ।  

नेपालगन्जमा त्यो बेला एक जना बंगाली डाक्टर थिए । तिनै डाक्टरले उनको माहिलो दाइलाई टीबी भएको ठहर्याई कलकत्ता पुर्याएका थिए ।

तिनै डाक्टरको सल्लाहमा श्रीजंगलाई पनि रोग सर्नसक्छ भन्ने आशंकामा नेपालगन्जमै रहेका उनको एकजना मामाको घरमा राखियो । पछि बंगाली डाक्टरको सल्लाहमै उनलाई उनका पिताजीले त्यसबेला एज्ुकेशन हब मानिएको शहर बनारस पठाए, पढ्नलाई । 
उनी बनारसको सेन्ट्रल हिन्दू स्कुलमा भर्ना भएर पढ्न थाले । उनले केही वर्ष बिताए बनारसमा । लगभग चार पाँच वर्ष । त्यहीँबाट उनले म्याट्रिक पास गरे ।

०००

बनारसमा पढ्दै गर्दा उनीसँग एउटा बंगाली साथी खुबै मिल्थे । म्याट्रिक पछि उनी कहाँ पढ्ने भन्ने बारेमा सोच्दै थिए । त्यसैबेला तिनका बंगाली साथीले आफूसंगै कलकत्ता जाउँ भने । त्यसो त बनारसमै पनि तमाम कलेजहरु थिए । तर उनी बंगाली मित्रको साथ लागे । उनी उच्च शिक्षा आर्जनका लागि कलकत्ता पुगे । र, करिब सात वर्ष कलकत्ता बसे ।  

उनी कलकत्ताको ब्रिटिशहरु पढ्ने कलेज सेन्ट पल कलेजमा बंगाली साथीसँगै भर्ना भए । उनले त्यहीँबाट राजनीतिशास्त्र विषय लिएर आइए, बीए, एमए सक्याए ।

कलकत्ताको पढाइका सन्दर्भमा घटेका केही घटना उनले सुनाए । उनी भन्दै थिए, ‘त्यसबेला एडी नाम गरेका प्रिन्सिपल थिए । उनी बेलायती थिए । खै किन हो, एडीले मलाई पनि गोर्खा भन्थे । उसले मलाई माया पनि खुबै  गर्दथे । गोर्खा भनेरै उनले मेरो कलेज फि आधा मिनाहा गरिदिएका थिए ।’ 

\"\"

भारतको स्वतन्त्रता संग्रामलाई उनले नजिकबाट नियालेका छन् । उनले कलकत्तामा भएको हिन्दु मुस्लीम दंगा र त्यसमा भएको नरसंहारलाई आफ्नै आँखाले देखेका छन् । त्यसबेला उनी बिएको फाइनलमा थिए ।  त्यसबेला कलकत्तामा करिब पच्चीस हजार मानिस मरे । यसलाई ग्रेट कलकत्ता किलिङ भनियो । उनीहरुसितै करिब दुई विद्यार्थी होस्टलमै थिए । 

हिन्दू मुस्लीम दंगाको विभत्स रुप देखेका तिनको अवस्था कस्तो थियो होला, अनुमान गर्न सकिन्छ । डर र त्रासका बीच उनीहरु होस्टलमा बस्दै आएका थिए । उनी सम्झिँदै थिए त्यो त्रासदीपूर्ण दारुण अवस्था, ‘कलकत्ता जस्तो ठाउँमा बत्ती थिएन । धारामा पानी थिएन । पसलहरु सबै बन्द थिए । हामी त होस्टलमा थियौं र बाँच्यौं । नभए त के हुन्थ्यो हुन्थ्यो । होस्टल ठूलो पर्खालले घेरिएकोले गर्दा पनि हामी बच्न सकेका थियौं सायद । यदि पर्खाल नाघेर र तोडेर आए हाम्रो साथमा रहेको हतियार भनेकै हकी स्टीक थियो ।’ 

कलकत्ताको नरसंहारकारी दंगा सामसुम भएपछि उनी घरतिर भागे । तीन चार महिना स्कूल कलेज सबै बन्द रहे । स्कूल कलेज खुलेपछि मात्रै उनी कलकत्ता फर्किए ।   उनले सम्झिए, ‘तीन चार महिना म घरै बसँे । जबसम्म कलकत्ता शान्त भएन पिताजीले पठाउनु भएन । शान्त भएपछि मात्रै म फर्किएँ कलकत्ता ।’

त्यसकै केही समयपछि भएको एउटा घटनाले कलकत्तामा रहेका नेपालीहरुलाई कलकत्तामा रहेका मानिसहरुले बहिस्कार गर्न थाले । नेपाली मूलका मानिसहरुले न त रिक्सा चढ्न पाउँथे, न त ट्राम चढ्न नै पाउँथे ।

यसरी कलकत्तामा भएका नेपालीहरुका लागि रासन पानीको व्यवस्था नै बन्द गरियो । पैसा भएपनि पसलमा गएर सामान नपाइने अवस्था सिर्जना भयो । शाहलगायतका कतिपय नेपाली होस्टलमै बस्थे । तर पनि तीन चार दिन सबै नेपालीलाई गाह्रो भयो ।

यसको मूल कारण थियो, गोर्खा पल्टनले गरेको फायरिङ । कुनै कारणवश गोर्खा पल्टनले एक पटक फायरिङ गरेका रहेछन् । त्यो फायरिङमा केही मानिस मरेछन् । त्यस पछि त गोर्खाले मारेको भन्दै नेपालीहरुलाई दुःख दिन सुरु गरे । 

त्यसबेला दमन शमशेर कलकत्तामा काउन्सिलर थिए । यस विषयमा उनलाई जानकारी त थियो नै । तर उनले पनि केही गर्न सकेनन् । कुरा माथिसम्म पुग्यो । तर समस्याको समाधान भएन । 

\"\"

श्रीजंगले भने, ‘एकदिन भारतीय कांग्रेसका सभापति कृपालानी कलकत्ता आए । उनले भाषण गरे, ‘यि नेपालीलाई किन दुःख दिएको । गोर्खा सैनिकलाई आदेश दिनेको पो गल्ती हो । यिनको के गल्ती, यसरी असहयोग गर्न छोड’ । उनले यति भनेपछि मात्रै त्यो असहयोग आन्दोलन हट्यो ।’

कलकत्तामा लामो समय रहँदा त्यहाँ रहेका नेपालीहरुसित पनि श्रीजंगको  सम्वन्ध रह्यो । यसै क्रममा उनको सम्पर्क सूवर्ण शमशेरका माहिला छोरासँग हुन गयो । त्यही सम्पर्कले गर्दा छुट्टीका दिन उनी सूवर्ण शमशेरको घरमा पुग्थे र उनका छोरा सित घण्टौ ब्याडमिन्टन खेल्थे । 

उनले त्यहाँ नेपालबाट आएका नेताहरुलाई देखे । विश्वेश्वर कोइराला, सूर्यप्रसाद उपाध्याय, गणेशमान सिंहहरु सूवर्ण शमशेर कहाँ गइरहन्थे । तर उनीहरु ब्याडमिन्टन खेली रहन्थे । राजनीति शास्त्र पढेकोले राजनीतिप्रति सचेतना थियो । तर राजनीतिमा लाग्ने रुची उनमा रहेन । त्यसैले प्रजातन्त्रप्रति आस्था राखे पनि राजनीतिमा उनको लगाव रहेन ।

उनी भन्छन्, ‘प्रजातन्त्र आओस् भन्ने भावना ममा थियो । हाम्रालागि एक किसिमको उत्प्रेरणा त मिल्थ्यो यसबाट । तर राजनीतिमा लाग्न मन लागेन ।’  कलकत्ताबाट पढाइ सिध्याएर आएपछि कहिले नेपालगन्ज त कहिले काठमाडौंको यात्रामा उनी सक्रिय रहे । त्यसबेलासम्म मुलुकमा प्रजातन्त्र आएर पन्ध्र सालको निर्वाचन सम्पन्न भइसकेको थियो । वीपी प्रधानमन्त्री भईसकेका थिए ।

एकपटक उनी आफ्ना मित्र डा. त्रिवेणीप्रसादका कारण काठमाडौं आए । डा. त्रिवेणी प्रसादको वीपीसँग राम्रो सम्बन्ध थियो । त्यसबेला डा. त्रिवेणी र डा. तुलसी गिरीलाई वीपीका राइट र लेफ्ट ह्याण्ड मानिन्थ्यो । डा. त्रिवेणीले प्रधानमन्त्री वीपीका अगाडि पु¥याए श्रीजंगलाई । त्यसबेला वीपीले भनेछन्, ‘मलाई याद छ, तपाईं सूवर्णजी कहाँ ब्याडमिन्टन खेल्नु हुन्थ्यो ।’

श्रीजंग त्यो सन्दर्भ सम्झिँदै भन्दैथिए, ‘मैले वीपीलाई त्रिपुरेश्वर स्थित गेष्ट हाउसमा भेटेको हुँ । प्रधानमन्त्री क्वाटर थियो त्यो । वीपीले त मलाई मार्क गरिरहेका रहेछन् । कस्तो तिक्ष्ण स्मृति !’ त्यसैबेला वीपीले श्रीजंगलाई नेपालगन्ज बसेर हुँदैन, काठमाडौं आएर केही गर्नुस् भनेर हौस्याए । उनले पनि पिताजीसित कुरा गरेर कान्तिपथमा घडेरी किने र घर बनाए । तर उनले तत्कालै काम थालेनन् । 

त्यसैबेला उनलाई कैलाली भन्सारमा जान भनियो । औलोको डर भएकोले उनी त्यहाँ जान मानेनन् । उनी केही समय यत्तिकै बसे ।  त्यसको केही समयपछि राजा महेन्द्रले वीपीलाई अपदस्त गरे । श्रीजंग नेपालगन्जमै थिए त्यसबेला । उनी नेपालगन्जै बसे ।  

राजा महेन्द्रको शासनकालको प्रारम्भमा बद्रिविक्रम थापा नेपालगन्जमा बडाहाकिम भएर गए । बद्रिविक्रमसँग उनको सम्पर्क भयो । राजा महेन्द्र नेपालगन्ज भ्रमणमा आएको बेला बद्रीविक्रमले श्रीजंगलाई महेन्द्रसँग भेटाउन लगे । महेन्द्रसँग उनको भेट भयो । कुराकानी भयो ।

\"\"

केही समयपछि उनको नियुक्ति नेपाल राष्ट्र बैंकको उच्च पदमा भयो । उनले त्यहाँ केही वर्ष काम गरे । पछि उनी अन्तर्राष्ट्रिय मुद्रा कोषमा नेपाल प्रतिनिधि भएर अमेरिका गए ।  यसरी उनले केही समय सरकारी जागिरमा बिताए । सरकारले जे जस्तो अह्रायो, त्यस्तै गर्दै गए । 

केही वर्ष विदेश बसेका उनी पछि तत्कालिन शाही नेपाल वायुसेवा निगमको सञ्चालक समितिमा मनोनित भए । त्यहाँ दुई टर्म काम गरे । उनले आफूले आरएनएसीको पहिलो बोइङ विमान खरीद गर्न गएको सम्झिँदै बैठक कोठाको ठूलो दराज माथि राखिएको बोइङको रिप्लीका पनि देखाए । 

०००

उनको मुमाको निधन पछि उनलाई लाग्यो माता पितालाई जन्म जन्मान्तर जीवित राख्न केही त गर्नै पर्छ । यही सामाजिक सोचले उनलाई नेपालगन्जमा फत्ते बाल आँखा अस्पताल खोल्ने उत्प्रेरणा दियो । उनले आफ्ना दाजुसँग पनि सल्लाह गरे । र, २०४३ सालको फागुनमा फत्ते बाल आँखा अस्पतालको स्थापना गरे । 

उनी भन्दै थिए, ‘मेरो मुमालाई आँखाको समस्या थियो । त्यसबेला भारतको उत्तर प्रदेशको लखनउ नजिक पर्ने सीतापुरमा एउटा प्रख्यात आँखा अस्पताल थियो । मुमाको आँखाको उपचार त्यहीँ गएर गराएको थिएँ । त्यसैले पनि नेपालगन्जमा आँखा अस्पताल खोल्नु जरुरी ठानेँ । यसै कारण पनि हामी दाजुभाइले आँखा अस्पतालको स्थापना गरेका हौं ।’ 

\"\"

अस्पताल खोल्ने कुरा त उठाइयो, तर यसका लागि व्यवस्थापन सजिलो काम थिएन । पछि शाहले वरिष्ठ आँखा रोग विशेषज्ञ डा. रामप्रसाद पोखरेलसँग कुरा गरे । उनले सहयोग गर्ने वचन दिए । डा. पोखरेलले नै स्वीस रेडक्रससँग कुरा मिलाए । र, स्वीससँग सहकार्यमा अस्पतालले काम गर्दै गयो । त्यसबीचमा नेपालमै दक्ष जनशक्ति पनि उत्पादन गरिँदै गइयो ।  दश वर्ष पछि स्वीस समूह फिर्ता गयो । 

आज आँखाका लाखौं बिरामीहरुको उपचार गरिसकेको यस फत्ते बाल आँखा अस्पतालले रजत वर्ष पनि मनाइसकेको छ । फत्ते बाल आँखा अस्पतालका संरक्षक श्रीजंग शाहले समाजसेवाको चर्चा गर्दै एउटा अर्को प्रसंग पनि सुनाए । उनी पशुपति क्षेत्र विकास समितिको स्थापनाकालमा पनि त्यसको उच्चस्तरीय समितिमा सक्रिय रहे । उनले पशुपति क्षेत्र विकास समितिका लागि करोडौं चन्दा उठाउन सक्रिय भूमिका खेले । यसैका लागि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका गाउँगाउँ पुगे ।

केही समयअघि उनले आफू बस्दै आएको कान्तिपथ स्थित करोडौं मूल्य जाने घर जग्गा फत्ते बाल अस्पताललाई दान दिए । आफू र पत्नी रुद्रकुमारीको शेष पछि अस्पतालको स्वामित्वमा जानेगरी उनले उक्त घर जग्गा दानमा दिएका हुन् । उनले छोरीको सहमतिमै सो घरजग्गा आँखा अस्पताललाई दान दिएको पनि बताए ।

अहिले पनि उनी वर्षेनी नेपालगन्ज पुग्छन् । सोही घरमा हामी बीचको कुराकानीलाई बीट मार्दै शाहले समाजसेवा आफैमा गाह्रो काम भएको बताए । उनी भन्दै थिए, ‘यो दान मैले लुकाएर दिएको होइन । मेरी छोरीको स्वीकृति लिएरै दान दिएको हुँ । मैले मेरो सम्पत्ति दान दिन त पाउँछु नि । यसका लागि मैले जनताबाट जुन मान सम्मान पाएँ, मेरा लागि त्यही नै ठूलो कुरा हो ।’ 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३१, २०७५  ०८:११
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
न्यायालयको अवहेलनाको लक्ष्मणरेखा
न्यायालयको अवहेलनाको लक्ष्मणरेखा
SubisuSubisu
Hamro patroHamro patro