ब्लग
एक जना महिला एउटा सानो बच्चा काखमा बोकेर र आर्को सायद ५।६ वर्षको बालक साथैमा लिएर कान्ति अस्पतालतर्फको बाटोबाट कतै जाँदै थिइन् । म चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगन्जबाट बाहिर निस्कँदै थिएँ । बाटो काट्ने ठाँउमा पुग्न लाग्दा ती बाबु सायद बाटा छेउछाउका पसलमा झुन्डिएका सामग्रीतिर आखाँ डुलाउँदै थिए । बालसुलभ प्रवृत्ति न हो । म त्यही बेला बाटो काट्न खोज्दै थिँए, बाबुगाडीको अगाडिको भागमा झन्डै ठोकिन पुगे । मैले पहिले नै उनलार्इ देखिसकेकाले गाडी रोकिसकेको थिए । गाडी अगाडि पुगेपछि बल्ल उनले थाहा पाए । झन्डै के भएको थियो भनेर । उनी सतर्क भए, आँखाले आमा खोजे । आमा अगाडि नै सडक पारी पुगिसकेकी थिइन् । उनी अलमलिए। मैले जाऊ भने । अनि उनले दौडेर आमाको हात समात्न पुगे, जिउमा टाँसिए ।
मैले सोचेको थिएँ आमाले उनलाई मुसार्ने छिन् र आत्तिएको बाल मनलाई सान्त्वना दिनेछिन् । भन्नेछिन - अबदेखि हात समातेर हिँड है, नभए त दुर्घटना हुनसक्छ । तर भइदियो उल्टो । जसै ती बाबु आमाको जिउमा लहसिए, आमाले त मुसार्छिन भनेको हातले कान पो उखेलिन् । कल्पनै नगरेको यस घटनाले मेरो मन त चसक्क भयो नै, बिचरा ती बालक पनि अक्क न बक्क भए । उनी आमासँग झन् टाँसिए । अब त माया गर्छिन् कि भनेर । तर, यसपटक त झन् आमाले उनलाई जगल्ट्याइन् र बीच बाटोतिर पो धकेलिदिइन् ।
यस्तो व्यवहारको अर्थ उनले सायद बुझ्नै सकेनन् । रुनु न के गर्नु भएर दीनहीन दृष्टिमा आमाको अनुहार बाटोकै बीचबाट टुलुटुलु हेरिरहे। आमा फटाफट अगाडि बढिन् । सायद ऊ अर्को गल्ती गर्ने अवस्थामा थिएनन्, आमा भएतिर दौडिए । पछाडिबाट हर्न बजेपछि मलाई पनि आफ्नो गल्ती अनुभव भयो र अगाडि बढेँ ।
तर मेरो मनमस्तिष्कमा यौटा प्रश्न उठिरह्यो । ती बालकको गल्ती चाँहि के थियो ? किन उनलाई आमाले पिटिन् ? बाबुआमाले किन त्यसरी बच्चालाई पिट्छन्?
आमाले पनि आफ्नो बाल्यावस्थामा सायद त्यस्तै भोगेकी थिइन् कि ? या बच्चा बोकेर घाममा हिँड्दाको थकाइले उब्जाएको आक्रोश वा जे पनि कारण हुन सक्छ । उनले बुझेर यसो गरेको नहुन पनि सक्छ । तर एउटा के चाहिँ पक्कै हो भने हाम्रो समाजमा बालबालिकालाई तहलाउन कुटेर वा डर त्राश देखाएरमात्र सकिन्छ भन्ने विश्वासको जरा दह्रोसँग गाडिएको छ । हामी बच्चाहरूलाई माया दिनुपर्ने ठाउँमा पनि गाली गर्छौ, पिट्छौं र शारीरिक हैकम कायम गर्न खोज्छौँ । बुझाउनु पर्ने ठाउँमा हकार्छौँ । यति पनि थाहा छैन भनेर अनेकौँ कटाक्ष गर्छौँ ।
बाल मनोवेत्ताहरू भन्छन् - हामीले बालबालिकालाई गरेको व्यवहार उनीहरूको बालमस्तिष्कमा जरा गाडेर बस्छ । तिनले वयस्क भएपछि नजानिदो गरेर कतिपय तिनै व्यवहार दोहोर्याइरहेका हुन्छन् । हिंसा, दुर्व्यवहार, शक्तिको प्रयोग, कठोरता, भेदभाव हाम्रा दैनिक क्रियाकलापमा यत्रतत्र सर्वत्र देखिन्छन् । र पछि त्यस्तै व्यवहार हाम्रा सन्तानले पनि गरिरहेका हुन्छन् ।
विद्यालयमा परीक्षाको परिणाम आएपछि हामी आफ्ना बच्चासँगै अरूका बच्चाको नतिजा पनि जान्न उत्सुक हुन्छौँ । प्रत्येक बालबालिकामा फरक क्षमता हुन्छ र ती सबैमा केही न केही फरक विशेषता हुन्छ भन्ने बिर्सिएर फलानो त त्यस्तो भयो, तैँले त केही पनि गर्न सकिनस् भन्छौँ । हाम्रा सबै टिप्पणी नकारात्मक हुन्छन् । हुँदैन, नगर, नखाऊ, नजाऊ भनेर हामी उनीहरूमा पनि नकारात्मकता र अज्ञात भय थोपरिदिन्छौँ । हामीलाइ थाहा छ, हिंसाले प्रतिहिंसा जन्माउँछ, दुर्व्यवहारले खराब व्यवहार नै बढाउँछ । अनावश्यक तुलनाले साथीप्रति नै बदलाको भाव उत्पन्न गर्छ भने अज्ञात भयले जिज्ञासा र कौतुहललाई मारिदिन्छ ।
कलिलै उमेरमा यस्ता निषेध र नकारात्मकता बीजारोपण गरेर हामी कस्तो समाज निर्माण गर्दैछौँ ? भर्खरै राष्ट्रिय बाल दिवस मनाइयौ । बाबुआमा, परिवार, शिक्षकलगायत समाजका सबै वर्ग र तहमा जनचेतना र पैरवी गर्दै सहज बालापन सुनिश्चित गर्न अब थप नकुरौँ । हातेमालो गरौँ र भनौ - आजको सहज बालापन, भोलिको सुनौलो आधार !
प्रकाशित मिति: मंगलबार, असोज ४, २०७३ १२:०९
प्रतिक्रिया दिनुहोस्