देश
काठमाडौं । मंगलबार बिहानै काठमाडौं उपत्यकाका विभिन्न १० ठाउँमा बम राखेर त्रास सिर्जना गर्ने नामै नसुनेको नया संगठनलाई कुनै शक्तिले प्रयोग गरेको हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
महानगरीय प्रहरी आयुक्त कार्यालयका अनुसार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र र योङ कम्युनिष्ट फोर्स नेपालले काठमाडौंका ९ र ललितपुरको सानेपामा गरी १० ठाउँमा बम राखेको थियो ।
काठमाडौंका ९ वटा स्कुल र ललितपुरको सानेपामा राखिएको बममध्ये २ स्थानमा आफैं विष्फोट भएको थियो भने ८ ठाउँमा नेपाल आर्मीको बम डिस्पोजल टोलीले बम डिस्पोज गरेको थियो ।
यो समूहले यसअघि पनि काठमाडौंको डल्लुस्थित इन्डिएन मोडर्न स्कुलको बस जलाएको थियो ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले बन्द गरेका दिनमा स्कुल बस जलाएपछि प्रहरीले सोही समूहको हात हुन सक्ने भन्दै अनुसन्धान अघि बढाएको थियो । महानगरीय आयुक्त कार्यालयका प्रवक्ता शरद चन्दले बाहखरीसँग भने, “हामीलाई विप्लव माओवादीले परिचालन गरेको हुन सक्छ भन्ने लागेको थियो । अनुसन्धान गर्यौ तर नयाँ पार्टी देखियो ।”
राजनीतिक रूपमा देखा नपरेको पार्टीले यसरी आतंक फैलाएपछि त्यसको पछाडि अन्य कुनै शक्तिको हात रहेको हुन सक्ने प्रहरीको अनुमान छ । “हामीले यसमा सचेत भएर अनुसन्धान अघि बढाएका छौं । १० ठाउँमा बम राखेर आतंक सिर्जना गर्नु सानोतिनो कुरा हैन,” प्रवक्ता चन्दले भने, “विद्यालय हातामा यसरी बम राख्नु आफैंमा ठूलो अपराध हो । हामीले यसलाई गम्भीर रूपमा लिएका छौं । बम राख्ने २ जनालाई नियन्त्रणमा पनि लिएका छौं ।” घटनाबारे अनुभवी अनुसन्धान अधिकृत खटाएर काम सुरु गरिएको र छिटै नतिजा आउने प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, असोज ४, २०७३ ११:०७
प्रतिक्रिया दिनुहोस्