site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बिनासुरक्षा फोहोर व्यवस्थापनको काम, यस्ता हुन्छन् स्वास्थ्य जोखिम

काठमाडौं । टाढैसम्म दुर्गन्ध फैलिने फोहोरको डगुंरमाथि करिब ३५ वर्षकी मनिता माझी (नाम परिवर्तन) घोप्टो परेर केही छानिरहेकी थिइन् । उनले न मास्क लगाएकी थिइन् न हातमा पन्जा, न खुट्टामा जुत्ता नै । यस्तो फोहोरमा किन मास्क नलगाई काम गर्नुभएको भनेर सोध्दा भन्छिन्, “दमको रोग छ, मास्क लगाउँदा सास फेर्न गाह्रो हुन्छ ।” उनी ३ वषदेखि दैनिक ८ देखि १२ घण्टा राजधानीका टोल–टोलमा फोहोर उठाउने काम गर्छिन् । 

“सुरुका दिनमा फोहोरमा काम गर्दा खाना खान मन नलाग्ने हुन्थ्यो । कति दिन त खाना नै खान सकिएन घिन लाग्थ्यो, तर विस्तारै बानी भयो,” उनले सुनाइन्, “फोहोरको काम गर्दा बान्ता आउने, रुघा लाग्ने, सिसा र फलामले हातखुट्टा काट्छ ।” ज्वरो आउने, दम बढ्ने समस्याले पनि उनी थला परिरहन्छिन् । फोहोरको कामले शरीर पनि फोहोर हुने र दिनहुँ नुहाउनुपर्ने हुँदा जाडो मौसममा उनी बढी बिरामी हुन्छिन् । फोहोरमा काम गरेबापत मासिक ८ हजार रुपैयाँ तलब पाउने उनी बताउँछिन् । 

मोरङका ५० वर्षीय ललित पौडेल (नाम परिवर्तन) पनि २ दशकदेखि राजधानीमा फोहोरको काम गर्दै आइरहेका छन् । उनी  दैनिक बिहानै करिब २ सय २५ घरको दैलोमा पुगेर फोहोर बटुल्छन् । फोहोर छुँदा अपनाउनुपर्ने सुरक्षाबारे उनलाई राम्रोसँग जानकारी छ तरपनि सुरक्षा कहिल्यै अपनाउँदैनन् । उनी भन्छन्, “पञ्जा लगाएर काम गर्दा ढिलो हुन्छ । बुट लगाएर धेरैबेर काम गर्दा खुट्टाको औंला पाक्छ, गर्मी हुन्छ ।” फोहोरको काम गरेर उनी मासिक मुस्किलले साढे दश हजार रुपैयाँ कमाउने बताउँछन् । उनलाई पनि फोहोरमा काम गर्न थालेदेखि नै टाउको दुख्ने समस्या छ । 

काठमाडौं महानगरपालिकाको तथ्यांकअनुसार राजधानीमा मात्रै ७ सय ५० मजदुर फोहोर व्यवस्थापनमा संलग्न छन् । कामनपा वातावरण विभागका प्रमुख हरि कुँवर फोहोरजस्तो संवेदनशील ठाउँमा काम गर्नेले अनिवार्य रुपमा मास्क, सुरक्षित कपडा, पन्जा, हेल्मेट र छाला नदेखिने खालको जुत्ता लगाउनुपर्ने तर कमैले मात्र सुरक्षा अपनाउने गरेको बताउँछन् । 

फोहोरमा काम गर्ने मजदुर अरुभन्दा बढी सरुवा रोगको जोखिममा र संक्रमणको उच्च जोखिममा रहने चिकित्सक बताउँछन् । “सुरक्षा अपनाई काम गर्दा जोखिमको सम्भावना कम हुन्छ । सुरक्षा नअपनाई काम गर्दा मौसमी भाइरसको संक्रमण, झाडापखाला, हैजा र महामारीले छिटो आक्रमण गर्छ । समुदायमा रोग सार्ने पहिलो संक्रमित स्रोत पनि यस्तै व्यक्ति हुन्छन्,” सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले भने ।

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. विवेक कुमार लालका अनुसार फोहोरमा काम गर्ने मानिसहरुले फोहोर समातेकै हातले आँखा, नाकमुखजस्ता अंग छुँदा  विभिन्न रोगको संक्रमण फैलिन्छ । फोहोरमा काम गर्ने मानिसमा बढीजसो छालाको रोग र आँखा पाक्ने समस्या डा. लाल बताउँछन् ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, साउन ९, २०७५  ०९:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro