काठमाडौं । प्रसवको समयमा गर्भवति महिलालाई भ्याक्सिनको माध्यमबाट दिइने औषधी अक्सिटोसिनको जथाभावी प्रयोगले आमा र बच्चा दुवैको स्वास्थ्यमा गम्भिर असर पार्ने चिकित्सकहरुले बताएका छन् । अक्सिटोसिनलाई औषधि कम्पनी र पसलेले उचित तापक्रममा नराखेको र त्यसैका कारण उपचार प्रभावकारी हुन नसकेको उनीहरुको ठम्याइ छ । प्रसवका बेला पाठेघर खुलाएर बच्चा जन्माउन सहज बनाउन दिइने भ्याक्सिन हो, अक्सिटोक्सीन ।
प्रजनन् स्वास्थ्य निर्देशिकाअनुसार सन् २००६ देखि नै प्रसूतिको पहिलो र दोस्रो चरणमा अक्सिटोसिन इन्जेक्सन प्रयोगमा बन्देज लगाइसकिएको स्वास्थ्य सेवा विभागअन्तगर्तको परिवार स्वास्थ्य महाशाखाका निर्देशक डा. तारानाथ पोखरेल बताउँछन् । “अक्सिटोसिन अत्यन्त संवेदनशील भएकाले हामीले सबै सरकारी स्वास्थ्य संस्था र अस्पताललाई प्रसूतिको तेस्रो चरण अर्थात् बच्चा जन्मेपछिको अत्यधिक रगत बग्ने समस्या रोक्नलाई मात्र यो औषधि प्रयोग गर्न भनेका छौं,” उनले भने, “अक्सिटोसिनको प्रयोगमा लापरबाही भयो भने मुटुको चाल एकदमै कम वा बढी भएर बच्चाको मृत्युसमेत हुन सक्छ ।”
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जकी स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. अर्चना अमात्यका अनुसार सुत्केरीलाई अक्सिटोसिन इन्जेक्सन दिएर पनि पाठेघर खुम्च्याएर बच्चा निकाल्न नसकेको पाइन्छ । “अक्सिटोसिन प्रयोग गर्दा पाठेघर नखुम्चिएपछि पेट चिरेर बच्चा निकाल्नु परेको छ । गुणस्तरहीन अक्सिटोसिनका कारण पनि यस्तो भइरहेको छ,” उनी भन्छिन् ।
गत वर्ष फागुनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘प्रजनन् स्वास्थ्यसम्बन्धी औषधीको गुणस्तर मापदण्ड र व्यवस्थापन’ विषयमा अनुगमन गर्न डा. सुशीलनाथ प्याकुरेलको संयोजकत्वमा समिति गठन गरेको थियो । सो समितिले पनि ‘मातृमृत्युको प्रमुख कारण पोस्टपार्टम हेम्रेजमा प्रयोग हुने अक्सिटोसिनको भण्डारण तापक्रम विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार २ देखि ८ डिग्री सेल्सियस हुनुपर्नेमा बजार अनुगमनमा फरक–फरक तापक्रममा भण्डारण गरेको पाइएको’ प्रतिवेदन दिइएको थियो ।
गर्भवती अवस्था, प्रसूति अवस्था र सुत्केरी भएको वा गर्भपतन गराएको वा गर्भ आफैं खेर गएको ४२ दिनभित्र गर्भसँग सम्बन्धित कारणले हुने मृत्युलाई मातृमृत्यु भनिन्छ । नेपाल दक्षिण एसियामै उच्च मातृ मृत्युदर हुने मुलुकको पहिलो स्थानमा रहेको छ । स्वास्थ्य सेवा विभागले सन् २०२० सम्ममा मातृ मृत्युदर प्रतिलाख १२५ मा झार्ने लक्ष्य राखेको छ । सन् २०१४ मा अमेरिकाको युनिभर्सिटी अफ नर्थ क्यारोलिनाले ‘विकासशील देशमा मातृ हेरचाह र अधिक औषधिको प्रयोग’ शीर्षकको अध्ययन प्रतिवेदनमा नेपालमा प्रसूतिको पहिलो र दोस्रो चरणमा ३१.१ प्रतिशत अक्सिटोसिनको प्रयोग हुने गरेको देखाएको थियो । प्रतिवेदनले अक्सिटोसिन प्रयोगमा भएको लापरबाहीले नेपालसहित पश्चिमी अफ्रिकी मुलुकमा गर्भवति महिला र नवजात शिशुको मृत्यु बढाएको देखाएको थियो ।
त्यसैगरी नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ अनुसार १५ देखि ४९ वर्ष उमेर समूहका महिलामध्ये ४१ प्रतिशत रक्तअल्पताबाट पीडित छन् । चिकित्सा महाशाखाका पूर्व प्रमुख एवं अध्ययन टोली सदस्य डा. भोलाराम श्रेष्ठ अक्सिटोसिनको उत्पादनदेखि प्रयोग गर्ने बेलासम्म तापक्रम ‘मेन्टेन’ नगरेको पाइएको बताउँछन् । उनले भने, “अधिकांश जिल्ला अस्पतालले अक्सिटोसिनको कोल्डचेन मेन्टेन नगरेकाले औषधी व्यवस्था विभागलाई उत्पादनदेखि प्रयोगसम्म गुणस्तर अनुगमन गर्न भनेका छौं ।”
औषधी व्यवस्था विभागका प्रवक्ता सन्तोष केसी जनशक्ति अभावका कारण औषधीको गुणस्तर जाँच्न नसकेको तर्क गर्छन् । परिवार स्वास्थ्य महाशाखाले गत आर्थिक वर्षमा टेन्डरमार्फत् ८० लाखमा ५ एमएलका चार लाख अक्सिटोसिन इन्जेक्सन भारतबाट खरिद गरेको थियो । अहिले तिनै औषधि जिल्लाका अस्पताल र आमा सुरक्षा कार्यक्रममा निःशुल्क वितरण भइरहेको छ । खोप महाशाखाका खोप अधिकृत शान्तिराम खतिवडाले अक्सिटोसिनलाई १६ देखि १७ डिग्री सेल्सियसको तापक्रममा राखिएको बताए ।
वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. अर्चना अमात्यले प्रभावकारी अनुगमन नहुँदा यसबारे स्वास्थ्यकर्मीलाई पर्याप्त जानकारी नभएको बताइन् । “अक्सिटोसिन औषधीको मनपरी प्रयोगले कति आमा र बच्चाको ज्यान लिइसकेको हुनसक्छ,” ”उनी भन्छिन् “गुणस्तर कायम हुन नसकेका औषधीले मातृ मृत्युदर बढाउन भूमिका खेलिरहेको छ ।”
औषधि व्यवस्था विभागको आर्थिक वर्ष २०७३–७४ को वार्षिक प्रगति प्रतिवेदनअनुसार ५८ र चालू आव २०७५–७६ को दोस्रो चौमासिक प्रगति प्रतिवेदन अनुसार ७९ वटा औषधी पसलले अक्सिटोसिनसहितका भ्याक्सिनलाई उचित तापक्रममा नराखेको पाइएको जनाएको छ ।
विश्व स्वास्थ्य संगठनले अक्सिटोसिनलाई पोस्टपार्टम हेम्रेज हुनबाट रोक्न चलाइने ‘फस्र्टलाइन’ औषधीअन्तर्गत राखेको छ । अत्यन्त संवेदनशील यो औषधीलाई एक ठाउँबाट अर्को ठाउँ पुर्याउँदा पनि रेफ्रिजेरेटर आवश्यक पर्छ ।
वरिष्ठ स्त्री रोग विशेषज्ञ विमला बछारका अनुसार लामो समयसम्म सुत्केरीलाई व्यथा नलागेमा अक्सिटोसिन औषधी भ्याक्सिनको माध्यमबाट दिने गरिन्छ । अक्सिटोसिनले पाठेघरलाई खुम्च्याएर बच्चा जन्माउन सहज बनाउँछ । गर्भवतीको सुत्केरी अवस्थामा १० मिनेटमा तीन पटकसम्म पाठेघर खुम्चिनुपर्छ । पाठेघर चार सेन्टीमिटरसम्म खुल्यो भने कडा व्यथा लाग्छ र १० सेन्टीमिटरसम्म पाठेघर खुल्यो भने बल्ल बच्चा बाहिर निस्कन्छ । १० सेन्टीमिटरसम्म पाठेघर नखुलेको अवस्थामा अक्सिटोसिन औषधी माध्यमबाट दिने गरिन्छ ।