ब्लग
मलाई थाहा छ, धरामा म अजम्बरी जन्मेको होइन, एक दिन देह त्याग गर्नु नै छ । तर, म चाहन्छु मेरो मृत्यु भयावह नहोस्, बाँचेकाहरू लामो समयसम्म मृत्यु कुर्ने सकसमा धेरै बेर पोलिन नपरोस् । आयुको कसैले पनि पूर्वानुमान लगाउन सक्दैन । काल कहिले र कहाँ आउँछ सायद काललाई नै थाहा हुँदैन ।
मलाई लाग्छ, मेरो हिस्साको जीवन किस्सा अझै बाँकी छ । दुःख जोतेर सुख उमार्न पाएको छैन । खुसीको फल अझै आकाशभन्दा तल झरेको छैन । तै पनि समय बढो निर्दयी भएर आयो । दुई महिना म क्यान्सर कुरेर अर्थात्, सम्भाव्य मृत्युको हिसाबकिताब गरेर बसेँ ।
साँडे दुई महिनाअघि नियमित स्वास्थ जाँचको सिलसिलामा अमेरिकी स्वास्थ (अ)व्यवस्थाअनुसार सम्बन्धित 'प्राइमरी केयर फिजिसियन'कोमा समय लिएर पुगेँ । उच्च रक्तचापको ओखतीका लागि डाक्टरी सिफारिस लिनु थियो । विगत २-३ महिनादेखि घाँटीमा सानो डल्ला गिर्खा देखिएको थियो । मलाई थाहा भएसम्म सानै छँदादेखि नै समयसमयमा डल्ला आउँथ्यो, प्रायः स्वास्थ्य अलि कमजोर भएको बेला वा रुघाखोकी लागेको बेला । पूर्ण स्वस्थ भएपछि आफैँ हराउँथ्यो । 'सालिभारी ग्ल्यांड' वा 'लिम्फ़ नोड' सुन्निएको वा दुवै अवस्था हुनसक्थ्यो ।
मैले उक्त डल्ला बढेको बताएँ र पुरानो कथा पनि कहेँ । डाक्टर साहिबाले यो जे पनि हुन सक्छ, ट्युमर अर्थात् क्यान्सर हुन सक्छ भन्नुभयो । धुम्रपानको विगत इतिहासले झनै शंका लाग्यो, शंकाले लंका जलायो । अल्ट्रासाउन्ड गरेर हेर्नुपर्छ, तुरन्त अल्ट्रासाउन्ड गर्नु भन्नभयो । छ महिनाअघिको नियमित स्वास्थ जाँचमा पिसाबमा छिटपुट रक्तकोषिका देखिएको तर खासै ठूलो कुरा हैन भनिएकाले वास्ता नगरी बसेको थिएँ । डाक्टर परिवर्तनसँगै नयाँ डाक्टर साहिबाले फेरि एकपल्ट पिसाबको हिसाब गरौँ न त भन्नुभयो । दुई सातापछि फलोअपका लागि आउनु भन्नुभयो । मनमा अनेक तर्कना बोकेर “हस् न नमस्ते” गरेर फर्कें । भोलिपल्ट नै अल्ट्रासाउन्ड गर्न गइयो । धन्न एकै दिनमा समय पाइयो नत्र अमेरिकामा डाक्टरी समय र स्वास्थ्य संस्थामा समय पाउनु गाह्रै हुन्छ ।
अल्ट्रासाउण्ड गर्ने टेक्निसियन भाइले यो लिम्फ़नोड़ सुन्निएकोजस्तो छ, रेडियोलोजिस्टले हेरेर पत्ता लगाउँछ भने । आधा ढुक्क भएँ । मेरो अनुमानमा टेक्निसियन भाइले सहमति जनाए ।
दुई सातापछि डाक्टरको गएँ । जानेबित्तिकै 'एउटा सुखद समाचार छ, घाँटीमा क्यान्सर छैन, लिम्फ़नोड़ सुन्निएको नै हो' भन्नुभयो । बाँकी रहेको आधा ढुक्क पनि पूरा भयो । तर ..... । धेरै ठाउँमा धेरै चोटी “तर” मा “मर “ भएको मान्छे म । तर्सिहालेँ ।
तर के ? मैले सोधे मसिनो आवाजमा । पिसाबको हिसाबमा फेरि गडबड देखियो । अलिकति रातो रक्तकणको अवशेष शेष रह्यो । त्यो चाहिँ चिन्ताको विषय हो रे !
केही बेरअघिसम्म घमाइलो मनमा घनघोर मेघ गर्जियो डाक्टर साहिबाले जब भन्नुभयो - “मलाई कारण त थाहा भएन तर किडनीको, पिसाब नलीको वा पिसाब थैलीको क्यान्सरले गर्दा पनि यस्तो हुनसक्छ । किडनीमा संक्रमण भएर वा किडनीमा पत्थरी भएर पनि रक्तकण देखिनसक्छ । यसैले म युरोलजिस्टलाई रेफर गर्छु सकेसम्म चाँडै समय लिइहाल्नुस् ।" फेरि एकपल्ट १५ दिनमा ३ वटा सम्भाव्य क्यान्सरलाई आँखा अगाडि ताण्डव नृत्य गर्दैगरेको देखेँ ।
भारि मन लिएर रिफरलको कागजात सहित डाक्टरको अफिसबाट निस्केँ । भनिएका युरोलोजिस्टसँग १५ दिनपछिमात्र समय रहेछ । आफूलाई भने अहिल्यै देखाउनु पाए हुन्थ्यो भनेजस्तो छटपटी भइरहेको थिएँ । फेरि आफ्नो डाक्टरलाई सोधेँ - “१५ दिन कुर्न मिल्छ कि मिल्दैन ?" भनेर । सबै युरोलोजिस्टको यस्तै हुन्छ, "१५ डेज इज ओके" रे !
“पीडा छ हनुमानजी पीडा” भनेर पीडा सुनाउने हनुमानजी थिएनन् यस अमेरिकामा । पन्ध्र दिने तनाव पलपल मर्दै बाँच्दै कुरेँ । पालो आयो, डाक्टरसँग भेट भयो । पिसाबको नमुना फेरि लिए । प्राइमरी केयर फिजिसियनको रिफरल हेरे । अब तिमीले सिटि स्क्यान (युरोग्राम) गर्नुपर्छ, ब्लड टेस्ट गर्नुपर्छ । पिसाब र रक्तको नमुनामा क्यान्सरको कोषिका छ कि छैन त्यो पनि हेरिन्छ । सबै रिपोर्ट आएपछि क्यामरा घुसाएर पिसाब नली र पिसाब थैली जाँच गरिन्छ भनेर फरर समय बचत गर्दै स्पेसलिस्ट डाक्टर साहबले स्पेशल कुरा राख्नुभयो ।
"हैन डाक्टर साप, मलाई भएको चाहिँ के हो ? किन आयो त्यो रगत ?"
डाक्टरले भन्नुभयो - "रगत देखिने आकारमा छैन, यो त माइक्रोस्पिक थियो यो क्यान्सरका कारण पनि हुनसक्छ"। म झस्केँ यो त माइक्रोस्पिक रक्त कोष रे !
डाक्टर साहिबाले आधा मारेकी थिई, विशेषज्ञ सापले पूरै मारे । जम्मै टेस्ट गराएर फेरि आउनु, एपोइन्टमेन्ट लिएर जानु भन्ने आदेश भयो । बीचमा लामो सप्ताहान्त परेकाले डाक्टर साहेबको छुट्टी रे पूरै साता । बीस दिनपछिको समय पाइयो । दक्षिणा बुझाउँदै सबै टेस्ट गर्न गइयो । सीटी स्क्यान गर्ने वरिष्ठलाई के भा'को रहेछ भनेर सोध्दा, हामीले भन्न मिल्दैन, रेडियोलोजिस्टले हेरेर भन्छ – पो भन्यो । 'दालमे कुछ काला तो है'जस्तो लाग्यो । टेस्ट त सकियो तर फाइनल अझै बाँकी थियो । बीस दिन फेरि ३ वटा सम्भावित क्यान्सर कुर्नै पर्नेभयो । हाँस्ने दिन त गए गए रुन पनि सकिएन । मानौ, सबै आँसु त्यही सम्भाव्य कुसमाचार कुरेर बसेका छन् । एकैपल्ट घनघोर वर्षेर बगाउन चाहन्छ ।
जति जति गुगलेश्वर महादेवको शरणमा गयो त्यति त्यति कहाली लाग्दो ज्ञान बढ्ने । दुईचार प्रतिशत यो क्यान्सर, ५ - १० प्रतिशत त्यो क्यान्सर । गुगल सर्च गर्दा धेरै तर्साए पनि कालो बादलमा चाँदीको घेरा चाहिँ देखें । एकदुई प्रतिशतको चाहिँ विनाकारण पिसाबमा रगत मिसिन्छ रे ! कहिल्यै ५०% मा त जित्न नसकेको मान्छे म, एकदुई प्रतिशतमा मृत्यु जित्ने हौसला बोकेँ ।
कहिले यसलाई सम्झे कहिले उसलाई । भगवान, अल्लाह , जिससलाई सम्झे । गुनासो गरेँ - “जिन्दगीमा मैले दुःखमात्र पाएको छु, दुःखपछि सुख हुन्छ भनेको खै ? यही हो तिमीहरूको न्याय ? जानेसम्म कसैको कुभलो गरेको छैन, इमान बेचेको छैन । हो अलि अल्छीश्वर महादेवको भक्त छु, त्यति खराबी छ ममा । सराबी कहिल्यै भइएन । झिल्के बन्न चुरोस चाहिँ तानेको हो । त्यति धेरै पनि तानेको थिएन हो, यति चाँडै माथि तान्नलाई । चार सहिदमध्ये दुईलाई गोली हान्ने नरशमशेर १०३ वर्ष बाँचे । हाम्रो टोलका नामुद छुल्याहा बूढा ९४ वर्षसम्म छिड्की हान्दै बसे । देश डुबाउने नेता जम्मै ७० को नेटो कटिसके । पाप र पुण्यको मुल्यांकन सही हुँदो हो त नरपिचासहरू पिसाब फेर्दाफेर्दै ठाउँका ठाउँ जानुपर्ने ! तिमीहरूको पनि सिन्डिकेट छ कि क्या हो ? भाग शान्ति जयनेपाल छ कि क्या हो ? "
भगवान पत्थरकै भइरह्यो, जिसस सुली मै झुन्डिरह्यो, अल्लाह अदृश्यै भयो । बुद्धको मुक्तिको जुक्ति हो कि अलिकति शंका त्यता रह्यो ।
स्पेसलिस्ट सापले फाइनल नतिजाको लागि बोलाएको दिन नजिक आउँदै थियो, फेरि फोनको घन्टी बज्यो । समय अलिकति गडबड भयो रे, कि एकाबिहानै आउनु कि दिउसो रे । भनेको समयमा न मिल्ने भयो रे । दिउसो न मिल्ने भए एक सातापछि अर्को लोकेसनमा आउनु रे । भयो अब .... । 'ब्याड लकै' खराब भनेको यही होला । बल्लतल्ल लिएको समय त्यो पनि आफ्नो डेरा नजिकको भन्दा २६ माइल परको क्लिनिकमा । दिउसो त के मध्यरातिमा बोलाए पनि आउँछु भन्दिएँ । लौ जा !
मनभरी भय त्रास, कालको अट्टहास के के बोकेर गइयो । धन्न गाडीमा नारायण दाइको गीत बज्दै थियो । नारायण दाइको गीतसँगै पीडा हल्का हुनेरहेछ । लाखौँ पल्ट सुनेको गीत झन् कर्णप्रिय लाग्दैथियो ।
निर्धारित समयभन्दा छिटो पुगिएछ । कुर्ने र घुर्ने दुई चिज लास्टै मन नपर्ने मलाई । बल्ल समय आयो । के के हिसाब होला भनेको फेरी पिसाब नमुना देऊ पो भन्छ बा ! नमुनालाई बट्टामा बन्द गरेर आउनेबितिक्कै भित्र कोठामा लगियो । शरीरमा क्यामरा घुसाएर हेर्ने रे ! एउटा इन्जेक्सन घोचेर गई एउटी काली । दुख्यो भनेर सोध्दै थिई । त्यो सियोको घोचाइभन्दा हजार गुना दुखाइ क्यान्सर कुर्नुमा थियो । त्यस डाम्नीलाई के थाहा ?
आधा घन्टासम्म त्यो प्रोसिजर टेबुलमा लम्पसार । सिलिङ हेर्नुबाहेक कुनै विकल्प थिएन । सिलिङ रंगहीन, आकारहीन थियो । लाग्यो आफ्नै जिन्दगीजस्तो सिलिङ रहेछ । सिलिङमा गढ़िएको बत्ती कहिले मधुरो हुन्थ्यो कहिले चम्किलो । जिन्दगीलाई जिस्क्याउन प्रकाश पनि लागिपरेजस्तो ।
डाक्टर साहेब आउनेबित्तिकै प्रक्रिया सुरु गरिहाल्यो । ऐय्या आत्थु भन्न पाएको छैन सकियो रे ! काम तमाम भएपछि बल्ल डाक्टर साहबले पान्डोराको बक्सा खोल्न थाल्नुभयो ।
क्यान्सरको कुनै सेल भेटिएन, कुनै इन्फेक्सन छैन, किड्नी ठीक छ, मुत्र नली र मुत्र थैली पनि सही सलामत छ । डाक्टर उवाच - " सबै सन्देह दूर भयो । आत्तिनुपर्ने केही पनि छैन । सबै अंग राम्रै अवस्थामा छन्, राम्ररी काम गर्दैछन् । तपाईँ छ महिनामा एकपटक फेरि जँचाउन चाहिँ आउनुहोला ।"
दुई महिनाभन्दा बढी क्यान्सर कुरेपछि डाक्टरको यो वाणी त देववाणी नै सुनेजस्तो भयो । मुर्दाघरबाट जर्याकजुरुक्क उठेजस्तो भयो । के गरूँ ? कसो गरूँ ? भयो । डाक्टरकोमा बुझाएको एकमुष्ठ डलरको बाहेक अरू सब पीडा छुमन्तर भए । भोक बेसरी लाग्यो । डाक्टरको अफिस अगाडि नै चिकेन चाउचाउको रेस्टुराँ रहेछ, एक थाल भात खाएँ । अनि ढ्याउ गर्दै जिन्दगीको नयाँ इपिसोड सुरु गर्न निस्केँ ।
नारायणदाइको गीत बज्दैथ्यो - पिउँदापिउँदै जिन्दगी यो रित्याउन चाहन्छु म, आज सारा व्यथालाई सिध्याउन चाहन्छु म ।
प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७३ १२:३४
प्रतिक्रिया दिनुहोस्