ब्लग
शिव प्रकाश
सेप्टेम्बर १० शनिबारको सुकिलो बिहानी । ओछ्यानमै छु, एक भाइमित्रले फोनमा सोध्नुभो, ‘हेलो.... त्यो फोटो कसले खिचेको हो ?’
‘...ले !’
नाम सुन्नेबित्तिकै उनलाई एउटा बलियो आशंकाको भूतले ‘जबरजस्त’ एक थप्पड लगाएछ ।
‘ल, अब त्यसले लफडा गर्छ !’
नभन्दै ती फोटोग्राफरले फेसबुकमा लेखिसकेछन् – ‘आफूले खिचेको फोटो बिनाक्रेडिट प्रकाशित हुँदा चसक्क हुँदोरहेछ । मिडियाले फोटोलाई माया र फोटोग्राफरलाई हेला गर्नु खेदपूर्ण ।’
सोही दिन अमेरिकी समय ११.५० बिहान । तिनै फोटोग्राफरले स्क्रिन सट पठाए । एक घन्टाअगाडि लेखिएको रहेछ । हेरेँ, नाजायज लागेन । स्वाभाविकै हो क्रेडिट खोज्नु, पाउनुपर्छ भन्ने लाग्यो ।
बाह्रखरीका कला साहित्य सम्पादक लेनिन बञ्जाडेलाई पुनः ईमेल गरें – ‘फोटो क्याप्सनमा ‘फोटो बाइ... लेख्ने हो कि ? फेसबुकमा इस्यु उठिसक्यो, धन्यवाद ।’ प्रधान सम्पादक प्रतीक प्रधानलाई कपी गरेको थिएँ । जानकारी फोटोग्राफरलाई पनि गराएँ ।
एकैछिनपछि बाह्रखरीबाट रिप्लाई आयो, ‘डन’ ! अर्थात् भयो । बोल्ड अक्षरमा ‘तस्बिर सौजन्यः ... ... ।’ समय १२ः१५ दिउँसो ।
ढुक्क भएँ । अब ‘साथी ...’ले लफडा गर्ने छैनन् । उनले खोजेको भयो, फोटोको क्रेडिट पाए ।
तर, मेरो विश्वास एकैछिनमा बालुवाको पानी भयो । अघिसम्म त ठीकै थियो, अब भने सुरु गरेछन् ‘लफडा’ । ती ‘प्रोफेसनल’ फोटोग्राफरले त फेसबुक स्ट्याटस सच्याएर थपिसकेछन्, ‘वाटरमार्क मेट्नु अनइथिकल हो, अनुमति नलिई कसरी प्रकाशित गर्न सकेको होला ?!’
फोटोमा क्रेडिट माग्नु ‘अनइथिकल’ थिएन, तर पाएपछि कुरा गयो अर्को नयाँ ‘इथिक’मा । यो पनि ठीक छ, इथिक चाहिन्छ । बाह्रखरीलाई फोटो मैले दिएको हुँ । पाँच–सातवटा पठाएको थिएँ, तीमध्ये बाह्रखरीले त्यही फोटो छानेछ ल्यान्डस्केप चाहिने हुनाले । अरू सबै पोट्रेट थिए ।
मैले बाह्रखरीका अरू केही डिजाइन पनि हेरेँ । कुनैमा पनि त्यस्तो वाटरमार्क देखिनँ । लाग्यो, मिडियाको आफ्नो चलन होला । फोटोको क्रेडिट दिइसक्यो, वाटरमार्क किन चाहियो ? कला साहित्य सम्पादक लेनिन बञ्जाडेले मिडियाका तर्फबाट ‘छुटेकामा क्षमा चाहन्छौँ’ भनिसके ।
काममै थिएँ, जे लेखुन् तिनले भन्ठानें । अरू कुरा वास्ता गरिनँ ।
केहीबेरपछि फेसबुक खोलेँ । झन् ठूलो लफडा ! फोटोग्राफरले केही म्यासेज पठाइसकेका रहेछन् ।
अंग्रेजीमा लेखिएको म्यासेजमा मैले बुझेसम्म लेखिएको थियो– ‘क्रेडिटको कुनै अर्थ हुँदैन । कुनै मिडियामा दिने इजाजत छैन तिमीलाई । प्रकाशित गर्ने अधिकारका लागि तिमीले यो फोटो किन्नुपर्छ । हामी प्रोफेसनल बनौं । ..... फलानाले किने ।’ आदिआदि ।
सँगै अर्को म्यासेज, ‘यस्तै भयो अर्को लेखकसँग, उनीहरूले मसँग सेटल (चुक्ता) गरे । बाइ द वे, इन्टरभ्यु राम्रो थियो ।’
‘प्रोफेसनालिज्म’को कुरा क्रेडिटबाट इथिक, इथिकबाट पैसामा पुग्यो ।
गएको फेब्रुअरी १५ मा मेरो फेसबुक इनबक्समा आएको थियो त्यो फोटो । देखेर खुसी लागेको थियो । सोचेँ, ‘साथीबाट सौजन्यका रूपमा आयो । कहिलेकाहीँ यसो केही लेख्ने मान्छे म, कहीँ प्रयोग होस् भन्ने ठानेर दिएका होलान् । प्रयोग गरे फलाना साथी पनि सायद खुसी हुन्छन् । नत्र किन पठाउनु ?’ यस्तै सोचेर बाह्रखरीका लागि त्यो फोटो पठाएँ ।
मैले कसरी थाहा पाउने त्यो फोटो प्रयोग गर्न पाइन्छ कि पाइँदैन भनेर ? नपाउने भए किन पठाएको ? के ती प्रोफेसनल फोटोग्राफरले खिचेर इनबक्स गरेको त्यो फोटो इनबक्स खोलेर सधैं पूजा गरौं अनि फेरि इनबक्समै हालौं ?
मैले म्यासेज पठाएँ, ‘पहिले त यी सर्तबन्ध उल्लेख गरिएका थिएनन्, जतिबेला तिमीले मलाई त्यो फोटो पठायौ ।’ यो बारेमा रिप्लाइ गरेनन् तिनले ।
‘ल, म तिर्न चाहन्छु, ‘अफोर्ड’ गर्न सक्छु भने । तर कति हो ?’ २५–५० डलर होला, होस् है भन्ने लाग्यो ।
एक मनले अझै भनिरहेको छ, मेरा ती साथीले ‘जोक’ गरिरहेका छन् । मलाई जिस्क्याइरहेका छन् ।
समय ०१ः०८ मिनेट । उनैबाट अर्को खतरा म्यासेज आयो, ‘तिमीसँग दुई विकल्प छन्, १. प्रकाशित फोटो निकाल र सार्वजनिक रूपमा माफ माग ।’
उनी पनि आफू मिडियामा काम गरेको भन्छन्, उनलाई थाहा छ, अब त्यो हुन सक्दैन । किनभने सम्बन्धित मिडियाले सुरुमा उनले चाहेअनुसार फोटो क्रेडिट दिइसक्यो । क्षमा चाहन्छौँ भनिसक्यो । अब त्यो फोटो झिकेर सार्वजनिक माफी माग भनेर न म भन्न सक्छु, न मिडियाले त्यो गर्छ । सोचेँ, के उनका लागि मिडियाको कुनै मूल्य छैन ?
दोस्रो सर्त झन् खतरा, ‘फोटोको पैसा तिर, माफी हुँदैन । मूल्य ५०० डलर । तिमी कसरी सेटल गर्न चाहन्छौ ? मलाई बताऊ ।’ आशय हो– नगद कि चेक !
त्यसमाथि अर्को अझ खतरा उर्दी पनि, ‘चेक पठाउने ठेगाना ... क्याम्ब्रिज, म्यासाच्युसेट्स् ०२१३९.’
अब पानी–पानी भयो मेरो मनको अनुमान । एकछिन रुलेट भयो दिमाग । सबै कुरा फनफनी घुमे । नेपालीमा हिसाब गरेँ, झन्डै ५६ हजार रुपैयाँ ! बाफ रे बाफ ! फेसबुक म्यासेन्जरमा पठाएको फोटोको मूल्य ५६ हजार ! कस्तो प्रोफेसनल फोटो हो यो ?
मान्छे सबै कुरामा प्रोफेसनल हुनु उत्तम हैन, सर्वोत्तम हो । प्रोफेसनालिज्म भनेको व्यावसायिक इमान हो । त्यसको सम्मान गर्नैपर्छ, गर्छु तर एउटा कुरा प्रष्ट्याउन चाहन्छु । केही सर्तबन्ध नराखी कसैलाई केही दिइन्छ भने त्यो सौजन्य हुन्छ, उपहार हुन्छ । उपहार दिएपछि सकियो, उसले जे गरोस् । हैन भने मेरा केही प्रश्न छन् ।
प्रश्न १
त्यो फोटो सौजन्य अथवा उपहारका रूपमा दिइएको हैन भने प्रोफेसनालिज्मका यस्ता डरलाग्दा सर्तबन्ध बताउन आवश्यक हुन्छ कि हुँदैन ?
प्रश्न २
मेरो स्वीकृतिबिना मेरो अनुहार, मेरो शरीर खिचेर ‘धन्धा’ गर्ने अधिकार कसैलाई छ कि छैन ?
प्रश्न ३
कसैको व्यक्तिगत विषय वा वस्तुलाई व्यवसाय बनाउन पाइन्छ कि पाइँदैन ?
प्रश्न ४
पाइन्छ भने सम्बन्धित व्यक्तिसँग स्वीकृति लिनुपर्छ कि पर्दैन ? मसँग स्वीकृति लिन आवश्यक छ कि छैन ?
प्रश्न ५
के म चौरस्ताको सालिक हुँ ? के म त्यो सालिकजस्तै निर्जीव छु ? नसोधी नभनी ममाथि जे पनि गर्न पाइन्छ कि पाइँदैन ?
प्रश्न ६
कुनै पशु वा निर्जीव वस्तुको फोटोलाई पनि व्यावसायिक बनाउने हो भने सम्बन्धित पक्षबाट त्यसको अनुमति लिन आवश्यक हुन्छ कि हुँदैन ?
प्रश्न ७
एउटा सजीव मान्छेलाई सार्वजनिक सडकको बेवारिसे पशु ठानेर फोटो खिच्यो, बेच्यो गर्न पाइन्छ कि पाइँदैन ? मान्छे र पशुमा फरक देखिन्छ भने मान्छेलाई सोध्नु पर्छ कि पर्दैन ?
प्रश्न ८
ती फोटोग्राफरजस्तै प्रोफेसनलहरूका सामुन्ने धर्तीका अरू मान्छेको कुनै अस्तित्व, महत्व र मूल्य छ कि छैन ? अरुको मूल्य स्वीकार्नु पर्छ कि पर्दैन ?
प्रश्न ९
के त्यसदिन (सायद फेब्रुअरी २, २०१६) त्यो फोटो खिच्दा म सार्वजनिक सडकमा थिएँ ?
प्रश्न १०
त्यसदिन तपाईं कस्तो फोटोग्राफरका रूपमा जानुभएको थियो ? एउटा इन्गेजमेन्ट सेरेमोनिमा मा ‘पेड फोटोग्राफर’का रूपमा जानुभएको थियो कि थिएन ?
प्रश्न ११
त्यसदिन त्यो ठाउँमा म ती मित्रहरूको अतिथिका रूपमा गएको थिएँ कि थिइनँ ? तपाईं ‘पेड’ फोटोग्राफर हो भने त्यहाँ खिचेका फोटामा स्वामित्व तपाईंको हुन्छ कि तपाईंलाई ‘पेड’ गर्ने ती मित्रहरुको ?
प्रश्न १२
मानौं तपाईंले धान रोप्न खेताला लगाउनुभो, ज्याला दिनुभयो, पठाउनुभयो । अब भन्नुस्, पाकेपछि त्यो बाली तपाईंको हुन्छ कि ती खेतालाको ?
प्रश्न १३
अब भन्नुस्, तपाईं फलानाले खिचेको मेरो फोटोमा तपाईंको ‘कपीराइट ट्याग’ झुन्ड्याउने अधिकार छ कि छैन ? यो अनधिकृत कार्य हो कि हैन ?
प्रश्न १४
एकपछि अर्को गर्दै इथिकको कुरा गरेर अन्त्यमा पैसाको कुरा कुन इथिक र प्रोफेसनालिज्ममा छ ? त्यत्रो रकम, यो व्यावसायिकता हो कि ब्ल्याकमेलिङ ?
प्रश्न १५
फोटोग्राफर साथी, मलाई तपाईंले दिएको अनावश्यक ‘मेन्टल टर्चर, हरासमेन्ट’ र अपहेलनाका लागि के गर्नुहुन्छ ?
यस विषयमा मैले केही मित्रहरूसँग छलफल गरेँ । मित्रहरूले गजबको जुक्ति सुझाउनुभयो – ‘सामाजिक सञ्जालमा सार्वजनिक रूपमा आह्वान गरौँ, एकजनाबाट एक डलर मागौं । फोटोको हर्जाना भर्नका लागि भनौं । घटना विवरण खुलाऊँ । पाँच सय पुगेपछि ती ‘फटोग्राफर’लाई दिऊँ ।’
हर्जाना तिर्ने त्यत्रो पैसा मसँग छैन । मित्रहरूले सुझाएको यो विकल्प छँदैछ । तर, त्यसअघि माथिका यी कुरामा स्पष्ट हुन चाहन्छु ।
प्रकाशित मिति: बुधबार, भदौ २९, २०७३ १७:०५
प्रतिक्रिया दिनुहोस्