site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राम्रो बने नेपाली चलचित्रले हिन्दीलाई पछार्छन्
Tiktok banner adTiktok banner ad
चलचित्र ‘छक्का पञ्जा’मा हास्य कलाकारको लर्को नै लागेको छ । ‘६ एकान–६’ र ‘वडा नम्बर–६’ मा देखिएका अधिकांश कलाकार ‘छक्का पञ्जा’मा पनि छन् । ‘छक्का पञ्जा’मा शिवहरि पौडेल अतीतका रूपमा देखिन्छन् । हामीले चलचित्र के कारणले राम्रो बन्यो र चलचित्रमा केही कमजोरी छन् कि छैनन्लगायत शिवहरि पौडेलसँग प्रश्न गरेका छौं :
‘छक्का पञ्जा’को प्रतिक्रिया कस्तो आइरहेको छ ?
एकदम राम्रो आइरहेको छ । हलहरु हाउसफुल छन् । ‘६ एकान –६’ र ‘वडा नम्बर–६’ को क्रेज हो यो । अघिल्ला दुई चलचित्र राम्रो भएकाले यी कलाकारहरुले राम्रो चलचित्र बनाउँछन् भनेर हेर्न आउनुभएको हो । सिनेमा आउनुभन्दा अघिदेखि नै प्रतिक्षा गरिएको थियो । दुइटा गीत पनि हिट भएका थिए । यी सबै पक्ष हेर्दा प्रतिक्रिया सकारात्मक आएका छन् । 
चलचित्रको कुन पक्ष दर्शकले मन पराएको पाइयो ? 
समसामयिक विषयवस्तु नै मन पराइएको छ । वैदेशिक रोजगारी र त्यसले घटाएका घटनाहरुलाई हामीले जस्ताको तस्तै देखाएका छौं । यही पक्षलाई दर्शकले मन पाराइदिनु भयो । सेन्टिमेन्टल कुराहरुलाई हास्य तरिकाले प्रस्तुत गरिएको पक्षलाई पनि मन पराएको पाइयो । रोलअनुसारको कलाकार छनोट, चलचित्रको मेकिङलगायत सबै पक्षलाई दर्शकले मन पराइदिनु भयो । 
हँसाउनकै लागि कतिपय ठाउँमा डाइलग घुसाइएका छन् नि । यो राम्रो पक्ष कि खराब नजिर ?
पूरै चलचित्र नै हास्यप्रधान छ । हास्य कलाकारको बाहुल्य छ, त्यसैले यसलाई स्वीकार्न सकिन्छ । बरु एउटाबाट अर्को डाइलग डेलिभर हुँदा केही समय छोड्नुपर्नेमा त्यहाँ छोडिएको छैन । त्यो सुधार गर्नुपर्ने पक्ष हो । 
राजा (दीपकराज गिरी) श्रीमती हराएर खोज्न हिँड्दा बुद्धि तामाङले बोलेका डाइलगलाई सान्दर्भिक मान्न सकिन्छ र ?
बुद्धिको श्रीमती माइत जाँदा पनि राजालगायत अन्य पात्रले उसलाई हानेका डाइलग पनि त्यस्तै छन् । हाँसिरहने, हँसाइरहने भएकाले खासै फरक पर्दैन भनेर नै ती संवादहरु प्रयोग गरिएका हुन् । एकअर्काले गम्भीर रूपमा नलिने भएकाले त्यस्ता संवाद आएका हुन् ।   
‘छक्का पञ्जा’ युनिटले ट्राफिक व्यवस्थापनमा प्रहरीलाई सहयोग गर्यो । तर, चलचित्रमा भने हेलमेट नै नलगाई मोटरसाइकल चलाइएको छ, किन ?
सुरुमा गाउँमा मात्रै बाइक चलाउने भन्ने योजना थियो । तर, पछि मेन सडकमा पनि बाइक चलाउनुपर्ने अवस्था आयो । हुन त गाउँमा बाइक चलाउँदा हेलमेट लगाउनु पर्दैन भन्ने होइन । पछि हामीले सवारी चलाउँदा ट्राफिक नियम पालना गरौं भनेर लेख्छौं भनेर नै काम गरेका हौं । काम गर्दै सिक्दै जाने हो । रक्सी चुरोट खाएका ठाउँमा पनि स्वास्थ्यका लागि धुमपान हानिकारक छ भनेर लेखिएको हुन्छ । हेलमेट नलाएका दृश्यहरु प्रयोग गर्ने चलन पहिले अरु चलचित्रले पनि प्रयोग गरिसकेका छन् ।  
चलचित्रले राम्रो व्यापार गरिरहेको निर्माण पक्षले जनाएको छ । यो आक्रामक व्यापारले के सन्देश दिन्छ ?
चलचित्र राम्रो बन्यो भने हिन्दी चलचित्रका दर्शक पनि नेपाली चलचित्र हेर्छन् भन्ने सन्देश गएको छ । हिन्दी सिनेमा प्रदर्शन गर्न दिने कि नदिने भन्ने बहस भइरहेका बेला चलचित्र राम्रो बनाउनुपर्छ, हिन्दी चलचित्र छोडेर दर्शकले नेपाली चलचित्र नै हेर्छन् भन्ने प्रमाणित भएको छ । राम्रो सिनेमा बने हिन्दीलाई नेपाली सिनेमाले पछार्छ भन्ने सन्देश गएको छ । हिन्दी सिनेमा बहिष्कार गर्नुपर्छ भन्ने पनि होइन । राम्रोबाट हामीले सिक्नुपर्छ । हामी नेपालीले हरेक कुराको सुरुवात अरुभन्दा पछि गरेका छौं । त्यसैले पनि अरुबाटै सिक्ने हो । क्यामेरा हामीले बनाएका हौं र ? तर, खिच्ने त त्यही विदेशी क्यामेराले हो नि । 
कसरी राम्रो चलचित्र बनाउन सकिँदोरहेछ ? 
समाजको समसामयिक विषय के हो भन्ने पत्ता लगाउनुपर्छ । दर्शकको चाहना के हो बुझेर उनीहरुको नाडी छामेर चलचित्र बनाउन सकियो भने राम्रो बन्छ । अर्को कुरा, निर्माता हुनका लागि लगानी गर्ने, निर्देशक हुनका लागि निर्देशन गर्ने अनि पर्दामा देखिनका लागि सिनेमा खेलियो भने राम्रो आउटपुट आउँदैन । समाज बुझेर, अध्ययन गरेर मात्रै चलचित्र बनाउन सकियो भने राम्रो बन्छ । राम्रो बने नेपाली चलचित्रले हिन्दीलाई पनि पछार्छन् । 
‘छक्का पञ्जा’ युनिटले अब अर्को सिनेमा कहिले बनाउँछ ? 
एक वर्षमा एउटा तर, राम्रो चलचित्र बनाउने योजना हो । त्यही योजनाअनुसार काम हुन्छ होला । अहिले हामी चलचित्रको प्रचारकै क्रममा रहेकाले अर्को कहिलेबाट सुरु गर्ने भन्ने विषयमा छलफल भएको छैन । यो चलचित्रको सम्पूर्ण काम सकिएपछि त्यसबारे सोच्ने हो । 
आउँदो सिनेमा कस्तो होला । यसअघि नै केही नै केही छलफल त भएको होला नि ?
‘६ एकान ६’ का कमजोरी ‘वडा नम्बर–६’ मा सुधार्ने काम भयो । ‘वडा नम्बर–६’ मा दोहोरिएका गल्ति ‘छक्का पञ्जा’मा सुधार्ने मौका मिल्यो । अब ‘छक्का पञ्जा’ मा दोहोरिएका गल्तिलाई अर्को नयाँ बन्ने चलचित्रमा सुधार्दै अझ राम्रो बनाउने प्रयास हुन्छ ।
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २९, २०७३  १३:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro