site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
‘ट्युन’ मिलेका न्ह्यू

– नरेश फुयाँल


ओमबहालमा न्ह्यू (बज्राचार्य) जन्मिँदा मनोरञ्जनका साधन खासै थिएनन् । बच्चाहरूलाई फुटबल र टेबलटेनिस थिए, वयस्क र उमेर पाकेकाहरूलाई डबलीमा हुने नाचगान । काठमाडौं उपत्यकाका तीन जिल्लामा जम्मा पाँच सिनेमा हल थिए । त्यसमा पनि सबैको पहुँच थिएन ।

रेडियोमा बज्ने गीत–संगीत सुनेर मनोरञ्जनको भोक मेटाउनु पर्ने समय थियो । न्यूहको घरमा सांगीतिक माहोल थियो । उनलाई परिवारले माउथ–हार्मोनियम किनिदियो । उनको मुख हरबखत त्यसैमा टाँसिन थाल्यो । सात वर्षको उमेरमै गीतको सुरमा उनको ओठले माउथ–हार्मोनियम मज्जाले रेट्न थालिसकेको थियो ।

Dabur Nepal
NIC Asia

उनले संगीतको धून राम्रैगरी निकाल्न थाले पनि भविष्यमा गएर ‘भयंकर म्युजिसियन’ बन्छु भन्ने थिएन । तर, पनि सानो बच्चाले मीठा–मीठा धून निकाल्दा परिवार दंग पथ्र्यो, त्यसमै रमाइरहेका थिए न्ह्यू ।

“कहिलेकाहीँ ओहो ! कस्तो राम्रो बजाएको भनेर बुवाका साथीहरूले चकलेट किनिदिनुहुन्थ्यो, त्यतिमै दंग पर्थें,” न्ह्यू सम्झन्छन् ।

धर्मराज थापाको ‘हो... हो माले हो...हो...’ रेडियोमा बजेको खुब सम्झिन्छन् न्ह्यू । बुझेर होस् या नबुझेरै– उनलाई त्यो गीतले तान्थ्यो । कुमार बस्नेतको ‘दिउँला...’, ‘लै बरी लै...’ ले पनि उनको ध्यान खिच्थे । नारायण गोपालको ‘आँखाको भाका आँखैले...’ पनि सुनेको उनको सम्झनामा छ ।

संगीतको तिर्खा उनलाई माउथ–हार्मोनियमले मात्रै मेटिदिन सकेको थिएन । संगीतको सुर र तालको ज्ञान लिन मन थियो तर कहाँ लिने, उनलाई थाहा थिएन । परिवारले पनि छोरोलाई संगीत सिकाउनैपर्छ भन्ने आवश्यकता महसुुस गरेको थिएन ।

सिनियरहरूले गितार बजाएको देख्दा उनलाई पनि रहर लाग्थ्यो । “त्यो बेला स्टेजमा इलेक्ट्रिक गितार बजाएको देख्दा म आफैं चम्किन्थें, मन बुरुक्–बुरुक् उफ्रिन्थ्यो,” उनी नोस्टाल्जिक हुन्छन्, “ओहो ! कस्तो रमाइलो हुन्थ्यो होला यस्तो गितार बजाउन पाए भन्ने लाग्थ्यो ।”

तर, त्यो गितार कसरी पाउने र कसले बजाउन सिकाइदिने ? असम्भवप्रायः थियो न्ह्यूका लागि ।

शिक्षकहरूले खाली तर्साएर पढाउँथे । उनलाई मन नपर्ने । रञ्जना सिनेमा हल घरनजिकै थियो । उनी स्कुलबाट भागेर रञ्जनामा सिनेमा हेर्थे । पढाइमा ध्यान थिएन । संगीतमा आशक्त । सुरुमा माउथ–हार्मोनियम बजाएको देखेर दंग पर्ने आमाबुवा बिस्तारै न्ह्यूको आशक्ति देखेर आत्तिन थाले ।

संगीतमा लाग्ने व्यक्तिबारे समाजको त्यति राम्रो धारणा थिएन । न्ह्यू पढाइमा कमजोर बन्दै गएको भन्दै परिवारले उनलाई त्रिभुवन आदर्श माध्यमिक विद्यालय (फर्पिङ)मा होस्टल राखेर पढाउन थाल्यो । उद्देश्य एउटामात्रै थियो— जसरी हुन्छ, न्ह्यूलाई संगीतबाट टाढा राख्ने । त्यतिबेला उनी ६ कक्षामा पढ्थे ।

तर, न्ह्यू फराकिलो निधार लिएर जन्मिएका थिए । त्यही होस्टलमै गितार बजाउन सिकिरहेका शिक्षक भेटिए । उनी थिए, विज्ञानका शिक्षक प्रकाश श्रीवास्तव ।

संगीतप्रति न्ह्यूको मोह पहिचान गरेका प्रकाशले भने, “न्ह्यू, तिमीलाई म गितार बजाउन सिकाइदिन्छु ।”

उनी आफैं पनि भर्खर गितार सिक्दै गरेका थिए । खासै आउँदैनथ्यो ।

“मलाई मेरो जिन्दगीमा त्यस्ता व्यक्तिले संगीत सिकाए, जो आफैंमा संगीतका विद्वान नभएर भर्खर सिक्दै गरेका थिए,” न्ह्यू हाँस्छन्, “सधैं संयोग यस्तै प¥यो ।”

दार्जिलिङबाट आएका त्यही स्कुलका होस्टल वार्डेन एडमन्ड पनि गितारका शौखिन थिए ।

प्रकाशले टेकुको नेसनल ट्रेडिङबाट गितार किनेका थिए । त्यो बेला (२०३४ सालतिर) गितारको मूल्य ३७५ रुपैयाँ पथ्र्यो । प्रकाशकै क्वार्टरमा पुगेर न्ह्यू गितार बजाउँथे ।

प्रकाश भने गितार सिक्न नसकेर ‘फ्रस्टेड’ भइसकेको न्ह्यू सम्झिन्छन् ।

एकदिन प्रकाशले उनलाई भने, “यो गितार नयाँ छ, तिमी किन ।”

न्ह्यूले सोधे, “कतिमा दिने ?”

“तिमीलाई सय रुपैयाँ डिस्काउन्ट दिन्छु ।”

गितार किन्न २७५ रुपैयाँ चाहिने भयो । त्यो रकम सानो थिएन ।

संगीतको आशक्तिबाट छुटाउन होस्टेल पठाइदिएको परिवारले गितार किनिदिने सम्भावना शून्य थियो । त्यसैले जति नै छुट पाए पनि न्ह्यूले घरमा भन्न सकेनन् । तर, उनलाई त्यो गितारले झनपछि झन् खिच्न थाल्यो ।

जाडो बिदामा घर फर्किएका थिए । संगीतप्रतिको मोह देखेर न्ह्यूकी दिदीको मन पग्लियो । दिदी र आमा धारामा लुगा धोइरहेका थिए । दिदीले आमालाई भनिन्, “आमा, यसका साथीहरूले यो ट्यालेन्ट छ भन्छन्, यसलाई गितार किन्देऊ न ।” 

आमाले भनिन्, “हुन्छ नि त, कति पर्दोरेछ ?”

न्ह्यूले भने, “२७५ मा दिन्छु भनेको छ ।” 

“हुन्छ, ल किन् न त ।”

“कहिले जाने ?”

न्ह्यूले भने, “भोलि ।” 

“त्यो बेलामा २–३ सयमा महिना दिनको घर खर्च टथ्र्यो । त्यस हिसाबले २७५ रुपैयाँमा भनेको निकै महँगो थियो,” न्ह्यू भन्छन्, “दिदीले पनि गीत गाउँथी । आफूले गाउँदा भाइले गितार बजाइदियोस् भन्ने चाहना भएर आमालाई फकाइदिएको हुनुपर्छ ।”

पहिलो पटक न्ह्यूलाई निद्रा लागेन । रात लामो भयो । बल्लबल्ल बिहान भाले बास्यो । उनले आमालाई झक्झकाएर उठाए ।

गितार किन्न आमाले न्ह्यूलाई २७५ रुपैयाँ दिइन् । फर्पिङसम्म आउन–जानका लागि भाडा पनि छुट्टै दिइन् । पैसा हराउला भनेर आमाले कोटको खल्ती सेफ्टी पिनले सिइदिइन् ।

गाडी चढेर फर्पिङ पुगे न्ह्यू । विद्यार्थीको कापी जाँचिरहेका थिए प्रकाश । न्ह्यूले भने, “सर, म त तपाईंको गितार किन्न आ’को ।”

प्रकाशले त ‘माइन्ड चेन्ज’ गरिसकेका पो रहेछन् ! “ओ न्ह्यू, यो २७५ त मलाई अलि अप्ठ्यारो भएन र ?”

जिन्दगीका सारा सपना एकैपटक चुँडिएझैं लाग्यो । आँखा टल्पलाए । केही बोल्नै सकेनन् । न्ह्यूका आँखाबाट सपनाहरू आँसु बनेर झर्न लागेको देखेर प्रकाशले हतारहतार भने, “लैजाऊ लैजाऊ, भैगो नरोऊ ।”

काँधमा गितार बोकेर न्ह्यू घर फर्किए । त्यो दिनको ‘एक्साइटमेन्ट’ आज पनि सम्झिँदा न्ह्यू उस्तै ‘इमोसनल’ हुन्छन् ।

“खोई मलाई कुरा गर्नै आउँदैन, मैले भनिराखेको भै’राछ कि छैन हो ?” लहरै बगिरहेको कुरा बीचमै रोकेर न्ह्यू हामीतिर फर्किए । हामीले उनलाई आश्वस्त पार्दै भन्यौं, “होइन ठीक छ । हामीले सुन्न खोजेको यही हो ।”

अन्तर्वार्ताका लागि आग्रह गर्दा न्ह्यूले शुरुमै भनेका थिए,  “मलाई बोल्नै आउँदैन । प्रायः म एउटा भनिरहेको हुन्छु, तर आउँदा अर्कै भएर आइरहेको हुन्छ ।”

हामीले आश्वस्त पार्‍यौं, “तपाईंले भनेका कुरामात्रै आउँछन् । हामी बंग्याएर, घुमाएर लेख्दैनौं ।”

त्यसपछि बल्ल उनी बोल्न राजी भएका थिए । दोस्रोपटक आश्वस्त पारेपछि उनी फेरि स्कुलतिर फर्किए ।

स्कुलका प्रधानाध्यापक संगीतका शौखिन थिए । तर, होस्टलमा कुनै पनि वाद्यवादन सामग्री राख्न कसैलाई अनुमति थिएन । प्रधानाध्यापकले न्ह्यूलाई भने त्यो छुट दिएका थिए । न्ह्यूको कोठामा सधैं गितार हुन्थ्यो ।

त्यो स्कुलमा विद्यार्थीलाई गीत–संगीत सिकाउन उदितनारायण झा, द्वारिकालाल जोशी, सत्यनारायण भण्डारीहरू आइरहन्थे । तर, कहिल्यै पनि विद्यालयस्तरीय सांगीतिक कार्यक्रम र राजाको जन्मजयन्तीमा गाउनका लागि छनोट हुँदैनथ्यो । त्यसैले प्रधानाध्यापक चिन्तित देखिन्थे ।

कक्षा ८ मा पढ्दै गर्दा न्ह्यू र उनका शिक्षकबीच कुरा मिल्यो, “जस्तो हुन्छ, हामी आफैं एउटा गीत कम्पोज गरौं ।”

साथीहरूले त्यहीँ गीत लेख्न थाले । दुइटा गितारमा कम्पोज गरिएको गीत तयार भयो । राजा वीरेन्द्रको जन्मोत्सवमा गाउनका लागि छनोट भयो । न्ह्यूसहित ६–७ जना मिलेर गीत गाए । त्यो क्षण उनी जीवनमा कहिल्यै बिर्सन सक्दैनन् ।

० ० ०

गीत–संगीतमा लागेर पेट पालिँदैनथ्यो । यो पेशा होइन, नितान्त शोखमात्रै हुन्थ्यो । भविष्यको चिन्ता गर्नेहरू यसबाट बेलैमा ओझेल पर्थे । जे त होला भन्नेहरू छोड्न सक्दैनथे । यसमै भर परेर कोही बाँच्दैनथे ।

यही समय दीप श्रेष्ठका गीतसँग नजिकिए न्ह्यू । ‘विधवाको सिन्दुर...’, ‘जति हाँसूँ भन्थें....’ जस्ता दीपका गीतमा उनी हराउँथे । ‘अधरको मुस्कान त के...’ उनको मुटु छोएको गीत हो । उनले गितारमा गाएको पहिलो गीत पनि यही हो ।

टेलिभिनज थिएन । गीत भनेको सुन्नेमात्रै हुन्थ्यो, रेडियोमा । गीत सुनेर यो गायक कस्तो होला भन्ने हुन्थ्यो न्ह्यूलाई । उनले सुनेका गायकहरू कहिलेकाहीँ डबलीमा आउँथे ।

न्ह्यूले रेडियोमा गीत सुनेर यस्तो होला भनेर अनुमान गरेका अनुहार डबलीमा देख्दा कहिल्यै मिलेन । उनको मस्तिष्मा रहेको फत्तेमान, नारायण गोपाल र दीप श्रेष्ठको अनुहार र डबलीमा देखिएका उनीहरूको अनुहार अलिकति पनि मिलेन ।

न्ह्यूका काका दीपका साथी रहेछन् । उनको घरमा पनि आइरहँदा रहेछन् । तर, न्ह्यूलाई थाहै थिएन । अहिले उनीसँग दीप भन्छन्, “यो घरमा एउटा केटा ट्यालेन्ट छ भन्ने सुनेको थिएँ । तर, कसरी तिमीसँग भेट भएन । सधैं मिस भयो, मलाई पनि थाहा छैन ।”

न्ह्यू अहिले अनुमान लगाउँछन्, “शायद यो केटो ट्यालेन्ट छ, त्यसैले हामीसँग आएर बोल्दैन, कस्तो घमण्डी रहेछ भनेर बोलाउनुभएन कि भन्ने लाग्छ । तर, थाहा छैन कसरी भेट भएन । यो मेरो अनुमानमात्रै हो ।”

० ० ०

०३८ मा उनले एसएलसी दिए । पास हुन्छु भन्ने आशै थिएन तर पनि रिजल्ट आउँदा कतै नाम आइहाल्छ कि भनेर हेर्न भने उनी छुटाउँदैनथे । तेस्रोपटक बल्लबल्ल पास भए ।

त्यतिबेला पश्चिमी गीत–संगीत सुन्ने खासै चलन थिएन । गीत सुन्ने माध्यम भनेकै रेडियो हुन्थ्यो । क्यासेट प्लेयर यदाकदा देखिन्थे । ती किनेर बजाउनु भनेको सपनाजस्तै हुन्थ्यो । झोछेंमा हिप्पीहरू देखिन्थे । लट्टा कपाल भएकाहरू बोराजस्ता पाइन्ट र सर्ट लगाएर हिँड्थे । कति त गितार बोकेर हिँड्थे । उनीहरूलाई आकर्षित गर्न रेस्टुराँहरूले अंग्रेजी पप गीत बजाउँथे । ती गीत सुनेर सानैदेखि प्रभावित भएका न्ह्यू बिस्तारै पश्चिमी संगीततर्फ आकर्षित भए । साथीहरूसँग मिलेर ‘ब्लु मुन’ नामक ब्यान्डै खडा गरे । उनी त्यसमा ‘लिड गिटारिस्ट’ थिए । त्यसले खासै केही गर्न सकेन । ब्यान्ड मेम्बरहरू छोड्दै गए । उनी एक्लै भए ।

उनी गितार बजाइरहेका थिए । साथीहरू आ–आफ्नो कामको लाइनमा लागिसकेका थिए । न्ह्यूले जति गितार बजाउन सिके, आफैं सिके । सिकाउने कोही थिएन । उनलाई लाग्न थाल्यो— यहाँभन्दा माथि जान सक्दिनँ । उनी आफ्नै चिन्तामा थिए, उनलाई देखेर परिवार चिन्ता गर्न थाल्यो ।

मन त्यसै बरालिरहेको थियो । एकदिन अचानक एक बेलायती नागरिकसँग उनको भेट भयो । न्ह्यूले गितार बजाएको सुनेर उनी प्रभावित भएछन् । उनी पनि संगीतकर्मी भएकाले सोधे, “कहाँ सिक्यौ तिमीले गितार ?”

न्ह्यूले भने, “मैले आफैं प्राक्टिस गरेर सिकेको ।”

उनी प्रभावित भएछन् । न्ह्यूलाई पढ्नका लागि बेलायत बोलाए । स्पोन्सर गर्छु भनेर बेलायतबाट कलेजको डकुमेन्ट पनि पठाए तर न्ह्यू गएनन् । पछि मामाका छोराले ‘संगीतका लागि पोल्यान्ड राम्रो छ, आऊ पढ्न’ भन्दा उनलाई परिवारले रोक्यो, “नारायण गोपाल र गोपाल योञ्जनको त केही काम छैन, तैले म्युजिक सिकेर के गर्छस् ?”

त्यसपछि न्ह्यू कमर्स पढ्न जान थाले । शायद जहाँ पुग्नु नै थिएन, उनी त्यहीँ गए । “मेरो लाइफको सबैभन्दा ठूलो मिस्टेक नै त्यही थियो,” अहिले सम्झिँदा उनलाई दिक्क लाग्छ ।

अहिले जस्तो होटल तथा रेस्टुराँमा समेत गीत गाउन पाइँदैनथ्यो । सोल्टी होटलमा मात्रै गीत गाउने चलन थियो । त्यसमा ‘प्रिज्म ब्यान्ड’ले गीत गाइरहेको थियो ।

“अहिलेजस्तो होटलमा गीत गाउनमात्रै पाएको भए म त ढुक्कै हुन्थें । तर, सोल्टीबाहेक अन्त गीत गाउने चलनै थिएन,” उनी भन्छन् ।

नेपालमा बसेर पाश्चात्य होइन, नेपाली शैलीकै गीत गाउनुपर्छ भन्ने लागेर न्ह्यू नेपाली मन र पनका गीत कम्पोज गर्न थाले । तर, पुरानैभन्दा केही नयाँ ‘फ्लेबर’ दिनुपर्छ भन्ने उनको मनमा लागिरहन्थ्यो । 

उनले रेडियो नेपालमा स्वर परीक्षा दिए । पास भए । ‘बचन देऊ मेरी माया...’ बोलको गीत रेकर्ड गरे । तर, खासै राम्रो भएन ।

उनले कम्पोज गरेको गीत रेडियो नेपालको राष्ट्रव्यापी गायन प्रतियोगितामा प्रथम भयो । ‘गोरखापत्र’ र ‘राइजिङ नेपाल’मा समाचार छापियो । रेडियो नेपालले समाचार बजायो । न्ह्यूको नाक घिरौंलाजत्रो भयो । उनले एक वर्षसम्म केही काम गरेनन् । शायद उमेरै त्यस्तै थियो । कोही नयाँ मान्छेसँग भेट हुँदा उनी घुमाईफिराई त्यही प्रसंग जोड्थे र आफू प्रथम भएको सुनाउँथे । अहिले त्यो सम्झिँदा उनी आफैंलाई अचम्म लाग्छ ।

० ० ०

युगकवि सिद्धिचरण श्रेष्ठ न्ह्यूका बुवाका साथी थिए । उनीहरूको घरमा आइरहन्थे । न्ह्यूलाई होस्टलमा लगेर राख्नुपर्छ भन्ने पनि उनी नै थिए । तत्कालीन राजसभा सदस्यसमेत रहेका सिद्धिचरण न्ह्यूलाई खुब माया गर्थे । उनलाई आफ्नै कोरला कारमा राखेर सिद्धिचरणले होस्टेल पुर्‍याएका थिए । 

न्ह्यूले आफ्नो पहिलो रेकर्ड भएको गीत सुनाए । सिद्धिचरणले मन पराएनन् । उनले भने, “गीतले मुटु छुनुपर्छ । अलिअलि पागल हुनुपर्छ अनिमात्रै गीत हुन्छ । कलाकार भइन्छ ।”

न्ह्यूको मन खल्लो भयो तर उनी रिसाएनन् । किनकि सिद्धिचरणले उनलाई निकै माया गर्छन् भन्ने उनलाई थाहा थियो ।

केही समयको अन्तरालपछि न्ह्यूले बाल गीति संग्रह निकाले, ‘चुली चिया चँ चँ’— दुर्गालाल श्रेष्ठको शब्द तथा  रिमा गुरुङको स्वरमा ।

३० वर्षअगाडिको एकदिन सिद्धिचरण घरमा आएका थिए । न्ह्यूले ‘चुली चिया चँ चँ’को गीत सुनाए । त्यस दिन न्ह्यूलाई उनले भने, “तिमी अब कलाकार भयौ । मेरो गीतमा पनि ट्युनिङ गरिदेऊ ।”

तर, त्यो बेला युगकवि सिद्धीचरणका भीमकाय रचनामा ट्युनिङ गर्न सक्ने ल्याकत आफूमा भइनसकेको लाग्यो न्ह्यूलाई । तर, जब ‘अब सक्छु’ भन्ने लाग्यो, सिद्धिचरणले संसार छाडिसकेका थिए ।

० ० ०

न्ह्यूका होस्टलदेखिका साथी थिए सुरेश गुरुवाचार्य । उनको घरमा विवाह थियो । विवाहको काम गर्न न्ह्यू पूरै खटिएका थिए ।

स्वरसम्राट नारायण गोपाल सुरेशका काका थिए । विवाहमा उनी पनि आएका थिए । नारायण गोपाल विवाह समारोहमा सबैसँग हाँसो–ठट्टा गरिरहेका थिए । उनको हातमा चुरोट थियो । आँखाले सलाई खोजिरहेका थिए । न्ह्यूले देखे । चुरोट सल्काइदिए ।

“म कस्तो थिएँ, मलाई अहिले सम्झिँदा ग्लानि हुन्छ । जसका गीत सुनेर हुर्किएको थिएँ, उहाँलाई नै नचिनेझैं गरें, बोलाइनँ,” न्ह्यू भन्छन्, “त्यो बेला उहाँलाई बोलाएको भए हुन्थ्यो भन्ने अहिले पनि लागिरहन्छ ।”

० ० ०

गीतमा संगीत भर्नु उनको दैनिकीजस्तै बन्दै गयो । बिस्तारै उनका सिर्जना स्रोताले मन पराउन थालेका थिए । आफ्ना कम्पोज उनी साथीहरूलाई सुनाउँथे । सबैले ‘राम्रो छ’ भन्थे । न्ह्यू दंग पर्थे ।

एकदिन उनीसम्म मह (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) जोडी आइपुग्यो । उनीहरू एउटा गीत कम्पोज गराउन न्ह्यूसम्म आइपुगेका थिए । गीतको बोल उनीहरूसँगै थियो । न्ह्यूले ट्युनिङ तयार पारे । मह जोडीले सुन्यो र भन्यो, “हाम्रो गीतको थिमअनुसार भएन । यो गीतमा हामी यो ट्युनिङ राख्दैनौं । अलि फरक खालको ट्युनिङ गर्नुस्, जसले शब्दलाई न्याय गरोस् ।”

आजसम्म कसैले भएन त के, ठिकै लाग्यो भनेर पनि कसैले भनेका थिएनन् । तर, मह जोडीले ‘भएन’ भनेपछि न्ह्यू छाँगाबाट खसैजस्तै भए ।

उनले त्यसलाई नयाँ ट्युन दिने प्रयास गरे तर सकेनन् । कति मेहनत गर्दा पनि ट्युन फुरेन । उनी बडो अप्ठ्यारो बिन्दुमा पुगे । आफैंलाई प्रश्न गरे, “कम्पोज भनेको त मेरो बुताभन्दा बाहिरको काम रहेछ । अरुले दिएको एउटा ‘थिम’मा काम गर्न नसक्ने म कसरी राम्रो कम्पोजर हुन सक्छु ?”

साथीलाई पनि यही कुरा सुनाए । सबै साथीले उनलाई हतोत्साही नहुन भन्दै सम्झाए ।

‘कुल’ भएर न्ह्यूले नयाँ ट्युन दिने प्रयास गरे । नयाँ ट्युन पनि भयो । उनले फेरि मह जोडीलाई सुनाए । मह जोडीले भन्यो, “हो ऽऽऽ हामीले खोजेको यस्तै ट्युन हो ।”

अनि बजारमा आयो, ‘सय थरी बाजा एउटै गीत...’

यही गीत हो, जसले न्ह्यूलाई नेपाली सांगीतिक बजारमा चिनायो र उनले कहिल्यै पछाडि फर्केर हेरेनन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ ५, २०७५  ०६:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro