काठमाडौं । चोर भन्नेबित्तिकै सबैको मनमा नकारात्मक भावनाको विकास हुन्छ । मानिसको दिमागमा खुद्रे चोरकै इमेज आउँछ । तर, पछिल्लो समय चोर पनि व्यावसायिक र ब्रान्डेड बन्न थालेका छन् ।
खासगरी उपत्यकामा चोरी र पकेटमारी बढ्दो क्रममा छ । काठमाडौंमा पछिल्लो समय पक्राउ परेका चोरहरुको प्रकृति हेर्दा अनौठा रहस्य बाहिरिन थालेका छन् ।
१ महिनाअघि पक्राउ परेका एक चोरले प्रहरीलाई नै लाखौं घूस दिन खोज्दा रंगेहात समातिएका थिए । राम्रै गेटअप बनाएर चोरहरुले चोरीमा नयाँ शैली प्रयोग गर्न थालेको काठमाडौं प्रहरी परिसरका एसएसपी विश्वराज पोखरेल बताउँछन् । यहीबचीमा मंगलबार (आज) काठमाडौंका सार्वजनिक यातायातमा पकेटमारी र चोरी गर्दै आएको ५ जनाको गिरोह पक्राउ परेको छ । पक्राउ पर्नेमा भक्तपुरका राजु तामाङ, काभ्रेका कर्ण तामाङ, दोलखाका सुवास तामाङ, रामेछापका प्रकाश भुजेल र बाराका ज्ञानबहादुर घिसिङ रहेका छन् ।
उनीहरु काठमाडौंमा डेरा गरेर बस्दै आएका थिए । रोचक कुरा त के छ भने उनीहरु कोसँग पैसा छ, कोसँग छैन भनेर सजिलै पत्ता लगाउने गरेका थिए । उनीहरुले पकेटमारी गर्नुपर्ने व्याक्त भए कोड भाषाको प्रयोग गर्थे । “पक्राउ परेकाहरु सामान्य चोर होइनन्, उनीहरुले मासिक डेढ लाखसम्म बचाएको देखिन्छ,” एसएसपी पोखरेलले भने ।
प्रहरीलाई दिएको बयानमा उनीहरुले दिनभरको कमाइ साँझ दामासाही गरेर बाँड्ने गरेको बताएका छन् । पक्राउ परेकाहरुले वृद्धवृद्धा र बाल–बालिकाको भने चोरी नगर्ने गरेको दाबी गरेका छन् । एसएसपी पोखरेलका अनुसार पक्राउ परेका सबैको विगत हेर्दा आपराधिक पृष्ठभूमिका देखिन्छन् । उनीहरुलाई सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको एसएसपी पोखरेलले बताए ।