ब्लग
मेरो नजिकको नातेदारको एउटा पौडी पोखरी छ । काठमाडौंको गर्मीमा आजकाल बच्चाहरू पौडी खेल्न जान रहर गर्छन् । पत्रकारका बच्चाले त झन् रहर गर्ने नै भए । किनभने बाउले सबैलाई चिनेको गफ बारम्बार दिएको हुन्छ, सित्तैमा सबैथोक गराइदिनसक्छु भनिरहेको हुन्छ । तर, हरेकपल्ट कुनै पत्रकार त्यो पौडी पोखरीमा पुग्दा मेरो इज्जतमाथि त्यो पौडी पोखरीको सबै पानी खन्याइदिएको भान हुन्छ ।
दाइ हजुरको स्विमिंग पुलको मैले राम्रो लेखिदिएँ नि भन्दै कुनै पत्रकार त्यहाँ पुग्छ र एकपल्ट स्विमिंग पुलमा सित्तैमा हाम फालेर ठूलो पराक्रम गरेँ भन्ने ठान्छ । अर्को पत्रकार फोनबाटै भन्छ – “दाइ, मैले छोराछोरी पठाइदिएको छु, यसो पौडी खेल्न दिनुपर्यो ।” मानौ, नेपाली पत्रकार सब थोत्रा ट्वाक बोकेर हिंडने माग्ने हुन् । तिनलाई पत्रकार भएका कारण सबैथोक सित्तैमा चाहिएको छ । अझ कोही त छ महिनाको पासै बनाई माग्न पनि केत्ति धक मान्दैनन् । बरु गुन्डा केटा सित्तैमा आएर केही माग्न एक्लै आउने आँट गर्दैनन्, दुई चार जना बोकेर आउँछन् । तर, पत्रकार त अधिकारपूर्ण रूपमा एक्लै आएर माग्नसक्छ । कस्तो अचम्म !
ठूलै मिडियाका कपाल पनि रंगीन र समाचार पनि रंगीन लेख्ने पत्रकार पनि पुग्छन् मेरो इज्जतमा पानी खन्याउन त्यस पुलमा । लाजै नमानी आफू र आफ्ना सन्तानलाई सित्तै खेलाउन अनुरोध गर्छन् । त्यस्ताको बच्चाका लागि नैतिकता, इमानदारीको मानक के हुने ? तिनका बच्चा ठूलो भएर के सिक्ने ? मेरा नातेदारले मलाई के भनेर चिन्ने ?
तर, धन्न सबै पत्रकार त्यस्ता छैनन् ।
कहिले काहीँ एक अग्लो कदको मित्र छोरी लिएर पुग्छ, खुरुखुरु पैसा तिर्छ र स्विमिंग गर्छ । ऊ धनी पत्रकार पनि हैन र अहिले उसको खासै आम्दानीको कुनै स्रोत पनि छैन । तर कहिल्यै उसको एक कल आउँदैन न त मलाई न मेरो नातेदारलाई कुनै कुरामा छुट चाहियो भनेर । उसलाई सित्तैमा कसैको कुनै सेवा लिनै आउँदैन । त्यस्तो बेलामा त्यो पोखरीको पानी पूरै स्वच्छ बनाइदिएजस्तो लाग्छ ।
के पत्रकारिता सबैथोक सित्तैमा उपभोग गर्ने पेसा हो ?
सिनेमा सित्तैमा हेर्ने, पार्क सित्तैमा छिर्ने, केबल कारमा सित्तैमा झुन्डिने अनि गाडी, मोटर साइकल पार्किङ सित्तैमा गर्ने । मानौं सबै व्यवसायी, व्यापारीका तिनीहरू ज्वाइँचेला हुन् । कहिले काहीं कसैले आफ्नो वस्तु वा सेवाको पत्रिकामार्फत विज्ञापन गर्न चाहे भने, ठीक छ उसको सेवा उपभोग गरेर समाचार लेखिदिनु । हुनत, यस्तो सेवा पनि सकभर पत्रिकाले पैसा तिरेर उपभोग गर्न सकेको खण्डमा राम्रो र नराम्रो दुवै लेख्न सकिन्छ भन्ने पत्रकारिताको आचार संहिताले भन्छ । तर, नेपालको पत्रकारिता त्यो तहमा पुग्न सकेको छैन । त्यसैले अहिलेसम्म प्रचार चाहिनेको सेवा एकपल्ट सित्तैमा लिनु स्वाभाविकै होला । तर सधैं सबैथोक सित्तैमा ? त्यसको एउटा हद त हुन्छ नि !
एकपल्ट एक जना मित्रले सिनेमाको पास छ सिनेमा हलको काउन्टरमा गएर प्राप्त गर्न सक्नुहुनेछ, कृपया जानुस् भनेर अनुरोध गरे । श्रीमतीसहित आफैँ गइयो सिनेमा हेर्न सित्तैमा । सिनेमा हलमा पुगेर पत्रकार हुँ भनेपछि बल्ल सो पास पाइयो, हेरुन्जेल उही स्विमिंग पुलमा पुगेका मेरा पेसाका साथीहरूभन्दा राम्रो महसुस गरिएन । हुनत, कतिपय सिनेमा हल वा कतिपय पसलको उद्घाटनमा गइएको छ र तिनको सेवा सित्तैमा उपभोग पनि गरिएको छ । तर, आफूलाई मन लागेको बेला गएर सित्तैमा हेर्नु र त्यसबापत केही नलेख्नु वा केही नदेखाउनु चाहिँं एक प्रकारको लुट हो, ब्ल्याकमेलिङ हो । त्यस कर्ममा चाही नचाही कतिपल्ट म परेको छु, एकदम चोखो हुँ भनेर यो लेख लेखेको पनि हैन ।
आफ्नो पेसाको यस्तो कुरा लेख्न नहुने हो । पत्रकारलाई अरूले कसरी हेर्छन् भन्ने थाहा नहुन्जेल किन बेइज्जत गर्नु भन्ने सोच आउँथ्यो पनि होला । तर, सबैलाई थाहा छ यस पेसाका व्यक्ति कति नांगिएका छौं भनेर । कसैले नभन्दैमा नाकमा लागेको कालो सबैले नदेखेको ठहर्ने हो र ?
अचेल कहीँं कतै कसैले बोलाएको ठूलो ठाउँमा जान पनि लाज लाग्न थालेको छ । किनभने सबैलाई पत्रकार भनेको सबैथोक सित्तैमा चाहिने र उसको विरोध कसैले गरे भोलिपल्ट (अहिले अनलाइनको जमानामा त तुरुन्तै एकै घन्टामा) सत्तोसराप गर्ने अजिबको प्राणी हो भन्ने परेको छ । जनतालाई थाहा नै भइसक्यो हामी को हौँं भनेर भने अब सकारौं ।
अब पत्रकार भनेरमात्र परिचय नपुग्ने भए छ । केही दिनअघि समाजका स्थापित दुई जनासँग फरक फरक दिन डिनर खान गएँ । दुवैको एक अर्कासँग कुनै कुरा भएको पनि होइनजस्तो लाग्छ । तर दुवैले मलाई एउटै तरिकाले परिचय गराए – “उहाँ पत्रकार, नाम चलेको पत्रकार । तर, तपाईंले सोचेजस्तो होइन है, एकदमै इमानदार पत्रकार ।” मानौं उहाँ चोर बात लागेको मान्छे हो तर साँच्चिकै चोर हैन है भनेजस्तो । वा उहाँ पेसेवर यौनकर्मी हो तर अझै भर्जिन नै हुनुहुन्छ भनेझैँ । कति लजाउनु ? कहाँ लुकाउनु यो अनुहार ?
प्रकाशित मिति: बिहीबार, भदौ २३, २०७३ १५:१४
प्रतिक्रिया दिनुहोस्