काठमाडौं । अनामनगरकी रिया कार्कीलाई होली खेल्न निकै मन पर्छ । उनी साथीभाइ आफन्तसँग मज्जाले होली खेल्न रङहरूमा सजिन मन पर्छ । उनलाई पहिले कहिलेकाहीँ छालामा रङ पर्दा अलिअलि चिलाउथ्यो । तर, उनले वास्ता गरिनन् । गतसाल भने उनलाई होली खेल्दा छाला चिलाउने मात्र भएन शरीरमा फोका आउने, पोल्ने समस्या देखा पर्यो ।
चिकित्सकसँग परामर्श गर्दा पो थाहा पाइन्– होलीमा प्रयोग हुने रङ घातक रहेछ । त्यसले छालामा विभिन्न समस्या निम्त्याएको रहेछ ।
“तुरुन्त छाला रोग विशेषज्ञकामा जचाउँन गए । अनि मात्र थाहा भयो रङले असर गरेको रहेछ,” उनी सम्झिन्छन् ।
काठमाडौँ पेप्सीकोलाका मोहन कँडेलको समस्या झन् भयानक छ । होलीको रमाइलोमा झन्डै आँखा गुमेन । साथीकहाँ होली खेल्न गएका उनको आँखामा रङ पर्दा एक्कासी सुन्नियो, पोल्ने भयो ।
“रङ परेको केहीसमयसम्म त हेर्न पनि सकिनँ । धन्न चिकित्सककहाँ पुगेँ र बेलैमा उपचार भयो,” उनको भनाइ थियो ।
चिकित्सकले उनलाई आँखाको पानी उत्पादन गर्ने ग्रन्थी नै सुन्निएको बताएका थिए । आँखा सुन्निनुमा होलीको रङ नै कारक भएको उनको भनाइ थियो । यी केही प्रतिनिधि घटना हुन् ।
होलीमा प्रयोग हुने रङले छालामा समस्या हुने मात्र नभइ दृष्टि नै गुम्नेसम्मका समस्या निम्तनेतर्फ चिकित्सकले सचेत गराएका छन् ।
पछिल्लो समयमा होलीमा प्रयोग हुने रङका कारण स्वास्थ्यमा प्रतिकूल असर गर्ने गरेकोे चिकित्सकहरूको भनाइ छ ।
“प्रायः बजारमा पाइने होलीका रङ तथा पाउडरहरूमा लेड अक्साइट, प्रस्योन ब्लु, कपर सल्फेट, मक्र्युरी सल्फाइड, मालाकाइट, सिलिका जस्ता रसायनहरूको प्रयोग हुने गरेको छालारोग विशेषज्ञ डा अनिलकुमार झाले बताउँछन् ।
उनले भने– “यस्ता रसायनयुक्त रङले स्वास्थ्यमा नकरात्मक असर गर्छ ।”
यस्ता रसायनयुक्त रङको प्रयोग गर्नुभन्दा प्राकृतिक रङहरू जस्तै बेसार, फुलको रसको प्रयोग गर्न राम्रो हुने उनको सुझाव छ ।
त्यसैगरी हिजोआज जर्बजस्ती आँखामा रङ लगाइदिने गर्दा त्यसले आखाँको ज्योति नै गुम्ने तिलगङ्गा आँखा अस्पतालका आँखा रोग विशेषज्ञ डा. बेन लिम्बूले बताए । उनले भने, “आँखामा रङ पर्दा आँखा सुन्निने, रातो हुने, चिलाउने आदि हुन्छ ।”
त्यस्तै उनले लोलाले लागेर आँखाको भित्री भागमा चोट लागेमा दृष्टिविहीनसमेत हुन्न सक्नेतर्फ लिम्बूले सचेत गराए ।
“रासायनिक तत्व मिसिएका रङबाट आखाँ नाक कान जोगाउनूपर्छ,” उनले भने, “होलीमा आँखामा भरसक चस्माको प्रयोग गर्नुपर्छ । जसले गर्दा सिधै रङ तथा रसयानहरू आँखाभित्र पस्नसक्ने अवस्थाबाट बचाउँछ ।”
त्यस्तै गुणस्तरहीन र रसायनको जथाभावी प्रयोगले छालामा विभिन्न समस्या देखिनेमात्र नभइ क्यान्सरसमेत हुन सक्ने छाला रोग विशेषज्ञ अनुप बास्तोलाले बताए ।
उनले थपे, “होलीमा प्रयोग हुने रङहरूले कोहि कोहीमा तत्कालै छालाको एलर्जी (छाला चिलाउने) छालामा फोका तथा घाउ खटिरा आउने, छाती दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, मुटुको चाल गडबड हुने, रक्तचाप बढ्ने, आँखाको एलर्जी, टाउको दुख्ने दृष्टि धमिलिने लगायतका समस्या आउने बास्तोला बताउँछन् ।
यस्ता समस्या देखिए तुरून्त चिकित्सककहाँ जान उनी सुझाव दिन्छन् ।
अझ होलीको बेलामा रङलाई तेल र पानीमा मिलाएर प्रयोग गर्ने फोहोर पानीको अत्यधिक प्रयोगले स्वास्थ्यमा नकारात्मक असर पर्ने चिकित्सकहरू बताउँछन् ।
होलीमा अनुहारलगायत शरीरमा फेस रङ्ग्याउने प्रवृत्ति पनि बढ्दै गएको र त्यसले छालाको क्यान्सर समेत निम्त्याउनसक्ने छाला रोग विशेषज्ञ डा. श्रद्धा प्रधानले बताइन् ।
होलीमा प्रयोग गरिने रङबाट विशेष गरेर बालबालिका, वृद्धवृद्धा, छाला–रोग लागेका र दमका बिरामीलाई बचाउनुपर्ने उनको सुझाव छ ।
डा. प्रधानले रङको प्रयोग गर्नुअघि आफ्नो छालालाई सुहाउने मोस्चराइजर क्रिम र ओलिभ ओइललगायतका क्रिमहरूको प्रयोग गरेमा समस्या नहुने डा. प्रधान बताउँछिन् ।
“कपालमा तेल लगाउने शरीर पूरै ढाक्ने कपडा लगाउने, जीभरि लोसन तथा नरिवलको तेल वा तोरीको तेल र अनुहारका सनब्लक क्रिमको प्रयोग गर्नाले होलीको रसायनयुक्त रङको असरबाट जोगिन सकिन्छ,” उनी सुझाउँछिन् ।
होलीमा रङ खेलिसकेपछि कडा खालको साबुन प्रयोग गर्नुको साटो क्लिन्जिङ लोसनको प्रयोग गर्ने, केही समस्या देखापरेमा तुरून्त छालारोग विशेषज्ञलाई देखाउन प्रधानले अह्राइन् ।