site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
कैलाली फुटबल संघ वर्षौंदेखि निष्कृय, निजी क्षेत्रको लगाव बढ्दो

धनगढी । सुदूरपश्चिम स्पोर्ट्स क्लबले यसै साता मोफसलको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता सुदूरपश्चिम खप्तड गोल्डकप सफलतापूर्वक आयोजना गर्यो । सोमबार भएको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले अर्को विभागीय टोली एपीएफलाई पेनाल्टी सुटआउटमा हराएर दोस्रो संस्करणको खप्तड गोल्डकपको उपाधिमा कब्जा जमायो ।

धनगढीमा यसरी निजी क्षेत्रले फुटबल प्रतियोगिता गर्दै इतिहास रचिरहेका बेला फुटबल संघको अधिकारिक संयन्त्र कैलाली जिल्ला फुटबल संघ भने वर्षौंसम्म निष्कृय रहेको छ । कैलाली जिल्ला फुटबल संघले बुधबार सातौं साधारणसभा सम्पन्न गरिसक्दा संघले कुनैपनि ठूला प्रतियोगिता आयोजना गर्न सकेको छैन ।

कैलालीमा नयाँ नेतृत्व आउनुअघि संघमा वर्षौंदेखि पद कब्जा गरी बसेका पदाधिकारीहरुले न जिल्ला स्तरमा फुटबल प्रतियोगिता गरे, न त नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) लाई यो क्षेत्रमा फुटबल गतिविधी बढाउन पहल नै गरे । जसका कारण कैलालीमा नयाँ खेलाडीहरु उत्पादन हुन सकेका छैनन् ।

कैलालीमा सामान्य खेलकुदका गतिविधीहरु गर्नका लागि गठन भएका क्लबले ठूला प्रतियोगिता गरी सुदूरपश्चिमको नाम चम्काउने गर्दा कैलाली जिल्ला फुटबल संघ भने लामो निन्द्रामा सुतेको छ । संघका पदाधिकारीले फुटबललाई राजनीति गर्ने अखडामात्रै बनाएको निजी क्षेत्रबाट फुटबल विकासमा लागिपरेकाहरुको आरोप छ । निजी क्षेत्रबाट आयोजना गरिएको सुदूरपश्चिम खप्तड गोल्डकप र खेलाडी उत्पादनका लागी फारवेष्ट पशुपति कपको भूमिका बिर्संदै संघका पदाधिकारीहरुले प्रतियोगिता असफल पार्न चलखेल गरिरहेको निजी क्षेत्रको आरोप छ ।

कैलालीमा युवा खेलाडी उत्पादनको लागि महत्वपूर्ण योगदान रहँदै आएको फारवेष्ट पशुपति कप फुटबलको आयोजक तथा फारवेष्ट पशुपति क्लबका अध्यक्ष खेम रावतले खेलाडी हुँदा र अहिले फुटबल प्रतियोगिताको आयोजक भैरहँदा पनि जिल्ला संघको साथ र सहयोग कहिलै नपाएको बताउँछन् ।

“पहिले खेलाडीको रुपमा खेल्न गाह्रो थियो । अहिले आयोजक भएर प्रतियोगिता गर्न झन् गाह्रो भइरहेको छ,” अध्यक्ष रावतले भने, “फुटवल गतिविधि गर्न संघले कुनै चासो नै देखाएको छैन न त अरुले प्रतियोगिता गर्दा सहयोग गरेको छ ।”

अखिल नेपाल फुटबल संघको आयोजनामा २०६९ सालमा राष्ट्रिय महिला लिग र सोही वर्ष योजना भएको रेडवुल लिगपछि यो क्षेत्रमा कुनै पनि फुटबलका ठूला गतिविधी हुन सकेको छैन । जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगिताबारे कसैलाई पनि जानकारी छैन ।

गएको पुसमा राखेप च्याम्पियनसिप अन्तर्गतको महिला लिग धनगढीमा गर्ने तयारी गरिए पनि फुटबल संघकै निष्कृयताका कारण प्रतियोगिता काठमाडौं सारिएको एन्फाका केन्द्रीय सदस्य गणेश चन्दले बताए । चन्दले भने, “पुस १४ गतेदेखि राष्ट्रिय महिला लिग गर्ने निर्णय भएको थियो तर जिल्ला संघले कुनै समन्वय नै नगरेपछि प्रतियोगिता काठमाडांै सार्नुपर्ने बाध्यता आयो । पाएका मौकाहरु हाम्रो हातबाट गुमाउनु हुँदैन । तर संघले त्यो कुरा वुझ्न सकेन ।”

कैलाली जिल्ला फुटबल संघकै निष्कृयताका कारण हाल यो क्षेत्रमा निजी क्षेत्रले फुटबल प्रतियोगिता आयोजना गर्न सुरु गरेको छ । फुटबल गतिबिधि नहुँदा खेलाडी पलायन रोक्न र खेलाडी उत्पादनमा सहयोग गर्न निजी क्षेत्र अघि सरिरहेको बेला जिल्ला संघ भने प्रतियोगिता असफल पार्न चलखेल गर्ने गरेको सुदूरपश्चिम स्पोर्टस क्लबका अध्यक्ष सुरेश हमालले आरोप लगाए । उनले भने, “खप्तड गोल्डकपको पहिलो संस्करण गर्दा जिल्ला संघले सहयोग नगरेपछि हामीले केन्द्रमा गएर मिति ल्याएर गोल्डकप गर्यौं । संघले कैही नगरेकै कारण संघले गर्नुपर्ने प्रतियोगिता गर्न हामी निजी क्षेत्रले गरिरहेका छाैं ।” 

कुनैबेला देशकै शक्तिशाली महिला फुटबल टोलीको रुपमा कैलाली रहेको थियो । क्षमता र प्रतिभावान भएका खेलाडीहरुको वर्चश्व भएको समयमा कैलालीले दुर्लभ उपलब्धिसमेत हासिल गरेको थियो । पुरुष फुटबलमा कैलालीमा भएको २०६८ सालको राष्ट्रिय खेलकुदमा सुदूरपश्चिमले स्वर्ण पदक जितेको थियो, जसमा कैलालीका खेलाडीको बाहुल्यता थियो ।

कैलाली जिल्ला फुटबल संघका पदाधिकारीहरु फुटबलको विकास भन्दा पनि राजनीति गर्न अग्रसर भएको कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक सिंह स्वीकार गर्छन् । “खेलकुदलाई सघाउनका लागि नै संघको स्थापना भएपनि त्यहाँ राजनीतिक दाउपेच बढी भयो,” प्रतिप्रश्न गर्दै उनले थपे, “जे गर्न संघमा आएको हो, त्यो नगरेर राजनीति गर्न थालेपछि कहाँबाट हुन्छ फुटबलको विकास ?”

संघका निवर्तमान अध्यक्ष प्रकाश विष्टले विविध कारणले प्रयास गर्दा गर्दै पनि सफल नभएको स्वीकार गरे । तर, उनले आफ्नो कार्यकालमा सबै प्रतियोगिताको लागि सहयोग गरेको जिकिर गरे । बुधबारमात्र अध्यक्ष पदबाट मुक्त भएका बिष्टले भने, “केन्द्रले दिने कार्यक्रम गर्ने र जिल्लाका क्लबले गर्ने कार्यक्रमलाई अभिभावकत्व दिने काम संघको हो । त्यसैले हामीले आफ्नो तर्फबाट सक्दो सहयोग गरिरहेकै थियौं ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, माघ ४, २०७४  १५:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro