site stats
बाह्रखरी :: Baahrakhari
खेल
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली 

जेनेभा । फिफा महिला विश्वकपमा सहभागी हुने राष्ट्रको संख्या सन् २०३१ देखि ३२ बाट बढाएर ४८ पुर्‍याइने भएको छ । विश्व फुटबलको नियामक संस्था फिफाले शुक्रबार सार्वजनिक वक्तव्यमार्फत उक्त निर्णय सर्वसम्मतिले पारित गरिएको जानकारी दिएको हो ।

फिफाका अनुसार, विश्वव्यापी रूपमा महिलाको फुटबलमा आएको उल्लेखनीय प्रगतिको कदरस्वरूप यो निर्णय लिइएको हो । यसले थप राष्ट्र र खेलाडीलाई उच्चस्तरीय प्रतिस्पर्धामा सहभागी हुने अवसर प्रदान गर्नुका साथै विश्वभर महिला फुटबलमा लगानी तीव्र बनाउन मद्दत गर्ने विश्वास गरिएको छ ।

Argakhachi Cement Island Ad

४८ टोली सहभागिताको नयाँ ढाँचामा अब १२ समूह रहनेछ । कुल खेल संख्या ६४ बाट बढाएर १०४ पुर्‍याइनेछ । र, प्रतियोगिता एक हप्ता थप लम्बिनेछ ।

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले भने, “यो केवल थप १६ टोली खेलाउने कुरा मात्र होइन, यो निर्णयले सदस्य राष्ट्रहरूलाई समग्र रूपमा महिला फुटबल संरचना विकास गर्न प्रेरित गर्नेछ ।”

महिला विश्वकपको सुरुआत सन् १९९१ मा १२ टोलीसहित भएको थियो । त्यसपछि सन् २०११ सम्म १६ टोलीले भाग लिए । क्यानडा र फ्रान्समा सम्पन्न सन् २०१९ संस्करणमा २४ टोली सहभागी थिए ।

सन् २०२३ मा अस्ट्रेलिया र न्युजिल्यान्डद्वारा सह–आयोजित प्रतियोगितामा पहिलोपटक ३२ टोली सहभागी भएका थिए । सन् २०२७ मा आउँदो विश्वकप ब्राजिलमा आयोजना गरिनेछ ।

पुरुष विश्वकप पनि सन् २०२६ देखि ४८ टोलीसहित आयोजना गरिँदै छ । उक्त विश्वकप संयुक्त राज्य अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्नेछन् । रासस/सिन्ह्वा

प्रकाशित मिति: शनिबार, वैशाख २७, २०८२  १७:३२
प्रतिक्रिया दिनुहोस्