site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एनभीए पुरुष तथा महिला राष्ट्रिय भलिबल पहिलोपटक मोफसलमा

काठमाडौं । प्रधानमन्त्री कप एनभीए पुरुष तथा महिला राष्ट्रिय भलिबल लिग पहिलोपटक मोफसलमा हुने भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहल निर्माणाधीन रहेकाले एनभीए लिग पहिलोपल्ट मोफसलमा सारिएको हो । आगामी जेठ ८ देखि १५ गतेसम्म लिग पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा हुनेछ ।

नेपाल भलिबल संघले शुक्रबार पत्रकार सम्मेलनमार्फत यसपटक लिग पोखरामा गर्ने जानकारी दिएको हो । पुरुषतर्फ आठ र महिलातर्फ ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । पुरुषमा हेल्प नेपाल स्पोर्ट्स क्लब, एपीएफ, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कोसी प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र मणिमुकुन्द भलिबल क्लबको प्रतिस्पर्धा रहनेछ ।

महिलामा भने नेपाल पुलिस क्लब, एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब, एभरेस्ट भलिबल क्लब र कर्णाली प्रदेशले सहभागिता जनाउनेछन् ।

हरेक टोलीले तीन विदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछन् । नेपाल भलिबल संघले यस पटकदेखि सहभागी टोलीलाई प्रतिव्यक्ति एक हजार २०० रुपैयाँ म्याच मनीका रूपमा उपलब्ध गराउने भएको छ । दुवैतर्फका विजेताले आठ लाख, उपविजेताले चार लाख र तेस्रो हुनेले दुई लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ५० हजार र विधागततर्फ उत्कृष्ट हुने खेलाडीले २५ हजार रुपैयाँ पाउनेछन् ।

प्रतियोगिताको अनुमानित बजेट ९० लाख रुपैयाँ रहेको आयोजकले जानकारी दियो । सबै खेलाडीको बिमा गरिएको संघले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२  २३:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro