
धनगढी । विभागीय टोली सशत्र प्रहरीको एपीएफ क्लब र मध्यमाञ्चल विकास क्षेत्र धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टि – ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेका छन् । प्रतियोगितामा एपीएफ समूह बि र मध्यमाञ्चल समूह ए बाट सेमिफाइनलमा पुगेको हो ।
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा एपीएफले पुर्वाञ्चल विकास क्षेत्रलाई ४ विकेटले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का बनायो । समूह ए मा रहेको एपीएफको यो लगातार दोस्रो जित समेत हो ।
पुर्वाञ्चलले दिएको ६५ रनको लक्ष्य एपीएफले ६ विकेट गुमाएर पुरा गर्यो । मात्र ७ रन जोड्दा ५ विकेट गुमाएको एपीएफको लागि करुणा भण्डारी र ममता चौधरीले छैठौ विकेटका लागी २२ रनको साझेदारी गर्दै टोलीलाई जिततर्फ लगेका थिए । यस्तै सातौ विकेटका लागि भण्डारीसँग ईन्दु बर्माले ३७ रनको साझेदारी गर्दै एपीएफलाई जित दिलाए । भण्डारी, चौधरी र बर्माले समान १६–१६ रनको योगदान दिईन् । पुर्वाञ्चलको लागि कप्तान रुबिना क्षेत्रीले ३ विकेट लिए पनि टोलीलाई जिताउन सकिनन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ्ग गरेको पुर्वाञ्चलले निर्धारीत २० ओभरमा ५ विकेट गुमाएर ६४ रन बनाएको थियो । पुर्वाञ्चलका लागी कप्तान रुबिना क्षेत्रीले २७ रन बनाउन बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् । एपीएफकी सोनु खड्काले २ विकेट लिईन् ।
यस्तै बिहिबार भएको पहिलो खेलमा मध्यमाञ्चलले पश्चिमाञ्चललाई ४४ रनले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गर्यो ।
मध्यमाञ्चलले दिएको ११४ रनको लक्ष्य पछ्याएको पश्चिमाञ्चलले पुरै २० ओभरमा ७ विकेट गुमाएर ६९ रन मात्रै बनाउन सक्यो । पश्चिमाञ्चलका लागी नितु भण्डारीले १० र बर्षा रानाले ८ रन जोडे । पश्चिमाञ्चललाई सस्तैमा समेट्ने क्रममा अश्वीनी कर्माचार्य र आरती विराडीले समान २ – २ विकेट लिईन ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मध्यमाञ्चलले २० ओभरमा ४ विकेट गुमाएर ११३ रन बनाएको थियो । मध्यमाञ्चलका लागी सिता श्रेष्ठले ४९ रन बनाईन । यस्तै कञ्चन श्रेष्ठले २४ तथा रोशनी बोहराले १० रन जोडिन । बलिङतर्फ पश्चिमाञ्चलकी कप्तान बर्षा रानाले १ विकेट लिईन् ।
प्रतियोगितामा पश्चिमाञ्चलको यो लगातार दोस्रो हार हो । यो हारसँगै पश्चिमाञ्चल प्रतियोगिताबाट बाहिरिएको छ । पश्चिमाञ्चल बाहिरीएसँगै समूह ए बाट घरेलु टोली सुदुरपश्चिम लिगको एक खेल बाँकी रहँदै सेमीफाईनलमा पुगेको छ ।
प्रतियोगीता अन्तर्गत शुक्रवार पुर्वाञ्चल र मध्यपश्मिाञ्चल तथा सुदुरपश्चिम र मध्यमाञ्चल विच हुने छ । पुर्वाञ्चल र मध्यपश्चिमाञ्चल विकास क्षेत्रको खेलमा विजयी हुनेले सेमीफाईनलमा स्थान सुरक्षित बनाउने छ । प्रतियोगिताको विजेताले पाँच लाख तथा उप–विजेताले दुई लाख रुपैया पुरस्कार प्राप्त गर्ने छन् ।
तस्वीरः नेपाल खेलकुद पत्रकार मञ्च, कैलाली