site stats
बाह्रखरी :: Baahrakhari
विशेष
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेका अधिकांश आयोजना पूर्ण क्षमतामा सञ्चालन नहुने गरेको पाइएको छ ।
प्राधिकरणले सञ्चालन गरेका सानाठूला विभिन्न एक दर्जन आयोजनाबाट वार्षिक २ अर्ब ६४ करोड ६० लाख युनिट बिजुली उत्पादन हुनुपर्नेमा गत वर्ष  २० प्रतिशत घटेर २ अर्ब १२ करोड २० लाख युनिटमात्र उत्पादन भएको छ । 
गत वर्ष प्राधिकरणअन्तर्गतका आयोजनाबाट ५२ करोड ४० लाख युनिट बिजुली उत्पादन घटेको छ । ५४ करोड ४० लाख युनिटलाई प्रतियुनिट ८ रुपैयाँ २७ पैसालाई आधार मान्दा विद्युत् प्राधिकरणले गत वर्ष चुहावटबाहेक नै झण्डै ४ अर्ब ३३ करोड रुपैयाँ आम्दानी गुमाएको छ । चुहावटबाट झण्डै ५ अर्ब रुपैयाँ राजस्व गुमाउदै आएको प्राधिकरणले पूर्ण क्षमतामा आयोजना सञ्चालन नगर्दा वार्षिक अर्बौं रुपैयाँ गुमाउँदै आएको वार्षिक प्रतिवेदनले देखाएको छ । गत वर्ष पानीको वहाबमा कमी र मर्मतका लागि बन्द हुँदा उत्पादन घटेको प्राधिकरणको भनाइ छ । 
देशको ठूलो १४४ मेगावाट क्षमताको कालिगण्डकी ए बाट वार्षिक ८४ करोड २० लाख युनिट बिजुली उत्पादन हुनुपर्नेमा गत वर्ष ७५ करोड ८ लाख युनिटमात्र बिजुली उत्पादन भएको छ । कालिगण्डकीबाट गत वर्ष झण्डै १० करोड युनिट बिजुली उत्पादन घटेको छ । सुख्खायाममा अन्य वर्षको तुलनामा पानीको बहाव घटेका कारण उत्पादनमा यसको प्रभाव परेको प्राधिकरणको भनाइ छ । दोस्रो ठूला ७० मेगावाटको मध्यमस्र्याङदी आयोजनाको क्षमता वार्षिक ३९ करोड ८० लाख युनिट भएपनि उत्पादन झण्डै साढे ४ करोड युनिट बढेर ४३ करोड ५५ लाख ६० हजार युनिट उत्पादन भएको छ । विद्युत गृहको मर्मतले गर्दा उत्पादन क्षमता भन्दा बढी भएको प्राधिकरणको भनाइ छ । 
यस्तै ६९ मेगावाट क्षमताको मस्र्याङदी आयोजनाको उत्पादन पनि घटेको छ । जसअनुसार गत वर्ष मस्र्याङदी विद्युत् गृहबाट साढे २ करोड युनिट बिजुली उत्पादन घटेर ४४ करोड १७ लाख ३६ हजार युनिट मात्र बिजुली उत्पादन भएको छ । यो आयोजनको उत्पादन क्षमता वार्षिक ४६ करोड २५ लाख युनिट छ । पानीको वहावमा कमी आएकाले उत्पादन घटेको प्रतिवेदनमा उल्लेख छ । यस्तै रनर परिवर्नन गरेको र मर्मत सम्भार गर्दा यसको असर उत्पादनमा परेको प्राधिकरणले जनाएको छ । 
कुलेखानी पहिलोको जडित क्षमता ६० मेगावाट छ । पहिलोबाट २१ करोड १० लाख युनिट बिजुली उत्पादन हुने गरी डिजाइन गरिएको छ । पानीको सतहमा कमी आएपछि विद्युत् गृहबाट ७ करोड १३ लाख ५६ हजार युनिटमात्र बिजुली उत्पादन भएको छ । यो अघिल्लो वर्षको तुलनामा २०.७९ प्रतिशत कम हो ।  
३२ मेगावाटको कुलेखानी दोस्रोको पनि उत्पादनमा ह्रास आएको छ । दोस्रो गृह १० करोड ४६ लाख युनिट बिजुली उत्पादन हुने गरी डिजाइन गरेकोमा गत वर्ष ४ करोड ४७ लाख ४० हजार युनिटमात्र उत्पादन भएको छ । यस्तै त्रिशूली, देवीघाट, मोदीखोला, गण्डक, पुवाखोला, चतरा, पनौती र सेती लगायत सबै आयोजनाबाट क्षमताभन्दा कम बिजुली उत्पादन भएको छ ।
 
प्रकाशित मिति: बिहीबार, भदौ १६, २०७३  १५:३३
प्रतिक्रिया दिनुहोस्