
काठमाडौं । इजरायली सेनाले गाजामा गरेको हवाई हमलामा ८० जनाको मृत्यु भएको छ ।
गाजाको उत्तरपश्चिम जबालिया क्षेत्रमा गरिएको हमलामा ५० जनाको मृत्यु भएको इन्डोनेसियाली अस्पतालले बताएको छ । मृतकमध्ये २२ बालबालिका र १५ महिला परेका छन् । नजिकैको अल–अव्दा अस्पतालले थप नौजनाको शव प्राप्त गरेको छ । जसमध्ये ७ बालबालिका छन् ।
इजरायली सेनाले भने उत्तरी गाजामा हमास र प्यालेस्टिनी इस्लामिक जिहाद लडाकुहरूलाई आक्रमण गरेको दाबी गरेको छ । इजरायलतर्फ रकेट हमला भएपछि मंगलबारदेखि जबालिया र छिमेकी क्षेत्रका बासिन्दालाई क्षेत्र खाली गर्न आग्रह गरेको थियो ।
यसैबीच, संयुक्त राष्ट्रसंघका मानवीय सहयोग प्रमुख टोम फ्लेचरले गाजामा भइरहेको नरसंहार रोक्न संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का सदस्यहरूलाई तत्काल कदम चाल्न आह्वान गरेका छन् ।
न्युयोर्कमा मंगलबार भएको बैठकमा उनले इजरायलले जानाजानी र लाजै नमानी नागरिकहरूविरुद्ध अमानवीय काम गरेको आरोप लगाएका छन् ।
उनले इजरायलले गाजामा १० हप्तादेखि लागु गरेको नाकाबन्दी हटाउन र निजी कम्पनीमार्फत मानवीय सहयोग वितरण गर्ने इजरायल–अमेरिकी योजनालाई प्यालेस्टिनीविरुद्धको हिंसा र विस्थापनको अर्को बहाना भन्दै आलोचना गरे ।
संयुक्त राष्ट्रसंघका लागि इजरायलका राजदूत ड्यानी डेननले यी आरोपहरू आधारहीन र घृणित भनेर खण्डन गरेका छन् । बीबीसी