
काठमाडौं । अन्तर्राष्ट्रिय विमान उडान र अवतरणको लागि ३६ अर्ब खर्च गरेर बनाइएको विमानस्थल शून्य भएको छ । ३५ अर्ब ६६ करोड खर्च भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा) मा अन्तर्राष्ट्रिय उडान शून्य भएको हो ।
अन्तर्राष्ट्रिय विमानस्थल भनिए पनि त्यहाँबाट कुनै पनि अन्तर्राष्ट्रिय उडान भएको छैन । यसअघि नेपाल वायुसेवा निगमसहित पाँच अन्तर्राष्ट्रिय विमान कम्पनीले उडान सुरु गरेको भैरहवा विमानस्थल सबैले उडान रोकेका छन् । नोभेम्बरदेखि अन्तर्राष्ट्रिय वायुयान कम्पनीहरु भैरहवा गएका थिए ।
विमानस्थलको तथ्यांकअनुसार सन् २०२४ नोभेम्बरदेखि २०२५ मार्चसम्म २३ हजार ३२५ यात्रुले अन्तर्राष्ट्रिय विमानले यात्रु ओसारेका छन् । यो चार्टड विमानको समेत तथ्यांक हो । तथ्यांकअनुसार नोभेम्बरमा ४२७९, डिसेम्बरमा ३८७८, जनवरीमा १३६५, फेब्रवरीमा ६७७९ तथा मार्चमा ७०३४ यात्रुले भैरहवाबाट आवात/जावात गरेका छन् ।
सन् २०२५ देखि मार्चसम्मको तथ्यांक अनुसार १५ हजार १४८ यात्रुले भैरहवाबाट यात्रा गरेको तथ्यांक छ । उक्त अवधिमा २९९ उडान भएको थियो ।
यात्रुको समस्याले भैरहवातर्फ विमानकम्पनीहरु जान मानेका छैनन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका कारण नेपाल नागरिक उड्ड्यन प्राधिकरणले दबाबपछि केही विमान कम्पनी भैरहवा पुगेका थिए ।
कात्तिक २३ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिको कार्यले राति १० घण्टा बन्द भएपछि निगमसहित ५ कम्पनीले उडान सुरु गरेका थिए । चैत १९ देखि त्रिभुवन विमानस्थल १८ घण्टा सञ्चालनमा आएसँगै भैरहवा जाने कम्पनीहरुले उडान नवीकरण गरेनन् ।
सरकारी ध्वजावाहक नेपाल एयरलाइन्सले समेत भैरहवा उडान स्थगित गरेको छ ।
“यात्रु नभएपछि हामीले मलेसिया–भैरहवा–काठमाडौं उडान रोकेका हौं,” निगमका प्रवक्ता सुवास डाँगीले भने, “विमान पनि कम भएको अवस्था छ । मलेसियाबाट काठमाडौं आउने धेरै भए, भैरहवातर्फका यात्रु भएनन् ।”
सरकारले भैरहवा विमानस्थल सञ्चालनको लागि विभिन्न छुटसहितका २७ बुँदे कार्यायोजना समेत ल्याएको थियो ।
तर, उक्त कार्यायोजनाले समेत आर्कषण गर्न नसकेपछि विमान कम्पनीले भैरहवा छाडेका हुन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गौतबुद्ध र पोखरा विमानस्थल सञ्चालनका लागि साउन २८ गते मन्त्रिपरिषद्बाट कार्ययोजना पास गराएको थियो ।
कार्ययोजनामा हवाइ टिकटमा रहेको भ्याट छुट वा फिर्ता, इन्धनमा सहुलियत, भिसा सेन्टर स्थापना, हवाइ सेवा शुल्कमा लाग्ने तीन हजार यात्रु सेवा शुल्क छुट, पार्किङ, ल्याण्डिङ, नेभिगेशन शुल्क छुट दिने, एक हजार पर्यटन शुल्क पूर्ण छुट, ग्राउण्ड ह्याण्डलिङमा ७५ प्रतिशत छुट लगायतका कार्ययोजनामा छन् ।
तर, श्रम, म्यानपावर, तथा पयर्टन व्यवसायीको कार्यालय स्थापना, भिसा सेन्टर आदिको स्थापना नहुँदा यात्रुहरू काठमाडौं नै धाउनुपर्ने बाध्यताका कारण भैरहवातर्फ यात्रु नै नभएको प्रवक्ता श्यामकिशोर साहले बताउँछन् ।
“अहिले कुनै पनि अन्तर्राष्ट्रिय उडान छैन । डोमेस्टिक उडान मात्रै छन्,” उनले भने, “धेरै पहल गरे पनि कुनै कम्पनी यहाँ उडान गर्न तयार भएनन् ।”
यात्रु नै नपाएपछि कतार एयरले १५ दिन उडानपछि नवीकरण गरेन । १५ दिनमा कतारले जम्मा ९३ यात्रु बोकेको थियो । मार्च २८ देखि सुरू भएको ‘समर सेड्युल’ सुरु भएसँगै कुनैपनि अन्तर्राट्रिय कम्पनीले उडान नवीकरण गरेनन् ।
यसअघि जजिरा, फ्लाई दुवई, थाई एयर एशिया, कतार एयरवेजले र नेपाल वायुसेवाले भैरहवामा उडान गरेका थिए
सरकारले श्रम स्वीकृति, मेडिकल, विद्यार्थीको नो अब्जेक्सन सर्टिफिकेट लेटर लगायतका कामका लागि काठमाडांै आउनुपर्ने बाध्यताका कारण यात्रुहरू यतैबाट उड्ने हुँदा पनि भैरहवाबाट उड्ने विमानले यात्रु नपाएको साह बताउँछन् ।
“क्यानले फोर्स गरेपछि ४ अन्तर्राष्ट्रिय कम्पनीले उडान सुरु गरेका थिए,” साहले भने, “काठमाडौंको विमानस्थल नर्मल भएपछि यता रोकियो ।” कात्तिक २३ देखि त्रिभुवन विमानस्थल स्तरोन्नतिको लागि रातमा १० घण्टा बन्द गरिएको विमानस्थल माघको मध्यबाट ८ घण्टामा झारिएको थियो ।
मुख्य विमानस्थल बन्द गरी स्तरोन्नतिको काम सुरू गरिएको थियो । विकल्पको रूपमा भैरहवा विमानस्थल उडान गर्नको लागि विभिन्न छुटसहित सञ्चालनको लागि कार्ययोजना समेत थियो ।
“ट्राभल एजेन्सी, म्यानपावर, एजुकेशन कन्सलटेन्सी भैरहवा आए विमानस्थल सञ्चालन हुन समस्या पर्दैन,” उनले भने, “सबै काम काठमाडौंमा हुने अनि विमान चढ्नमात्रै भैरहवा किन आउँछन् ?”
काठमाडौंको विमानस्थलबाट ३० प्रतिशत उडान कटौती भएपछि त्यसले प्रमुख गन्तव्य भैरहवा हुने गरी सरकारले विभिन्न छुटसहितको कार्ययोजना ल्याएको थियो ।
नेपालबाट वैदेशिक रोजगारीमा दैनिक तीन हजारको हाराहारीमा विदेशिन्छन् । विदेशिने यात्रुहरूको चाप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिन्छ । भैरहवा र पोखरा जस्ता विमानस्थल शून्य हुँदा सरकारको लगानी त्यसै खेर गइरहेको उनको भनाइ छ ।
“ठूलो लगानीमा विमानस्थल त बन्यो, सरकारको पुँजीगत खर्च पनि देखियो, तर, अब कसरी दीर्घकालीन अपरेसन गर्ने भन्ने नै भएन,” साह भन्छन् ।
महालेखा परीसकको ६१औँ वार्षिक प्रतिवेदनअनुसार गौतमबुद्ध विमानस्थल निर्माण गर्न ३५ अर्ब ६६ करोड र पोखरा विमानस्थल निर्माण गर्न २५ अर्ब ३४ करोड खर्च भएको उल्लेख छ ।
भैरहवाको गौतम बुद्ध विमानस्थल निर्माण गर्न ३० अर्ब ९१ करोड र पोखरा विमानस्थलका लागि २२ अर्ब रूपैयाँ सुरूवाती लागत भए पनि समय र लागत बढेर ६१ अर्ब खर्च थियो ।
गौतमबुद्ध विमानस्थल निर्माण गर्न सरकारले एसियाली विकास बैंक (एडीबी) र ओपेक कोसबाट सहुलियतपूर्ण ऋण र अनुदान गरी ४ अर्ब ९१ करोड लिएको थियो । दुवै विमानस्थल अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विकशित भएपनि डोमेस्टिक उडानका मात्रै हुँदा सञ्चालन खर्च र ऋण तिर्न समेत सरकारकै ढुकुटी प्रयोग भइरहेको छ ।
पोखरा विमानस्थलको निर्माणमा १० अर्बको अनियमितता भएको सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिको निष्कर्ष छ ।
यस्तै भैरहवा विमानस्थल निर्माणमा भएको अनियमितताका लागि पनि उपसमिति गठन भएको थियो । उपसमितिले लामो अध्ययनपछि त्यहाँ भएको भ्रष्टाचारका विषयमा मौन रहँदै प्रतिवेदन लेखनको काम थालेको स्रोत बताउँछ ।
समितिका एक सदस्यले जग्गा अधिग्रहण, टर्मिनल भवन निर्माणलगायतमा देखिएको भ्रष्टाचारका विषयमा उपसमिति मौन रहने देखिएको छ ।