
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले नीतिगत निर्णयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रवेश गर्नु जायज भएको बताएका छन् । चीन भ्रमण सकाएर शनिबार (असार २८) स्वदेश फर्किएका उनले सञ्चारकर्मीसँग यस्तो बताएका हुन् ।
राज्यले बनाएको संविधानबमोजिमको उक्त आयोगले नीतिगत निर्णयमा हस्तक्षेप गर्न सक्नेमा उनले जोड दिए । उनले संघ, प्रदेश र स्थानीय जुनसुकै सरकारले गरेका निर्णय भए पनि अनियमितता गरिए त्यो छानबिन हुनैपर्ने बताए ।
“यो राज्यले बनाएको संविधानबमोजिम बनेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हो भने त्यसले चाहे क्याबिनेटले गरोस्, चाहे त्यो प्रान्तीय क्याबिनेटले गरोस्, चाहे त्यो स्थानीय तहका कुनै पनि निकायले गरोस्, जहाँ कहीँ पनि कसैले पनि अनियमितता गर्दछ भने त्यो कुरालाई छानबिन गर्नैपर्छ,” उनले भने ।
विशिष्ट व्यक्तिहरूका गलत कार्य छानबिनको दायराभन्दा माथि राख्ने भए राजतन्त्रको आलोचना गर्नुको अर्थ नरहने उनले उल्लेख गरे । “त्यो छानबिन गर्ने अधिकार यदि जनतामार्फत बनेको कुनै निकायलाई त्यो देशमा छँदै छैन भने, खासखास मान्छेहरूले गरेका गलत कामहरू छानबिनको दायराभन्दा माथि हुन्छन् भने राजतन्त्रको आलोचना गर्नुको के अर्थ ?” न्युज एजेन्सी नेपाल