
काठमाडौं । एसीसी यू–१६ इस्ट जोन कपमा समूह चरणको अन्तिम खेलमा नेपालले भुटानमाथि २९८ रनको फराकिलो जित निकालेको छ । सेमिफाइनलमा नेपालले मलेसियालाई प्रतिद्वन्द्वीका रूपमा पाएको छ ।
मंगलबार क्वालालम्पुरमा सम्पन्न समूह ‘ए’को अन्तिम खेलमा नेपालले प्रस्तुत गरेको ३५९ रनको लक्ष्य पछ्याउने क्रममा भुटान ३२.४ ओभरमा ६० रनमै समेटियो ।
भुटानका छेजाङ दावाले सर्वाधिक १४ रन प्रहार गरे । उगेन केल्जाङ चोपेलले १० रन बनाए । यसबाहेक भुटानका अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बलिङतर्फ नेपालका विपीनप्रसाद शर्माले चार विकेट लिए । उनले १० ओभरमा ६ मेडन फ्याँक्दै सात रनमात्र खर्चिए । सुयोग भट्टराई र सचिन भट्टले समान दुई–दुई विकेट लिए ।
टस जितेर ब्याटिङ रोजेको नेपाल नेपालले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाएर ३५८ रनको योगफल खडा गरेको थियो ।
नेपालका रौनकले सर्वाधिक १६८ रनको शतकीय इनिङ खेले । उनले १३२ बलमा १६ चौका र पाँच छक्का प्रहार गरे । रौनकले १८०–४ को स्थितिबाट जोय थापासँग पाँचौँ विकेटका निम्ति १७० रनको साझेदारी गर्दै नेपाललाई विशाल योगफलसम्म पुर्याएका थिए ।
जोय थापा ६१ रनमा अविजित रहे । शिवांश बजगाईंले ५४ र सुगम बुढाथोकीले ३५ रन बनाए ।
भुटानका सञ्जय दोर्जीले तीन विकेट लिँदा तेन्जिन लोदेले एक–एक विकेट लिए ।
समूह ‘ए’को विजेता बनेको नेपालले अंक तालिकामा आठ अंक बनाएको छ । प्रतियोगितामा नेपालको लगातार चौथो जित हो । नेपालले यसअघि समूह चरणमा इन्डोनेसियालाई ३७० रन, जापानलाई नौ विकेट, सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो ।
नेपाल तेस्रो खेलबाटै सेमिफाइनलका लागि छनोट भएको थियो । अब नेपालले मलेसियासँग आगामी ३ जुलाईमा सेमिफाइनल खेल्नेछ ।
नेपालसँगै समूह ‘ए’बाट सिंगापुर पनि सेमिफाइनलका लागि एक खेल अगावै छनोट भएको थियो । सिंगापुरले समूह चरणमा चार खेल खेल्दा तीन जित र एक हार बेहोर्दै ६ अंक बनाएको छ । सेमिफाइनलमा सिंगापुरले अब समूह ‘बी’को विजेता हङकङ चइनासँग खेल्नेछ ।