
काठमाडौं । इरानका उपविदेशमन्त्री सइद खतिबजादेले अमेरिकाले इजरायली हमलामा सहभागिता जनाए मध्यपूर्वका लागि नर्क सिर्जना गर्ने चेतावनी दिएका छन् । उनले यो अमेरिकाको युद्ध नभएको बताएका छन् ।
उनले राष्ट्रपति डोनाल्ड ट्रम्प युद्धमा संलग्न भए बिनाकारण अर्काको युद्धमा घुस्ने राष्ट्रपतिको रूपमा सधैँ विश्वले सम्झिने बीबीसीलाई दिएको अन्तर्वार्तामा बताएका छन् ।
उपविदेशमन्त्री खतिबजादेले युद्धमा अमेरिकी संलग्नताले सैन्य संघर्षलाई दलदलमा फसाउने र आक्रमण जारी राख्ने र निर्दयी अत्याचारको अन्त्य गर्न समय लम्ब्याउने बताए । उनको टिप्पणी दक्षिणी इजरायलको सोरोका अस्पतालमा इरानी मिसाइल हमलापछि आएको हो ।
इरानी राज्य नियन्त्रित सञ्चारमाध्यमले हमला अस्पताललक्षित नभएर छेउमा रहेको एक इजरायली सैन्य लक्षित गरिएको दाबी गरेको थियो ।
बीबीसीसँग कुरा गर्दै खतिबजादेले कूटनीति नै पहिलो विकल्प भए पनि बमबारी जारी रहँदा कुनै पनि वार्ता सुरु गर्न नसक्ने बताए । उनले बारम्बार इरानी हमलाहरूलाई संयुक्त राष्ट्रसंघको धारा ५१ अन्तर्गत आत्मरक्षा बताउँदै जुन १३ मा इजरायलले इरानी परमाणु केन्द्रमा हमला गरी धेरै वरिष्ठ सैनिक जनरल र परमाणु वैज्ञानिकहरू मार्दै गर्दा उनीहरू यो समस्याको कूटनीतिक समाधानको प्रक्रियामै रहेको बताए ।
उपविदेशमन्त्रीले इरान इजरायल बीचको जारी संघर्षलाई बिनाकारण गरिएको र अनावश्यक रहेको बताए । ट्रम्पको इरानले परमाणु सम्झौता स्वीकार गरेको भए यो संघर्ष टारिन सक्ने टिप्पणीको प्रतिक्रियामा खतिबजादेले भने, “हामी ओमनको मस्कटमा छैटौँ चरणको परमाणु वार्ता गर्न लागेका थियौँ । सम्झौताको नजिक पुगेका थियौँ । हामी सम्झौताको कति नजिक पुगेका थियौँ भन्ने कुरा सबैभन्दा बढी राष्ट्रपति ट्रम्पलाई जनाकारी छ ।”
ट्रम्पले सामाजिक सञ्जालमा गरेका पोस्टहरूको आलोचना गर्दै उनले यी संकेतहरूले अमेरिकीहरूले यो संघर्षको बारेमा जानकार र संलग्न भएका थिए भन्ने पुष्टि भएको बताए ।
यसैबीच रोयटर्सको समाचार अनुसार, अमेरिकी विशेषदूत स्टिभ विटकफ र इरानी विदेशमन्त्री अब्बास आराकचीबीच शुक्रबारदेखि धेरैपटक टेलिफोन वार्ता भएको छ । यसले यो संकटको कूटनीतिक समाधान खोज्ने प्रयास गरिएको देखिन्छ ।
बीबीसीबाट ।